काठमाडौं । बाँकेसहित विभिन्न जिल्लाका गरि आठ घण्टाको अवधिमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्थामा सुधार नआई उनीहरुको अस्पतालमै मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको स्रोत व्यक्ति वलीले बताए ।

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक÷एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मङ्गलबार राति २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ । कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेशनल प्याथोल्याबमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।