काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी निषेधाज्ञालाई थप कडा बनाउने उदघोष गरेका छन् ।

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए ।

कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने उनले बताए । साथै स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने उनले घोषणा गरे ।

कोभिडसँग सम्बन्धित औषधि लुकाएको पाइएमा कारबाही गरिने उनले बताए । बन्दाबन्दीको समयमा कुनै नागरिकलाई असहज वातावरणको स्थिति नआउने उनको भनाई छ ।

उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले देशभरका ठुला अस्पतालहरुलाई कोभिड अस्पताल र साना अस्पताललाई नन-कोभिड अस्पतालमा रुपान्तरण गरिने पनि बताएका छन्।