काठमाडौं । काठमाडौंमा कोरोनाको प्रकोप कतिसम्म गहिराइमा पुगिसक्यो भनेर छर्लङ्ग हुन टाढा जानु पर्दैन, त्यहि पशुपति गए पुग्छ । त्यहाँ कोरोना संक्रमणको सचित्र व्याख्या पाइने छ । देशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएसंगै उक्त शवलाई जलाउने घाटहरुमा पनि भिड देखीएको छ । आइतबारसम्म पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहमा कोरोना संक्रमितबाट मृत्यु हुनेको मात्रै शव जलाइन्थ्यो । तर सोमबारबाट भने त्यतिले नपुगेर वाग्मती किनार र नदीको बीच भागमा रहेको ढिस्कोमा समेत शव जलाउन थालिएको छ । पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले सेनाले वाग्मती किनारमै शव जलाउन सुरु गरेको हो ।