एजेन्सी । हिमालयमा द्रुत पग्लने हिमनदीहरूले गर्दा तालको सङ्ख्या र त्यसमा पानीको स्तर बढ्दै गएको छ । यति मात्र होइन, यसरी बनेका तालहरूको आकार पनि बढ्दैछ । जसले बाढीको जोखिम बढाएको छ। यसको बढी खतरा नदीको मुखमा बसोबास गर्ने क्षेत्रलाई छ। बेलायत, अष्ट्रिया र पेरूलगायत विश्वका विभिन्न विश्वविद्यालयका वैज्ञानिकहरूले गहन अध्ययनको आधारमा यो चेतावनी दिएका हुन् ।

तीमध्ये नेपाल, चीन र भारतका ठूला जनसंख्यालाई पनि यी तालहरूबाट बाढी आउने खतराबारे चेतावनी दिइएको छ। वैज्ञानिकहरूका अनुसार ३० बर्षमा विश्वभर यस्ता तालहरूको संख्या ५० प्रतिशतले बढेको छ।

वैज्ञानिकहरूले रिमोट सेन्सिङ र स्याटालाइटको माध्यमबाट यी तीन देशहरूमा हिमनदी पग्लने तालहरू करीब ३६ सय २४ रहेको बताएका छन् । ती मध्ये नेपाल सबैभन्दा बढी २,०७० ताल छन् । जसले कोशी, गण्डकी र कर्णाली नदी आसपासमा बसोबास गर्ने मानिसहरूलाई खतरामा पार्न सक्छ। त्यस्तै चीनमा १५ सय ९ र भारतमा ४५ वटा पत्ता लागेका छन्।

एक्स्टर विश्वविद्यालयमा मौसम परिवर्तनको प्राध्यापक प्रो. स्टीफन ह्यारिसन भन्छन, “केहि तालहरू धेरै खतरनाक तहमा हुन्छन्, जुन मात्रा पत्ता लगाउन गाह्रो हुन्छ। तिनीहरू कुनै पनि समयमा फुट्न सक्छन्। यसको जोखिम एडीज र हिमालयन पर्वत श्रृंखलाहरूमा बढी छ।”