काठमाडौँ  । भारतमा प्लाज्मा थेरापी क्लिनिकल व्यवस्थापन दिशानिर्देशबाट हटाइएको छ। यस सम्बन्धमा, भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले जानकारी दिएको हो । आईसीएमआरले कोरोना बिरामीहरूलाई उपचार गर्ने विधिहरूबाट प्लाज्मा थेरापी हटाएको छ। अब भारतमा कोरोना सङ्क्रमित भएकाहरूलाई प्लाज्मा विधिबाट उपचार गरिने छैन । प्लाज्मा थेरापी कोरोना सङ्क्रमित बिरामीहरूको जीवन बचाउनमा प्रभावकारी साबित नभएको पटक पटक भारतीय विज्ञहरूले बताउदैं आएका थिए । यसको प्रयोगको बाबजुद सङ्क्रमितको मृत्यु र  रोगको गम्भीरतालाई कम गर्न सकिएको थिएन । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालय अन्तर्गत कोभिड १९ को लागी बनेको आईसीएमआरमा राष्ट्रिय टास्क फोर्सको बैठकपछि कोरोना बिरामीलाई उपचार गर्दा प्लाज्मा थेरापी विधि प्रयोग नगर्ने  निर्णय भएको हो।  उक्त टास्क फोर्सले कोभिड बिरामीको उपचारको लागि नयाँ दिशानिर्देश पनि जारी गरेको छ। नयाँ दिशानिर्देशमा  कोभिड सङ्क्रमितलाई तीन भागमा विभाजन गरेको छ । पहिलो हल्का लक्षण भएका बिरामी, मध्यम लक्षणहरूसहित दोस्रो र गम्भीर लक्षणहरूको साथ तेस्रो बिरामी।

यसमा बताइएको छ , हल्का लक्षण भएका बिरामीहरूलाई घरमै आइसोलेसनमा बस्नुपर्दछ । भने मध्यम र गम्भीर सङ्क्रमण भएका सङ्क्रमितहरूलाई क्रमशः कोभिड वार्ड तथा गरी आइसियुमा भर्ना गर्न अस्पतालहरूलाई सुझाएको छ । 

प्लाज्मा थेरापी गत वर्ष देखि सङ्क्रमितहरूलाई दिइएको थियो । अप्रिलमा सुरु भएको कोरोनाको दोस्रो लहरमा भारत या नेपाल दुवै देशमा प्लाज्माको माग एकदमै बढेको थियो। तर चिकित्सा विशेषज्ञले सुरुको अवस्थामा मात्र यो उपचारक विधि प्रभावकारी  हुने बताउँदै आएका थिए । यससंगै हाल भारतले प्लाज्मा थेरापीबाट उपचार गर्ने विधि हटाएको छ । यद्यपि नेपालमा भने यसबाट उपचार गरिने भए पनि खासै प्रभवकारी नहुने डाक्टरहरूले जनाएका छन् । 

नेपालमा पनि यसको प्रभावकारिता कम 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार मन्त्रालयले अस्पतालहरूलाई प्लाज्मा थेरापीबाट उपचार सम्भव नहुने जानकारी जानकारी गराइसकेको छ ।

करिब ६ महिना अघि नै विश्व स्वास्थ्य संगठनले रेम्डेसिभिर औषधिको पनि कोरोना उपचारमा कुनै काम नभएको बताएको थियो । तर नेपाल, भारत लगायतका देशहरूका यो औषधि कोरोना सङ्क्रमितको उपचारका लागी प्रयोग भैरहेको छ । रेम्डेसिभिरलाई कोभिडको उपचारका लागि डब्लूएचओले सिफारिस गरेको छैन । नत नेपाल सरकारले नै अस्पतालहरूलाई यसको प्रयोगमा अनुमति दिएको छ । तर मंहगो मूल्य हालेर मानिसहरूले यो औषधि किनिरहेका छन् । जसमा नेपाल सरकार पनि चुप छ ।

प्रवक्ता गौतम भन्छन्, ‘हामिले पटक पटक भनी सकेका छौँ ‘कोरोनाको औषधि छैन, रेम्डेसिभिर वा प्लाज्मा थेरापी कुनै विधिबाट पनि उपचार गर्न सम्भव छैन ।’ यद्यपि प्लाज्मा विधिबाट उपचार गर्ने वा नगर्ने भन्ने कुरा चिकित्सकमा निर्भर हुने उनले बताए । 
प्लाज्मा थेरापी सुरुको अवस्थामा मात्रै काम गर्ने हुँदा अहिलेको नयाँ भेरियन्टमा त्यसको असर नदेखिएको डा.गौतमले बताए । तथापि नेपालमा पनि प्लाज्मा विधिबाट उपचार गर्ने वा नगर्ने भन्नेबारे केही दिनमा स्वास्थ्य मन्त्रालयले  सार्बजनिक गर्ने गौतमले जानकारी दिए । 

के हो प्लाज्मा विधि 

यदि कुनै व्यक्तिले आफ्नो तागत र रोग प्रतिरोधात्मक क्षमताद्वारा “एन्टिबडी” बनाएर कोरोनाजस्तो घातक रोगलाई पराजित गरेर निको हुन्छ,भने उक्त व्यक्तिको रगत निकाली रक्तकेषिका छुट्टाएर जुन तरल पदार्थ रहन्छ त्यसलाई प्लाज्मा भनिन्छ । उक्त प्लाज्मामा रोगसँग लड्ने शक्ति हुन्छ । यसको मतलब यदि कुनै कोरोना निको भइसकेको व्यक्तिले १४ दिनपछि आफ्नो शरीरबाट प्लाज्मा दान गरेमा रक्त समूह मिल्ने अन्य गम्भीर अवस्थामा, भेन्टिलेटरमा रहेको, अक्सिजन कम भएको ४ देखि ५ सङ्क्रमित सम्मलाई बचाउन सकिन्छ । यसको अर्को फाइदा -उक्त प्लाज्मालाई कम्तीमा दुई हप्तासम्म स्टोर गरिएर राखियो भने एक वर्ष सम्मका लागि काम गर्दछ ।

नेपालमा पनि पहिलो पटक काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी विधिद्वारा मोरङका ६० वर्षका कोरोना सङ्क्रमितको सफल उपचार गरेको थियो। त्यसपश्चात् यो विधि नेपालमा पहिलो कोरोनाको लहर आउँदादेखी प्रयोग गरिदैं आइएको थियो ।

तर हाल आएर यो विधिले काम नगेरेको चिकित्सकहरू जनाउँदै आएका छन् ।

यस्तै विश्व स्वास्थ संगठनले पनि प्लाज्मा थेरापीलाई पुर्ण मान्यता दिएका छैन। यो थेरापी प्रयोगात्मक र बिचाराधिन थेरापी मात्रै भएकाले नियमित क्लिनिकल परीक्षणहरू जारी राख्नु पर्ने भनेर सल्लाह (डब्लुएचओ) ले दिदैं आएको थियो ।

यो पनि : के प्लाज्मा थेरापीले कोरोना बिरामीलाई बचाउन सकिन्छ ?