चीनमा सुरु भएको कोरोना महामारी विश्वव्यापी रूपमा विनाशकारी हुँदै गइरहेको छ।  भाइरसको उत्पत्ति भएको  एक वर्ष भन्दा बढी बितिसकेको छ । तर पनि यसको उत्पत्ति कसरी भयो भन्ने विश्वकै लागी रहस्य बनेको छ । यस सम्बन्धमा, विश्वका शीर्ष वैज्ञानिकहरूको एउटा समूह भन्छ, कोरोना भाइरसको सुरुवात  प्रयोगशालाबाट भएको भन्ने सिद्धान्त गलत साबित नभएसम्म गम्भीरताका साथ दिनुपर्दछ । 

विश्वमा हाई टेक्नोलोजी, गुणस्तरीय जनशक्ति र विज्ञ हुँदाहुँदै पनि कोरोनाको उत्पत्ति कसरी भयो भन्ने पत्ता लगाउन सकेको छैन । केही महिनाअघि विश्व स्वास्थ्य संगठन चीनमा जाँच गर्न गए पनि उनीहरूले निष्कर्षमा कुनै ल्याब वा मानिसले कोरोनाको सिर्जना नगरेको निष्कर्ष निकालेका थिए । त्यसपश्चात् अमेरिका, क्यानडा लगायतका शक्तिराष्ट्रहरुले समेत कोरोनाको उत्पत्तिभन्दा भ्याक्सिन बनाउनमा मात्रै ध्यान दिए । अहिले त्यही कोरोना विरुद्धको भ्याक्सिनमा कूटनीति यी नै देशहरूले गर्दै आएका छन् । 

विश्व वैज्ञानिकले भाइरसको उत्पत्तिको सवालमा रहस्यमय ढङ्गले बेवास्ता गरिरहेको विश्व सञ्चार माध्यमले उल्लेख गर्दै आएका छन् । हुन त कोरोना विरुद्ध विश्वमा दर्जनौँ खोप बनिसकेका छन् । विश्व स्वास्थ्य संगठन नै हिसाबमा उक्त खोपको ७५  प्रतिशत हिस्सा केवल राष्ट्रमा छ । अहिले नेपाल, भारत, अफ्रिका लगायतका देशहरूमा महामारीले उच्च विन्दु लिँदा यी देशहरू केही मात्रामा मेडिकल सामाग्री उपलब्ध गराउन बाहेक केही गर्न सकेका छैनन् । 

अझै थप अनुसन्धान आवश्यक

 चीनको वुहान सहरबाट विश्वभरि फैलिएको कोरोनाले अहिलेसम्म ३० लाख भन्दा बढी मानिसलाई मारेको छ भने करोडौँ मानिस यसको सिकार भएका छन्। विश्वका शीर्ष वैज्ञानिकहरूको टोलीमा जम्मा १८ जना छन् ।  जसले भाइरसको बारेमा महत्त्वपूर्ण जानकारी साझा गरेका छन्। टोलीमा क्याम्ब्रिज विश्वविद्यालयका क्लिनिकल माइक्रोबायोलोजिस्ट  रवीन्द्र गुप्ता र फ्रेड हचिन्सन क्यान्सर रिसर्च सेन्टरमा जेसी ब्लूम पनि भाइरसको विकासको अध्ययन गरिरहेका छन्। उनीहरू  महामारीको उत्पत्तिको बारेमा अन्तिम निर्णय हुन अझ बढी छानबिन आवश्यक भएको बताउँछन् । 

डब्लुएचओले  धेरै कारक तत्त्वलाई  बेवास्ता गर्‍यो 

स्ट्यानफोर्डका माइक्रोबायोलजीका प्राध्यापक डेभिड रेलम्यानलगायत वैज्ञानिकहरूले साइन्स जर्नलमा  भाइरसको कुनै प्रयोगशाला र जुनोटिक स्पिलओभर दुबैबाट निस्किने सिद्धान्तलाई खारेज गर्न नसकिने बताएका छन् । भाइरसको उत्पत्तिको सम्बन्धमा  (डब्लुएचओ) को  अनुसन्धानले यो प्रयोगशालाबाट पनि बाहिर आउन सक्छ भनेर ठिकसँग विचार नगरेको उक्त जर्नलमा बताइएको छ ।