म कुनै सञ्चार माध्यममा सम्पादकको पोस्टमा छुँइन । तर एक्दिन हुनेछु भन्ने पक्कै आत्मविश्वास छ । त्यही आत्मविश्वास  सिद्ध गर्नका लागी पत्रकारिता क्षेत्रमा बामै सर्दै पनि छु । जहाँसम्म मेरो मनमगजले बुझेको छ, पत्रकारिता भनेको अकल्पनीय सम्भावनाको ढोका खोल्ने माध्यम हो । सञ्चार माध्यममा छापिएका लेख, टिप्पणी, समाचारले सिङ्गो देशको वर्तमान अथवा विगतको पृष्ठभूमि परिभाषित गर्छ । त्यसैले हामी पत्रकारहरू दिनरात फ्रन्टलाइनका रूपमा  खटेर डटेर सूचना प्रक्षेपण गरेर आम नागरिकलाई सजग सचेत बनाउने काम गरिरहेका छौँ । गरिरहने पनि छौँ । हामी रिपोर्टरले घटनास्थलमा पुगी तथ्य संकलन गरी  सम्पादकलाई बुझाउँछौँ र उनले काँटछाँट गरी पब्लिस बटन थिचिदिन्छन् । अर्थात् तथ्यलाई समाचारिय मूल्यका रूपमा मिठो भाषा शैलीमा  रूपान्तरण गरी जनतामाझ पुर्योइन्छिन् । 

हाम रिपोर्टरहरू समाचार  घटनास्थलबाट ल्याउँछौँ, सम्पादकलाई जिम्मा लाउँछौँ । बाँकी काम उसकै । रिपोर्टरले आफ्ना कुण्ठा भावना समाचारमा पोख्न पाउँदैन । तर राष्ट्रमा यस्ता घटनाहरू पनि घटिरहेका हुन्छन् जसको बारेमा सरकार र सरोकारवालाहरूलाई सुझाव सल्लाह दिन तथा झकझक्याउन अत्यावश्यक भैसकेको हुन्छ । ती विषयहरूको उठान समाचारिय मूल्यका आधारमा गर्न मिल्दैन । त्यसैले सम्पादकहरूले विशेष सम्पादकीय मार्फत सरकारदेखि नागरिकसम्ममा पैरवी गर्छन् । 

कुनै पनि निश्चित विषयमा लेखिएका सम्पादकीयहरू यति पावर फुल हुन्छन् कि तीनले सिस्टम नै परिवर्तन  गर्न सक्ने सामर्थ्य राख्छ । सम्पादकीयमा सम्पादकले गरेको आलोचना, खण्डनका मार्फत गलत ढंगले चालिएका कदमहरू रोकिन सक्छन् । भने सम्पादकीयमा उठाइएका विषयहरू राष्ट्र हितका लागी उत्कृष्ट ठहरिन सक्छन् । राष्ट्रका मुद्दा बन्न सक्छन् ।

धेरै भूमिका नबाँधौँ र आजको विषयवस्तुलाई स्वागत गरौँ । 

गत पुस पाँच देखी राजनीतिमा ज्यादै भाँडभैलो मच्चियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त दिन जनताले चुनेर पठाएका प्रतिनिधि मण्डल विघटन गरिदिए ।  तथापि त्यो मिति भन्दा पहिला राजनीति गतिलो  भन्ने चाहिँ होइन । त्यस लगत्तै मुलुकका ठुला देखी साना सञ्चार माध्यमका सम्पादकहरूले खुलेरै ओलीले गरेको राजनैतिक ‘कू’ को विरोध गरे । सम्पादकीय मार्फत । एकपछि अर्को सत्तापक्षका ओली पक्षलाई प्रश्नका झटारो फ्याँक्दै गए ।  संसद् ब्युँताउन देशमा फेरी आन्दोलन भए । सर्वोच्चले सांसदलाई पुन:जीवन  दियो । माओवादी, एमालेको गठबन्धन तोडियो । त्यसपछि कोरोनाको दोस्रो लहरले दस्तक दियो । अस्पतालमा डाक्टर र बिरामीको एउटै स्वरमा चित्कार सुनियो, “सरकार अक्सिजनको व्यवस्था गरिदेउ।” 

