जनकपुरधाम । तिव्र रुपमा फैलिँदै गइरहेको कोरोना संक्रमणको दोस्रो महामारी नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनले ‘लकडाउन’ को दोस्रो दिन जनकपुरमा कडाइ गरेको छ । पहिलो दिन मंगलबार कतिपयले ‘लकडाउन’ लाई अटेर गरेपछि दोस्रो दिन प्रहरीले थप कडाइ गरेको हो ।

‘लकडाउन’ प्रभावकारी बनाउन प्रहरीले कडाइ गरेपछि पहिलो दिनको तुलनामा न्यून सवारी साधन गुड्नुको साथै पैदल आवतजावत गर्नेहरु पनि सडकमा कम देखिएका छन् । ‘लकडाउन’ प्रभावकारी बनाउन धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहित उच्चपदस्थ सुरक्षा अधिकारीहरु स्वयं खटिएका छन् ।

यसैगरी ‘लकडाउन’ आफ्नै सुरक्षाको लागि रहेको भन्ने सन्देश प्रहरीले टोलटोल पुगेर माइकिङ गर्न लगाएको छ ।

यद्यपि कतिपयले भने ‘लकडाउन’ को उल्लंघन गरेको समेत पाइएको छ । अटेर गरेर ‘लकडाउन’ उल्लंघन गर्नेहरुमाथि प्रहरीले कतिपय स्थानमा लाठी चार्जसमेत गरेको छ । बिनाकाम घरबाट बाहिर निस्केर ‘लकडाउन’ उल्लंघन गर्नेहरुमाथि प्रहरीले लाठी चार्ज गरेको हो ।