नेपाली राजनीतिमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एकपटक चर्चाको शिखरमा छन् । बारम्बार उखान टुक्काको सहायताबाट जनता हँसाउने कमेडियनको जस उनैले लिएका छन् । त्यति मात्र होइन उनले जनतामा राष्ट्रवादको राम्रै सन्देश दिने गरेका छन् । जनतामाझ आफू अलोकप्रिय भएपछि उनको मास्टर माइन्डले राष्ट्रवाद र उखान टुक्काको सहायता लिने गर्छ । पुष ५ यता उनको राजनीतिक जीवनमा थुप्रै उत्तारचढावहरु देखा परेका छन् ।

भिडियो:

नेपाली राजनीतिमा उनी यस्ता खेलाडी भए जसलाई कसैले पनि पराजयको भारी बोकाउन सक्दैन । पछिल्लो समय उनी फेरि कुटिल चाल खेल्ने राजनीतिक खेलाडीका रुपमा स्थापित भएका छन् । अब उनले चाल्ने शक्तिशाली कदमहरु यस्ता हुनेछन :

१. मध्यावधि निर्वाचन

जेठ ७ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरिन । त्यही दिन दिउँसो ओली बालुवाटारमा पत्रकारहरुसँग गफगाफमा व्यस्त थिए । उता विपक्षीहरु बहुमत जुटाउन व्यग्र कसरत गरिरहेका थिए । विपक्षी दलले बहुमतको हस्ताक्षर राष्ट्रपतिकहाँ पुर्याएपछि उनले पनि सरकारको दाबी गरिदिए । त्यसपछि उनले र विपक्षी दलले गरेको दाबी दुबै अस्वीकृत भयो । अन्तत यो खेल पनि उनैले जिते । र राति करिब २ बजे प्रतिनिधिसभा विघटन भयो ।

त्यसपछि कात्तिक र मंसिरमा गरी दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा भयो । ओली त्यसपछि खतरानाक राजनीतिक खेलाडीका रुपमा प्रस्तुत भए ।

२. विपक्षी गलाउने

अब उनको एउटै रणनीति छ, आफूविरुद्ध उभिएका विपक्षी नेताहरुलाई केही उपहार दिएर आफूतिर तान्ने । जस्तो जसपाका महन्थ ठाकुर र राजेन्द्र महत्तो निकटका मुद्दा खेप्दै आएका केही व्यक्तिहरुका मुद्दा फिर्ता लिएर ललिपप देखाइदिए । र अहिले उनीहरु केपी ओलीको व्यापक समर्थन गरिरहेका छन् । अहिले उनको विपक्षमा रहेका उपेन्द्र बाबुरामहरुलाई पक्षमा ल्याउन नागरिकता अध्यादेशको ललिपप देखाएका छन् । उनको यो कदमको यो पक्षले विरोध गर्ने सम्भावना निकै कम छ । त्यसैले पनि उनले यो कदम चालको बुझिएको छ ।

३ अदालती सेटिङ

पुष ५ को प्रतिनिधिसभा विघटन भएपछि धेरैले ओलीले अदालतमा सेटिङ मिलाइसकेको धारणा व्यक्त गरिरहेका थिए । तर वास्तवमा परिणामले त्यो नतिजा देखाएन । नतिजा उनको विपक्षमा आयो । फेरि उनले नेकपाको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग धाउनेहरुलाई उनले प्रहार गरिदिए । त्यसपछि नेकपा पूर्व एमाले र पूर्व माओवादीको अवस्थामा फर्कियो ।

उनी एउटा खेल हार्दा त्यसको बदला कपटपूर्ण तरिकाले अर्को खेलबाट लिने गर्छन । अब यतिबेला सर्वोच्च अदालतमा उनको कदमविरुद्ध बहस चलिरहेको छ । उनले यही समयमा फेरि शक्तिशाली कदम चाल्ने सम्भावना प्रबल छ । किनभने उनी देशलाई आफ्नै नेतृत्वमा निर्वाचनमा लिन खोजिरहेका छन् । यसका लागि उनले न्यायाधीशहरुसँग गोप्य भेटवार्तादेखि अनेक जुक्ति लगाउने सम्भावना बढी छ ।

४. अध्यादेशको ओइरो

यतिबेला प्रतिनिधिसभा विघटित भइसकेको छ । सभा नचलिरहेको अवस्थामा उनले संविधानविपरीत अध्यादेश ल्याएको विपक्षीहरुको आरोप छ । यही बीचमा उनले नागरिकता अध्यादेश जारी गरेका छन् । यसलाई मधेशका नेताहरुलाई फकाउन उनले बलियो हतियार प्रयोग गरेको कतिपयको बुझाइ छ ।

त्यस्तै उनले अध्यादेशबाटै आगामी वर्षको बजेट ल्याउने तयारी गरेका छन् । बजेट शनिबार अध्यादेशबाटै आउने बताइएको छ । अब उनले चाल्ने यी कदमहरुले विपक्षीहरुलाई ठुलै झड्का लाग्ने देखिन्छ ।