यी घटनाक्रम सबै बेकामे सरकारका जनताप्रतिको बेवास्ताका कारण घटिरहेका थिए । तर यसमा सम्पादक डराएनन् । सम्पादकीय मार्फत सरकारलाई बारम्बार ‘यसो गर’ उसो गर  भनेर सुझाव गरिनै रहे । ती सम्पादकीयहरू पढ्दा लाग्थ्यो ‘सायद यो देशको चिन्ता सम्पादकहरूलाई मात्रै छ ।’ त्यसैले पढिसकेपछि सरकार र व्यवस्था प्रति धिक्कार महसुस हुन्थ्यो । मलाई पर्सेनली लाग्थ्यो, “सम्पादकीयमा यति सटिक शब्दले वाण हान्ने सम्पादकले प्रत्यक्ष प्रधानमन्त्रीलाई प्रश्न गर्ने अवसर मिले कस्ता चोटिला शब्द प्रहार गर्थे होला ? मलाई जिज्ञासा लाग्थ्यो सम्पादकीयका हेडलाइनमा मात्रै सीमित रहेका प्रश्न प्रत्यक्ष सोधिँदा सरकारले उत्तर कसरी देला ? 

यसलाई थप बुझ्न टाढा जानै पर्दैन चार पाँच ठुला सञ्चार माध्यमका सम्पादकीयका हडलाईन पढे पुग्छ । जस्तो मैले यहाँ ठुला भनिएका मिडियाका केही सम्पादकीयका शीर्षक ल्याएकी छु 

१) राजनीति अति भयो अब महामारीतर्फ ध्यान जाओस्
२) ओली प्रवृत्तिले उब्जाएका संकट
३) सरकार केही त बताउ
४) कूटनीतिका कखरा नबुझ्नेहरू राजदूत भए के हुन्छ ?
 ५) खोप खरिदको छानबिन किन किन भएन ?
 ६) इन्धनमा आचाक्लि कर कटान 

यी त केवल एक उदाहरण मात्रै यस्ता हेडलाइन त कति कति ? यी हेडलाइनभित्रका विषय झन् राष्ट्रका लागी कति महत्त्वपूर्ण । 

यो प्यारालाई पनि यही छोड्दै हामी हाम फालौँ । आज (शुक्रवार)को दिन ।

आज अल्पमतमा अहिलेसम्म पनि प्रधानमन्त्री नै रहेका ओलीले  पत्रकार सम्मेलन गरे । केवल सम्पादकहरू मात्रैलाई राखेर  । बालुवाटारमै सम्मेलन राखिएको थियो । जहाँ सम्पादकहरूलाई सम्पादकीयमा लेखेका जस्तै प्रश्नहरू सोध्ने छुट थियो । प्रशस्त समय पनि । तर आज अहँ…. तिनी प्रश्नले बालुवाटारको त्यो मिटिङ हलमा प्रवेश पाएन । सम्पादकीयमा कोरिएका फितलो अर्थतन्त्रका कुरादेखि, भ्याक्सिन कमिसन, खराब स्वास्थ्य प्रणाली समेत हेडलाइनमै मात्रै सीमित भए । 

फेरी आजको भेटमा प्रश्नै नसोधेका भने होइन ।  १५ -१८ जना उपस्थित सम्पादकमध्ये लगभग ७ जनाले प्रश्न तेर्साएकै हुन् । उनीहरूले ‘जेठ ३’, ‘सरकार गठन गर्न मार्ग प्रशस्त’ जस्ता शीर्षकमा प्रश्न गरे । ती सम्पादकको प्रश्नमा ओलीले कुरो घुमाउँदै  एउटै कुराहरू बारम्बार दोहोर्‍याइ  रहे । ‘आफुँ सही छु’ भन्ने नालीबेली उनीहरूलाई ओलीले सुनाइरहे । सम्पादकहरुपनि सुनिरहे । बिचमा कुरा काटेर प्रतिप्रश्न गर्ने  हिम्मत जुटाउन सकेनन् । भलै आजको पत्रकार सम्मेलन प्रधानमन्त्रीले राजनीतिलाई केन्द्रित बनाएका थिए । तर सम्पादकहरूले पनि उनले भनेका हरेक हरफलाई केलाएर आफ्ना उत्तर खोज्न सकेनन् । 

पत्रकार सम्मेलन साढे १२ पछि सुरु भयो । प्रधानमन्त्री ओली पोडियममा गुरु जसरी बसे र  राष्ट्रिय राजनीतिमा आफूले गरेको योगदान र विपक्षले बाधा पुर्योएका रामकहानी सुनाउन थाले । अविश्वास प्रस्ताव, राजीनामा, संसद्को गणित  र आफ्नो तारिफ प्रधानमन्त्रीका मुख्य शीर्षक रहे । न त उनले राजनीतिका कारण वीर अस्पतालमा १५ मिनेट अक्सिजन कम हुँदा तीनको मृत्यु भएको विषय झिके । नत सरकारले कोरोना नियन्त्रणमा अब चाल्ने योजनाबारे सुनाए । न यी कुराहरु सम्पादकले नै सम्झाइदिए । 

