काठमाडौं । भारतको पश्चिम बंगालमा चुनावी नतिजापछि भएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। बितेको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीनजनाको मृत्यु भएसँगै मृतकको संख्या १७ पुगेको हो।

भारतीय जनता पार्टीले मृतक मध्ये ९ जना आफ्ना कार्यकर्ता रहेको दाबी गरेको छ भने तृणमुल कांग्रेसले आफ्ना ७ कार्यकर्ताको भाजपाले आक्रमण गरि हत्या गरेको आरोप लगाएको छ।

मृतक मध्ये एकजना इण्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता रहेको बताइएको छ। यसैबीच राज्यका केही क्षेत्रमा तोडफोड र आगजनीका घटना पनि सार्वजनिक भएका छन्।

सरकारी आँकडामा बंगालका अलग अलग क्षेत्रमा भएका हिंसाका घटनामा १७ जनाको मृत्यु भएको उल्लेख छ।

यसैबीच बिजेपी अध्यक्ष जेपी नड्डा अहिले कोलकातामा छन्। उनले मंगलबार साँझ यो हिंसामा मारिएका पार्टीका दुई कार्यकर्ताको घरमा पुगेर परिवारका सदस्यसँग कुराकानी गरेका छन्।

अर्काेतर्फ ममता बनर्जीले बिजेपीले विधानसभा चुनावमा आफ्नो लज्जास्पद हार पचाउन नसकेको आरोप लगाएकी छन्। हारपछि बिजेपीले साम्प्रदायिक हिंसा भड्काएर राष्ट्रपति शासन लागु गराउने प्रयास गरिरहेको उनको आरोप छ।

मंगलबार पूर्व मेदिनीपूरका साथै पश्चिम मेदिनीपुर, बिरभूम, जलपाइगुडी तथा दक्षिण दिनाजपुरमा हिंसा भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।