काठमाडौं । कोरोना कहर बढ्दै गएपछि मेरा साथीहरूमा चिड्चिडापनाले जरा गाड्यो । मेरा आफन्तहरू अलि रिसाउने र ठुस्स पर्ने हुँदै गए । मैले सोचे केही छिनका लागी होला । केही दिनमा शान्त हुन्छन् । तर त्यसो भएन उनीहरूमा उल्टै झन् एक्लै बस्न रुचाउने, बालबालिकाहरूसँग च्याँठिने। यदि कोहीसँग धेरै बेर बोल्नु परे दिक्क मान्ने जस्ता व्यवहार बढ्दै गए । यी मेरा साथी तथा आफन्तहरू एक पटक कोरोना सङ्क्रमण भई कोही अस्पतालमै भर्ना भैसेका र कोही २० औँ दिनसम्म आइसोलेसनमा बसेका थिए ।

मेरी आफ्नै ठुलो ममीको छोरी हुन् । पहिला निकै कुरा गर्न मन पराउने मान्छे २५ दिन कोरोनाले थलिएर एक्लै आइसोलेसनमा बसिसकेपछि झर्काफर्का गर्ने र सानो सानो कुरामा पनि रिसाउने भएकी छिन् । ठुलोममीले यो विषयबारे परिवारमा कुरा गर्दा सबैले पहिलेको भन्दा अहिले व्यवहारमा परिवर्तन आएको महसुस गरेका पाइयो ।

त्यस्तै, कोरोनाले च्यापेर १५ दिन अस्पतालको बेडमा र १५ दिन घरमा आराम गरेर निको भैसकेका अर्को चिनेकै अंकलले पनि आफूलाई अब एक्लोपन महसुस हुन थालेको सुनाए । तरकारी किन्न जाँदा बिहान भेट भएका उक्त अंकल भन्छन्, अब त बालबच्चासंग बोल्दा पनि झर्का लागेर आउँछ, ‘एक छिन लुडो खेलौंन बाबा’ भन्छन् आफूलाई भने कहाँ गएर सुनसान ठाउँमा बसौँ जस्तो हुन्छ । उनी अत्तालिदैं संकालु भावमा बताउँछन्, ‘डिप्रेसनको संकेत देखिन लागी सक्यो । फेसबुकदेखि मिडियामा कोरोनाको खबर पढ्दा-पढ्दा परिवारलाई केही हुन्छ कि भन्ने चिन्ताले मात्रै सताउँछ। उनी थप्छन्, ‘यसै त कमाई शून्य छ ।’ अंकलको बोली र हाउभाउ हेर्दा नै निकै चिन्तित देखिनु हुन्थ्यो ।

मलाई लाग्थ्यो यस्तो समस्या मैले चिनेका केही एकाधलाई मात्रै होला । तर नतिजा फरक रहेछ । कोरोनाका कारण थाहा नै नपाई डिप्रेसनमा गैसकेका मानिसहरू थुप्रै हुने रहेछन् । यी त केवल उदाहरणका पात्र मात्रै हुन् । यस्ता समस्या हरेक घरमा छन् । नेपालमा कोरोना सङ्क्रमण बढोत्तरी, निषेधाज्ञा र सामाजिक सञ्जाल, सञ्चार माध्यममा आउने सामग्रीले समेत मानिसहरूलाई आशक्त बनाएको रहेछ ।

हुन त नेपाली संस्कार अनुसार पनि कुनै घटना घटेको १३ दिनसम्म बार्ने तथा शोक मनाउने चलन नै छ । त्यहाँभन्दा माथि गयो भने चाहिँ चिन्ताको विषय हुन सक्छ । अर्कोतर्फ कोरोनाका सङ्क्रमित बढेसंगै निषेधाज्ञा पनि लम्बिदैं जाँदा जोकसैलाई यस्ता तनाव उत्पन्न हुने गर्छ । तर यस्ता लक्षणहरू देखिएको ख्याल पाएमा बेलैमा सतर्क हुनुपर्ने टिपिओ नेपालकी मनोपरामर्शदाता इन्दिरा प्रधान बताउँछिन् ।

