एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोना केसमा विस्फोटक वृद्धि गर्ने कोभिडको नयाँ भेरियन्ट विश्वको ४४ देशमा पुगिसकेको बताएको छ । अक्टुबरमा भारतमा फेला पारिएको बी.१.६१७ नामको भाइरस डब्ल्यूएचओका सबै ६ क्षेत्रका देशहरूमा पुगेको बताइएको छ । यस बाहेक भारतपछि यस प्रकारको भाइरसले सबैभन्दा बढी प्रभाव बेलायतमा पारेको छ ।

मूल भाइरस भन्दा बढी खतरनाक

डब्ल्यूएचओका अनुसार भारतमा फेला परेको यो नयाँ भाइरस बाहेक बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा पाइने कोरोनाको नयाँ भेरियन्ट पनि चिन्ताको कारण बनेको छ। यी नयाँ भेरियन्टहरु मूल भाईरस भन्दा बढी खतरनाक हुन्छन् । किनभने यीनिहरु कोभिड-१९ को पुरानो भेरियन्टभन्दा छिटो फैलिन्छन्। यसभन्दा अघि डब्ल्यूएचओले भारतमा फैलिएको कोरोनाको दोस्रो लहरलाई विश्वव्यापी चिन्ताजनकको रूपमा वर्णन गरेको थियो ।