काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

देउवा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि देउवा निवास पुगेका हुन् । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली एमालेका केही नेतासहित त्यहाँ पुगेको बताइएको छ ।

आउँदाे जेठ ६ गते हुने राष्ट्रिय सभाका सदस्यको उपचुनाव, २७ गते संसदमा विश्वासको मत लिने लगायतका विषयमा छलफल गर्न ओली देउवालाई भेट्न गएका हुन् ।

राष्ट्रिय सभा सदस्यको चुनावमा कांग्रेसले माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा उठेका खिमलाल देवकोटालाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेसले हिजो प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ । उता माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको बताएको छ  ।