एजेन्सी । वेल्स विंगर ग्यारेथ बेलले ह्याट्रिक प्रहार गरेपछि टोटेनहम हट्स्परले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडमाथि ४-० को जित दर्ता गरेको छ ।

बेलले पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । सर्ज औरिएरको लामो पासलाई बेलले फ्लिकमार्फत गोल गर्दै खाता खोलेका थिए । दोस्रो हाफको ६१ औं मिनेटमा काउन्टर अट्याकमा गोल गर्दै बेलले २-० को अग्रता दिलाए ।

६९ औं मिनेटमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । बेलले सन् २०१८ मा क्लब विश्वकपमा रियल म्याड्रिडका लागि ह्याट्रिक पूरा गरेयता पहिलो पटक एकै खेलमा तीन गोल गरेका हुन् । उनी सिजनको सुरुवातमा रियल म्याड्रिडबाट लोनमा आफ्नो पूर्वक्लब टोटेनहम आएका थिए ।

टोटेनहमका लागि ७७ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै ४-० को अग्रता दिलाए । खेलको अन्त्यतिर टोटेनहमले अग्रता बढाउने थप अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

यस जितसँगै टोटेनहम अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । टोलीको ३४ खेलमा ५६ अंक छ । वेस्ट ह्याम र लिभरपुल एक खेल कम खेल्दै क्रमश: ५५ र ५४ अंकमा रहेका छन् । चौथो स्थानमा रहेको चेल्सीको ६१ अंक रहेको छ ।