हामीले आजकाल सामाजिक सञ्जालहरूमा फाट्टफुट्ट कोरोनाको उपचारका लागी प्लाज्मा दानको धेरै अपिलहरू देख्ने गरेका छौँ । सञ्जालमा चर्चामा रहने कलाकारदेखि डाक्टरहरूले पनि  कोरोनाबाट पीडित बिरामीहरूलाई प्लाज्मा दान गर्न भनिरहेका हुन्छन् । तर के तपाईँलाई थाहा छ प्लाज्माको दान त्यसले मात्रै गर्न सक्छ जो पहिलै कोरोनाबाट सङ्क्रमित भएर निको भैसकेको व्यक्ति होस् । र त्यो पनि विशेष समय सीमामा मात्रै दान दिन सक्छ । 

प्लाज्मा दान के हो ? 

प्लाज्मा थेरापी भनेको कोरोना सङ्क्रमण भैसकेपछि त्यसको विरुद्ध लड्ने एक एन्टिबडि हो । प्लाज्मा सामान्यतया सङ्क्रमित व्यक्तिको रगतमा रहन्छ । कुनै पनि कोरोना सङ्क्रमितलाई कतिपय केसहरूमा एन्टिबडि बन्न समय लाग्छ । कोरोनाभाइरस सङ्क्रमणको उपचारको लागि  यो एक प्रयोगात्मक प्रक्रिया हो। यस उपचारमा, रगतको पहेँलो तरल भाग (प्लाज्मा)  सङ्क्रमणबाट निको भएको व्यक्तिबाट निकालिन्छ ।  र  रोगबाट पीडित बिरामीलाई इन्जेक्सन मार्फत दिइन्छ । प्लाज्मामा एन्टिबडीहरू हुन्छन् जसले रोगीलाई लड्न र रोगबाट मुक्त हुन मद्दत गर्दछ। तर यसमा अहिले यो विधि विवादास्पद बनेको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् । डा. पुनका अनुसार यो विधिले सबै व्यक्तिको  उपचारमा मद्धत गरेको अवस्था नभएको हुँदा अनुसन्धान गर्न बाँकी नै छ । 

दोश्रो लहरमा प्लाज्मा थेरापी कत्तिको प्रभावकारी  ? 

डा. शेरबहादुर पुन भन्छन्, ‘कोरोनाको यो दोस्रो लहरमा कोभिड १९ का नयाँ भेरियन्टहरु बन्ने क्रम जारी भैरहेको हुँदा प्लाज्मा थेरापीले काम गर्छ वा गर्दैन भनेर यकिन गर्न सकिदैंन ।’

उनका अनुसार दोस्रो लहरमा भाइरस बढी म्युटेसन (परिवर्तन) हुँदै गएको कारण प्लाज्मा थेरापीले काम गर्ने क्षमता पनि कमजोर हुँदै गएको छ ।

‘जुन सङ्क्रमणले आक्रमण गरेको छ प्लाज्माले त्यसलाई मात्र चिन्छ, डा.पुन भन्छन्, ‘तर यदि भाइरस अत्यधिक मात्रामा परिवर्तन हुँदै आयो भने जुन अघिल्लो भेरियन्टमा तयार पारेको प्लाज्माले काम गर्ने प्रभावकारिता खस्किन सक्छ ।’ 

पहिलेको कोरोना र अहिलेको कोरोना भिन्न खालको छ ।  नेपालमा अझै पनि कोरोनाको कुन भेरियन्टले दुख दिएको भन्ने प्रस्ट छैन ।

‘त्यसको अनुसन्धान पनि खासै गरिएको छैन । त्यसले गर्दा यो लहरमा (यही लहरको) प्लाज्माले मात्रै काम गर्छ पहिले तयार पारेको प्लाज्माले काम गर्ने स्थिति छैन, डा.पुन भन्छन् ।’ 

प्लाज्मा दान कसले गर्ने ? 

डा. पुनका अनुसार सामान्यतया कोभिड लागेर निको भैसकेको तीन चार हप्तापछि प्लाज्मा दान दिन सक्छन् । प्लाज्मा दान १८ देखी ६० वर्ष उमेर समूहकाले  गर्न सक्छन् । दान गर्ने व्यक्ति कम्तीमा ५० किलोग्राम तौलको हुनुपर्दछ । र त्यस समयमा कुनै सङ्क्रामक वा दीर्घकालीन रोगबाट ग्रस्त हुनुहुन्न। प्लाज्मा दिँदा कुनै पनि साइड इफेक्ट नहुने हुँदा कोरोना निको भएर बसेको १ महिनाभित्र ढुक्कले दान गर्ने डा. पुन सुझाउँछन् । 

कसले प्लाज्मा दान गर्न सक्दैन ?

  • जसको तौल ५० किलोग्राम भन्दा कम हुन्छ।
  • जसलाई मधुमेह रोग छ । 
  • गर्भवती महिला।जसको रक्तचाप अनियन्त्रित छ। 
  • क्यान्सर भएका व्यक्ति । 
  • फोक्सो र मिर्गौला वा मुटुको गम्भीर रोगको बिरामी । 

कोरोना बिरामीलाई कतिबेला प्लाज्मा चाहिन्छ ? 

यदि बिरामीलाई चिकित्सा विशेषज्ञले सल्लाह दिएको अवस्था भएमा वा  बिरामीको रगतमा प्लाज्मा स्तर प्रशस्त मात्रामा नभएमा प्लाज्मा थेरापी उपचारको आवश्यकता पर्दछ ।

 के प्लाज्मा थेरापीले  कोरोना बिरामीलाई  निको पार्न मद्दत गर्न सक्छ ? 

देशमा हाल दिनमा सयौं व्यक्तिहरू मृत्यु भैरहेको अवस्था छ । अस्पतालहरूमा अक्सिजनदेखि  बेडसम्म अभाव भैसकेको स्थिति छ । यसोमा प्लाज्मा थेरापीको प्रयोग पनि विवादास्पद विषयमा परिणत भएको छ । यद्यपि नेपालमा प्लाज्मा थेरापीको माग बढेको छ । तर डा. पुनका  अनुसार कोरोनाको यो लहरमा सङ्क्रमित भएका गम्भीर कोरोनाका बिरामीका उपचारको लागि  यो थेरापी धेरै प्रभावकारी छैन । प्लाज्मा थेरापीले गम्भीर किसिमका बिरामीलाई ठिक बनाउन नसकेको हुँदा यसले मृत्युदर घटाउन सहयोग नगर्ने उनको भनाई छ । 

त्यस्तै, भारतमा पनि यो विधि प्रयोगमा आइरहेको छ । तर त्यहाँको सञ्चार माध्यमहरूका अनुसार भारतमा कोरोनाका भेरियन्टहरु परिवर्तन भैरहेको हुँदा यो विधिले खासै काम गरेको छैन । यद्यपि प्लाज्माबाट उपचारको विधिबारे हाल विश्व वैज्ञानिकहरूमै मत बाझिरहेको अवस्था छ ।