काठमाडौँ । आज बिहानदेखी लुम्बिनी प्रदेशमा एक पछि अर्को सरप्राइजका बट्टा फटाफट खुल्दै छन् । प्रदेशमा यस्ता राजनितिक घटना कमै घट्छन् । तर आज भने बिहानदेखि  एकपछि अर्को अपत्यारिला अनौठा घटना घटिरहेका छन् । 

आफ्नै एकल सरकार बनाउने होडमा पहिले मुख्यमन्त्री शंकर पोखरेलले उज्यालो हुन नपाउँदै प्रदेशको गन्जागोल राजनीतिमा गोल गर्दिए । उक्त गोल यति सटिक थियो कि विपक्षीले बल कता गयो भन्ने देख्न नपाउँदै प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले राजीना स्वीकार गरे । 

पोखरेल सरकारविरुद्ध प्रदेशमा विपक्षीले फ्लोर क्रस हुने आसमा वैशाख ६ मा अविश्वासको  प्रस्ताव दर्ता गराएका थिए । आज उक्त प्रस्ताव टेबल हुने कार्यसूची थियो । तर बिचमै मुख्यमन्त्री पोखरेलले न्यु आइडिया लगाएर राजीनामा बुझाए । राजीनाथपछि अविश्वासको प्रस्ताव त्यसै बिलायो । संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेल नै मुख्यमन्त्री हुने निश्चित थियो । र भएका पनि छन् । तर अब अहिले आएर उनको नियुक्तिमा प्रश्न उठेको छ । 
राजीनामा पछि हतार हतार गरेर बसेको एमाले संसदिय दलको बैठकमा एकाएक सांसद विमला खत्रीले आफू एमालेमा नरहने लिखित जानकारी प्रदेश सभालाई गराएसँगै नराम्रो धक्का लाग्यो । तर पनि  प्रदेश प्रमुखले ‘फास्ट ट्र्याक’ मुख्यमन्त्रीका रूपमा  पोखरेललाई नै बनाए । 

त्यसपछि त झन् पोखरेलले एक सरप्राइज दिएको साटो उनलाई सरप्राइजमाथि सरप्राइज थोपरिदैं गयो । पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएको आधा घण्टा नबित्दै  उनकै पक्षका एक सांसदले राजीनामा दिए । भने  २ जना विपक्षी गठबन्धनमा उभिए । जसले गर्दा पोखरेल अल्पमतमा गएको छर्लङ्ग भएको छ । 
त्यसपछि झन् विपक्षी बलियो भैहाले । उनीहरूले गैर संवैधानिक तरिकाले पोखरेलको नियुक्ति भएको भन्दै अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग राखेका छन् । त्यति मात्रै होइन प्रदेश प्रमुखले शङ्कर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरूले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ समेत गरेका छन् । 

यसो हुँदा बिहानसम्म रणनीतिक खेल खेलेका पोखरेलले अहिले आएर ‘आफ्नै खुट्टामा बन्चरो हानेका’ हुन् कि भन्ने सन्देश मिलेको छ । उनलाई महासंकट आइलागेको छ । तुरुन्तै यसको असर केन्द्रमा पर्न थालेको छ । प्रधानमन्त्री केपी ओली झस्किएको हो कि जस्तो बुझिएको छ । किनभने उनी आज मात्रै दुई चोटि राष्ट्रपतिकहाँ पुगेका छन् । अझ उनले वैशाखको २७ गते संसद्बाट विश्वासको मत लिने पनि जनाएका छन् । 

सभासदहरुले आफूहरु बहुमतमा हुँदाहुँदै कसरी अल्पमतको मुख्यमन्त्रीलाई शपथ खुवाउनतिर लागे भन्दै कांग्रेस,माओवादी,जसपा, राजमो एकैसाथ धर्नामा थचक्क बसेका छन् । यो विषयको नजिकबाट नियालिरहेका यता प्रधानमन्त्री ओली भने बेलाबेला झसक्क भैराखेका छन् । उनको झस्काइँले प्रदेशसभा विघटन हुन सक्ने आकलन पनि कतिपयले गरिसकेका छन् । तर हेरौं के हुन्छ ?

यसै सन्दर्भमा आज सामाजिक सञ्जालमा पनि खुबै चर्चा परिचर्चा भएको छ । प्रदेशमा यस्तो हविगत देखेर प्रयोगकर्ताहरू अचम्ममा छन् :