काठमाडौँ । मुलुकमा कोरोना भाइरसको दोस्रो लहरले चपेटामा परेका कोरोना सङ्क्रमितहरू निको भएर बिस्तारै सामान्य अवस्थामा आइरहेका छन् । स्वास्थ्य मन्त्रालयले दैनिक प्रस्तुत गर्ने कोरोना अपडेटमा पनि कोरोना सङ्क्रमित भन्दा निको हुनेको आंकडा बढी  देखिन थालेको छ । कोरोना भाइरसको दोस्रो लहर बिस्तारै मत्थर हुने क्रममा छ । हालसम्म कोरोनाले सङ्क्रमित पारेका सङ्ख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमा चार लाख २८ हजार बढी निको भैसकेका छन् । अर्थात् उनीहरूले कोरोनालाई परास्त गरेर सामान्य दैनिकीमा फर्किसकेका छन् ।

तथापि कोरोनालाई हराए पनि त्यसपछि फाट्टफुट्ट व्यक्तिहरूमा पोस्ट कोभिडका लक्षण ( पोस्ट-कोभिड सिन्ड्रोम ) देखिन थालेको छ । कोरोनाबाट निको भैसकेपछि मानिसहरू अस्वस्थ तथा मानसिक रूपमा कमजोर महसुस गरिरहेका छन् । डिस्चार्स पछी स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको नर्भिक अस्पतालले पनि निष्कर्ष निकाल्दै त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको सुरुवात समेत गरेको छ । 

कोरोनाबाट निको हुनेको सङ्ख्या बढेसंगै विभिन्न स्वास्थ्य समस्या भोग्नेहरूको सङ्ख्या बढी रहेको वा बढ्ने सम्भावना छ । तर भोग्नेहरू तथा विशेषज्ञकै लागी यो नितान्त नयाँ अनुभव भएको चिकित्सक बताउँछन् । कतिपय व्यक्तिहरू समस्याबाट ग्रसित भएनि त्यसलाई चिन्न सकिरहेका हुँदैनन् र नजरअन्दाज गरिदिन्छन् । जसले गर्दा अन्य कुनै रोगहरू पनि उब्जने सम्भावना हुन्छ । 

यसै सन्दर्भमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसंग जिएनएनले गरेको कुराकानीको सम्पादित अंश :

पोस्ट कोभिड  सिन्ड्रोम भनेको के हो बताइदिनुस् न  ? 

पोष्ट  कोभिड सिन्ड्रोमको डर (सङ्क्रमण बाट मुक्त भए पनि भाइरसको लक्षण) बढ्दो छ। यसको परिभाषा यही हो भनेर आइसकेको छैन । तापनि  कोभिड निको भई तीन -चार हप्ता पछिसम्म  निरन्तर स्वास्थ्यमा समस्या तथा कोभिडकै लक्षण रहिरह्यो भने त्यसलाई पोष्ट कोभिड सिन्ड्रोम भएको मानिन्छ । यसलाई ‘लङ कोभिड’ पनि भनिन्छ । यो सिन्ड्रोम सबै कोरोना सङ्क्रमित भैसकेकामा हुन्छ भन्ने छैन, एकाध केसमा मात्रै हुन्छ । 

पोष्ट  कोभिडका लक्षणहरू चाहिँ केके हुन् ? 

सबैभन्दा पहिलो र सबैमा देखा पर्ने लक्षण  जुन बेला पनि अत्यधिक थकान महसुस गर्ने हो । त्यसपछि जिउ तातेको जस्तो हुने तर कहाँनेर तातिएको थाहा नहुने, शरीर भारी हुने ।  सानो काम गर्न पनि सक्दिन जस्तो हुने । खोकी लागी राख्ने । कसैलाई मनोवैज्ञानिक समस्या हुन थाल्ने । मान्छेको आकार ठुलो देख्ने । ढुकढुकी बढ्ने । यसै गरी  सास फेर्न कठिन, छाती दुख्ने अथवा छाती कस्सिएको अनुभव हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने वा कमजोर हुने, पेट फुल्ने, छालामा बिबिरा देखिनु, ,निद्रा नलाग्ने  पोष्ट  कोभिडका लक्षण हुन्  ।

यो कति समय पछि निको हुन्छ ? 

हुन त यो बिस्तारै कम हुँदै जान्छ । कति समय लाग्छ, हामीले भन्न सक्दैनौँ । र पनि विभिन्न अनुसन्धानहरूले तीन महिना वा सोभन्दा बढी समयमा  निको हुन्छ भनेको छ । तथापि यो विज्ञ खुदका  लागी पनि नयाँ विषय भएकाले अनुसन्धानकै क्रममा छ । 

यसको उपचारका लागी के गर्नुपर्ला ? 

पहिलो कुरा माथि उल्लेख गरिएका समस्याहरू देखा परे पनि बिस्तारै निको हुँदै जान्छ । यदि नगएको खण्डमा गम्भीर हुन सक्छ । त्यसैले आफैँले औषधि प्रयोग नगरी सुरुका चरणमै डाक्टरसंग सल्लाह लिन आवश्यक छ । उदाहरणका लागी कोरोनाबाट निको भैसकेको तीन हप्तापछि पनि निरन्तर सास फेर्न गाह्रो, छातीमा स्वाँ-स्वाँ भएको अवस्था भए छातीकै विशेषज्ञलाई देखाउन पर्‍यो । यदि डिप्रेसनका लक्षणहरू देखा परे बेलैमा मन परामर्श सेवा लिन पर्‍यो । 

किनभने यसको खास उपचार भनेको कसैलाई थाहा छैन । विज्ञहरूका यसमा छुट्टा-छुट्टै राय हुन सक्लान् । 

उसो भए पोस्ट कोभिड रोकथामका उपायहरू छन् कि छैनन्  ? 

पोस्ट कोभिडका रोकथाम गर्न यही गर्नपर्छ भन्ने कुनै उपाय छैन । तर प्राणायाम गर्न  तथा पौष्टिक आहार लिन सकिन्छ । कोरोनाबाट निको भएपछि धूम्रपान र मदिराबाट जोगिन, व्यायाम गर्न, निद्रा र आरामको गति मिलाउन, समय समयमा लामो सास फेर्न, न्यूनतम गर्न शारीरिक र मानसिक गतिविधि कायम राख्न जरुरी छ । यसो गर्नाले पोस्ट कोभिडका लक्षण नआउन सक्ला  ।

यस्तो समस्या कति लामो समयसम्म हुन्छ ? 

यो भनेको कोरोना लक्षण देखिएको तीन हप्तापछि पनि निरन्तर स्वास्थ्य समस्या देखिएको अवस्था हो । यो सबैलाई हुन्छ नै भन्ने ठोकुवा पनि होइन, मान्छेको प्रकृति अनुसार हुन्छ ।  कसै कसैलाई तीन महिना अथवा त्यो भन्दा बढी समय पनि हुन सक्छ । 

यो सङ्क्रमितहरूको आंकडा कति होला ? 

सुरुको लहरमा भेटेको थिए मैले तर अहिले निकै कम छ । किनभने यो लहर चलिरहेको छ र मानिसहरू बिस्तारै निको हुँदै छन् । अबको केही सातापछि पोस्ट कोभिडका बिरामीहरू पनि ह्वात्तै बढ्ने सम्भावना छ ।