तपाईले नेपालमा गाँजाका सम्भावनाहरु कसरी देख्नुभयो ?

गाँजा औषधीय गुण भएको वनस्पति हो । यसलाई संयुक्त राष्ट्रसंघले औषधीय गुण भएको वनस्पतिको सूचीमा राखिसकेको अवस्था छ । विश्वका धेरै देशले यसको कानुनी खेती गर्ने, यसको औषधी प्रयोग गर्ने र यसलाई वैधानिक मान्यता दिइसकेका छन् । कार्बनडाइअक्साइडलाई पचाउन सक्ने क्षमता यसमा अन्य वनस्पतिभन्दा ८ गुणा बढी हुन्छ । हामीले प्रकृतिमा कार्बनडाइअक्साइडको उत्पादन अत्याधिक मात्रामा गरिरहेका छौं । जसका कारण हामी ग्लोबल वार्मिङको समस्या भोग्न बाध्य छौं ।

भिडियो:

अब बर्खे सिजन सुरु भएको छ सबैले गाँजा छरिदिए हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । गाँजा नेपाली जनताको आर्थिक प्रगतिमा प्रस्थान गर्ने विन्दु बन्न सक्छ ।

यसबाट आर्थिक समृद्धि कसरी सुरु हुन्छ ?

आज विश्व बजारमा क्यान्सरका लाखौं मानिसहरु बिरामी परिरहेको अवस्था छ । यसबाट क्यानसरको औषधि बन्छ । करौडौं खर्च गरेर पनि क्यानसरबाट मुक्ति पाउन नसकेकाहरुले २/४ हजारमै यसबाट मुक्ति पाउन सक्छन् । गाँजा मनोरञ्जनमा उडाउने चिज होइन । यसका बोक्रा र रेसाबाट कपडा बनाउन सकिन्छ ।

नेपालको कानुनले गाँजालाई लागुपदार्थको रुपमा परिभाषित गरेको छ । यस्तो लागुपदार्थलाई तपाईहरुले किन प्रोत्साहन गरिरहनुभएको छ ?

मनोरञ्जनका लागि खाने सानो चिजलाई हामीले प्रतिबन्ध लगाएका छौं । यो कहाँ लागुपदार्थ भयो ? कसले भन्छ यो लागुपदार्थ हो भनेर ?

यसबाट नेपाली जनता धनी हुन्छन् । नेपाली किसानहरुलाई केही लाख रुपैयाँ कमाउन विदेश जानुपर्दैन । गाँजा खेतीबाट ४/५ वर्षमा हरेक नेपाल करोडपति हुनेछन् । अनि यसलाई लागुपदार्थ भनेर प्रतिबन्ध लगाउने ? हामी हाम्रो सम्पति नचिन्ने भएका छौं । जनताका लागि यस्तो कानुन फिर्ता गर्नुपर्छ ।

गाँजा वैधानिक भएपछि यसको व्यवस्थापन, नियमन कसरी हुन्छ ?

त्यो सबै सरकारका अङ्गहरुले सञ्चालन गर्छन । सरकारमा जो बस्छ उसैले यसको व्यवस्थापन गर्छ । नेपाली किसानलाई धनी बनाउने कुरामा कसैले अवरोध गर्नुहुँदैन ।

नेपाली किसानलाई धनी बनाउन गाँजा मात्रै होइन भएको कुषि व्यवसायलाई व्यवस्थित गरौं न…

हिजो कृषि गरौं भन्नेहरु धेरै आए तर हरियो पासपोर्ट बोकेर विदेश पलायन गर्ने नेपालीको अवस्थामा सुधार आएन । अब त्यो मौका आएको छ । हामी गाँजालाई वैधानिक बनाउने तयारीमा जुटिरहेका छौं । यसपछि नेपालमा कृषि क्रान्ति नै सुरु हुन्छ । एक रोपनीमा लगाएको गाँजाबाट लाखौं पैसा कमाउने भएपछि हाम्रा युवाहरु विदेश पलायन हुँदैनन् । त्यसपछि उसले अरु सबै खेतीपाती सुरु गर्छ । कृषि क्रान्ति यहाँबाट सुरु हुन्छ ।

हामीलाई हाम्रो देशमा भएका स्रोत साधनहरुको महत्व थाहा पाउन यति समय किन लाग्छ ?

हामी यस्तो कस्तुरी भयौं विणा हामीसँगै छ, वास्ना कहाँ आयो भनेर दौडिन्छौं । हामीले विणा चिन्न सकेनौं । गाँजा मात्र होइन यस्ता कयौं कुराहरु छन् जुन हामीले अहिलेसम्म चिन्न सकेका छैनौं । हामीसँग भएका स्रोत साधनहरुको महत्व थाहा नपाउँदा नेपालबाट अर्बौ रुपैयाँ बाहिर पलायन भइरहेको छ ।

तपाईले ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक- २०७६’ संसदमा दर्ता गर्नुभएको थियो । त्यो विधेयकको अवस्था के छ अहिले ?

अहिले संसद जिकज्याकको अवस्थामा छ । त्यसकारण पनि हामीले पर्याप्त छलफल गर्न सकिरहेका छैनौं । अबको वर्षे अधिवेशनमा विधेकमा पनि छलफल हुन्छ ।