म दैनिक पाठक भएको हैसियतले ती ठुला सम्पादकहरूलाई सोध्न चाहन्छु आखिर किन प्रधानमन्त्रीलाई सम्पादकीयमा लेखेका जस्तै कुराहरू राख्न सक्नुभएन ?  बालुवाटारमा प्रश्नको थैली रित्तिएकै होत ? कि प्रधानमन्त्रीको  मुख देखेसि प्रश्नहरू फुरेनन् ? 

एक सम्पादकले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बेला चुनावतर्फ जाने संकेत उचित होला भन्ने प्रश्नमा ओलीले यो प्रश्न मलाई भन्दा पनि मेरा विपक्षीमा  सोध्नु भनेर उत्तर दिए । कोरोना नियन्त्रण नहुनुमा दोष विपक्षीसंग भएको सांसद संख्यालाई थुपारिदिए । यो प्रश्न गर्ने डियर सम्पादकज्यू, तपाईँले खोजेको उत्तर यही हो ?? 

प्रधानमन्त्रीले एक घण्टा आधाको सम्पादकहरू संगको  बसाइमा दलहरूसमक्ष “मलाई समर्थन गर्नुस्” भन्ने शब्द दोहोर्योइ  रहे । तर त्यहाँ उपस्थित सम्पादकहरुमा कसैले पनि सोध्न सकेनन्,  ‘प्रधानमन्त्रीज्यू तपाईलाई केका आधारमा समर्थन गर्ने  ? कारण खुलाउनुस् न ?’ यति मात्रै सोधिदिएको भए । 

प्रधानमन्त्रीले चालेका पाइलापाइलामा प्रश्न गर्ने ती सम्पादकले आज प्रत्यक्ष भेटमा प्रश्नले आच्छु -आच्छु पार्नै सकेनन् । 


केही दिन अघि चिरपरिचित सम्पादकले लेख्नु भएको थियो, लकडाउनका कारण देशमा आर्थिक गतिविधि ठप्प छ । कोरोनाको दोस्रो लहर आगो जसरी दन्किएको छ। अक्सिजनको हाहाकार छ ।  मानिसहरू भोकै मर्नुपर्ने अवस्था छ । त्यसैले राजनीति अति भयो अब महामारीमा ध्यान दिऔँ ।  यो सम्पादकीय लेख्ने डियर सम्पादकज्यू, आज तपाईं यी प्रश्न प्रधानमन्त्रीका अगाडि प्रस्तुत भएनन् नि किन ? चुइँक्क नबोल्नु भएको किन ? यस्ता कुरा अघि सारेका भए राजनीतिबाट हटेर तपाईँको हेडलाइनले भनेको जस्तो प्रधानमन्त्रीको ध्यान जाने थियो कि चान्स मिस गरे जस्तो लागेन ?  फेरी अर्को पत्रकार सम्मेलनमा विषयवस्तु अर्कै होलान् यी कुरा सम्पादकीयमै मात्रै सीमित हुने भए नि ? 

प्रधानमन्त्री पोडियमबाट आफ्ना गाथा सुनाउँदै गए । सम्पादकहरू चेलाझैँ सुनिरहे । मनमा गुथलिएका चोटिल सवालहरू मनमै रहे । सम्पादकीयका शीर्षक सञ्चार माध्यममा मात्रै सीमित रहिरहे ।

 सम्पादकहरुसंग यतिका धेरै सवाल छन्, जुन सायद जनता पनि हुन् । तर आज प्रधानमन्त्रीका अगाडि सम्पादकीयमा लेखिएका  जस्तै उनलाई अक्क न बक्क पार्ने गरी किन प्रश्नहरू तेर्साएन सक्नुभएन ? ठुला सञ्चार माध्यमका सम्पादक तपाइंहरुले पत्रकारिताको पावर र त्यसले जनतालाई प्रधान गर्ने न्यायको किन प्रयोग गर्नु भएन  । 

जे होस् । पत्रकार सम्मेलनमा त्यत्तिका सम्पादक मिलेर प्रधानमन्त्रीलाई सम्पादकीयका हेडलाइनमा जस्ता प्रश्न गर्न सकेनन् दुख लाग्यो ।