कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए । सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताए ।

उनका अनुसार आजै दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४ प्रतिशत) मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा खड्काले जनाए ।

४ जना कोरोना संक्रमितको मृत्यु

बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष, नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्ध, धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका ५ की ६२ वर्षीया महिला रहेका छन् ।

भरतपुर अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

त्यस्तै, भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।