नेपालमा भूकम्प तथा कोरोना भाइरसले प्रवेश गरेपछि मानिसहरूमा त्राससंगै चिन्ता बढेको छ । जसको फलस्वरूप मानिसहरूमा पोस्ट-ट्रामाटिक स्ट्रेस डिसअर्डर हुन थालेको छ । विशेष त कोरोनाका कारण हुने मृत्युको भय र अस्पताल नपाउँदा छटपटिएको अनुहार मिडियामा देखेर मानिसहरू अत्तालिएका छन् । यो अवस्थामा घरखर्च धान्ने महिलादेखि, अनलाइन कक्षा पढ्ने बालबालिकासम्म मानसिक समस्या देखा पर्न थालेको छ ।

आज चर्चा सोहि विषयको ।

पोस्ट-ट्रामाटिक स्ट्रेस डिसअर्डर के हो ?

मनोपरामर्शदाता प्रधानका अनुसार पोस्ट-ट्रामाटिक स्ट्रेस डिसअर्डर मानसिक स्वास्थ्यसँग सम्बन्धित एक समस्या हो । यसलाई छोटकरीमा पीटिएसडि पनि भनिन्छ । यो समस्या त्यस्ता व्यक्तिहरुलाई देखीन्छ, जो कुनै डरलाग्दो आघातजन्य अवस्थाबाट गुज्रिसकेको हुन्छ । अर्थात् पोस्ट-ट्रामाटिक स्ट्रेस डिसअर्डर मानसिक र भावनात्मक तनावको एक अवस्था हो जुन कुनै क्षति, आघातको परिणामस्वरूप उत्पन्न हुन्छ । प्रधान भन्छिन्, “तर त्यो घटना उक्त व्यक्तिले भोगेकै हुन पर्छ भन्ने छैन, कसैले भनेको सुनेर, देखेर पनि पीटिएसडि हुन सक्छ ।”

उदाहरणका लागी सडक दुर्घटनामा परेको अवस्थामा, भुकम्पबाट संर्घष गरी बाँचेकामा तथा कोरोना संक्रमण भै २० औं दिन अस्पातलमा पुगी घर फर्किएकामा यस्ता तनावहरु हुन सक्छ । जसमा व्यक्ति सामान्यतया निन्द्रामा समस्या आएको , काम गर्ने क्षमता कम भएको, तनाव र भावनात्मक उथलपुथलको अनुभव गर्दछ।

प्रत्येक सयौं मध्ये १० जनाले आफ्नो जीवनको कुनै न कुनै समयमा पोस्ट-ट्रम्याटिक स्ट्रेस डिसअर्डरको अनुभव गर्ने गरेको अन्तराष्ट्रिय रिपोर्टहरुमा पनि सार्वजनिक छ ।

यसका लक्षणहरु के हुन् ?

पोस्ट-ट्रम्याटिक स्ट्रेस डिसअर्डरबाट गुज्रिएको अवस्थामा पीडितले प्रायः डर र चिन्ता महसुस गर्ने प्रधान बताउँछिन् । यो समस्या जोकोही तथा जस्तो उमेरसमूहलाई पनि हुन सक्ने उनको ठहर छ ।

मनोपरामर्शदाता प्रधानका अनुसार पोस्ट-ट्रम्याटिक स्ट्रेस डिसअर्डर हुन सक्ने व्यक्तिमा यस्ता लक्षणहरु देखा पर्छन् ।

यी लक्षणहरू व्यक्ति अनुसार फरक हुन सक्छन् र एक व्यक्तिले एक भन्दा बढी वा सबै लक्षणहरू पनि एक साथ सामना गर्न सक्छ। पोस्ट-ट्रम्याटिक स्ट्रेस डिसअर्डरका विशेषगरि चार गम्भिर लक्षणहरु छन् ।

१) फ्ल्यास ब्याक हुने (जस्तो पहिलै भैसकेको घटना बारम्बार सम्झिने, झझल्को हाइरहने )
२) छिट्टै तर्सिने ( सानो कुरामा पनि तर्सिने, डर मान्ने)
३) उत्तेजित हुने
४) पुन: अनुभव गर्ने ( यसमा बिरामीले घटना घटेको बेला जस्तो अनुभव गरेको थियो अन्य समयमा पनि त्यहि अनुभव हुने)
५) धेरै कल्पना गर्ने ( वास्तविकता भन्दा माथि रहेर धेरै सोच्ने )
६) तनाव महसुस
७) रिसाउनु , घटनाको सम्झन समस्या हुने
८) आफ्नो बारेमा नकारात्मक विचार राख्ने, आफैंलाई दोषि मान्ने
९) पहिले मनपर्ने गतिविधिमा रुचि नराख्ने , डिप्रेसन जस्ता लक्षणहरू देखीनु
१०) चिन्ता वा घबराहट भैराख्ने

पोस्ट-ट्रामाटिक स्ट्रेस डिसअर्डरको उपचार के हुन सक्छ ?

यसको सिकार हुन लागेका वा भैसकेका बिरामीहरुका लागी उपचारको रुपमा मनोपरामर्श लिने तथा ध्यान, प्रणायम जस्ता गतिविधीहरु गर्न सकिने सुझाव मनोपरामर्शदाता प्रधानको छ ।

फरक मानिसका फरक विशेषता हुने भएकाले पिटिएसडि भएका व्यक्तिहरुले मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श लिन आवश्यक रहेको छ । यद्यपि यस्तो समस्यालाई उखेलेर फाल्न घरेलु प्राथमिक उपचारका रुपमा मेडिटेसन, योगा जस्ता कुराहरु पनि गर्न सकिने प्रधान भन्छिन् ।

जस्तो:

तनाव कम गर्नुहोस्

तनाव पोस्ट-ट्रामाटिक स्ट्रेस सिन्ड्रोमको लागि सबैभन्दा महत्त्वपूर्ण कारकहरू मध्ये एक हो। तथापि जिवनबाट पुरै तनाव हटाउन कठिन छ । तरपनि निश्चित रूपमा यसलाई तनाव व्यवस्थापन प्रविधि प्रयोग गरेर कम गर्न सकिन्छ । यसका लागी नियमित ध्यान, व्यायाम गर्नुपर्छ ।
सहि व्यायामले तपाईको मुड र उर्जा सुधार्न मद्दत पुर्‍याउँछ। वर्कआउट र शारीरिक गतिविधिका विभिन्न प्रकारहरू जस्तै नृत्य, पौडी खेल्न र हिँड्न यसले यस विकारको लक्षणहरूलाई कम गर्न सक्छ । मानिसको मुडलाई खुसी पार्न सक्छ ।

यो आर्टिकल , केवल बिरामीलाई लक्षित गरेर मात्रै बनाइएको होइन । कोरोनाको दोस्रो लहर सुरु भैसकेपछि ठ्याक्कै यति जनालाई भनेर डाटा उल्लेख नै गरिएको त छैन । तापनि सबै उमेर समूह र सबै लिंगका व्यक्ति बालबालिकाहरूमा यस्ता लक्षणहरू देखा पर्न थालेका छन् । माथि उल्लेख गरिएका उदाहरणहरू पनि पोस्ट-ट्रामाटिक स्ट्रेस डिसअर्डर कै सुरुवाती लक्षण हुन सक्लान् । यदि यसलाई अझै बढवा दिने हो भने गम्भीर रूप पनि लिन सक्छ ।

कोरोना भाइरसले गर्दा नेपाल एउटा बन्द कोठा भएको छ । जनता भने यही बन्द कोठाभित्र बस्ने पन्छी भएका छौँ । हामी घरमा सबै काम छोडेर बस्नु पर्ने अवस्था आएको छ । सम्भवतः यो अवस्थाको सामना हाम्रा कयौँ पुस्ताले पनि गरेका थिएनन् । यसोमा तनाव उत्पन्न हुनु सामान्य हो । तर त्यही तनाव बढेर उचाइ छुँदै डिप्रेसन वा पोस्ट-ट्रामाटिक स्ट्रेस डिसअर्डरको रूप लिनु चाहिँ खतरनाक ।

तसर्थ, बेलैमा सचेत रहनुहोला ।