कति आस बोकेर अन्माएका थियौं नि है मलाई 
कति रहर संगालेका थियौं नि है तिमीले अनि बाबाले मेरो विवाहलाई लिएर
मारे पाप, पाले पुण्य भनी दिएका थियौ नि हगि मेरो हात पराइको हात माथि
आज उसले त्यही हात ममाथि उठाउछ
अनि भन्छ तँलाई त तेरा बाउ आमाले मलाई दानमा दिएका !
आमा म कुनै सामान थिए र ?
या मेरो कुनै अस्तित्व थिएन ?
आमा हरेक रात मेरो इज्जत लुटिन्छ
मलाई पशु झैँ कुटिन्छ
अनि आमा मेरो आँसु आँखाबाट छुटिन्छ

आमा, तिमीले भन्थ्यौ नि, पति परमेश्वर हुन्छ भनेर
म त आफ्नो पतिमा पशु देख्छु जसले मानवता चिन्दैन
जसले मलाई मान्छे नै गन्दैन
अनि जसले मलाई राम्रो शब्द कहिल्यै भन्दैन
आमा, तिमीले अनि बाबाले अलिकता गाली गर्दा नि ह्वाह्वा रुने म, आज सासु, ससुरा अनि पतिको वचन सुन्न विवश छु
किनकि म अर्काकी छोरी रे
आमा, तिमीले अनि बाबाले पनि त मलाई त्यो दिनबाट अर्कैको जिम्मा लगाएका थियौ
त्यसैले होला उनीहरू पनि म माथि सामान झैँ हक जमाउँछन्
अनि दिन रात नभनी मसिन झैँ काम लगाउँछन्

आमा, आजकाल मलाई अस्ताउँदै गरेको घाम देखी डर लाग्छ
जुन कोठालाई सबले मेरो नाम दिएका छन् , त्यो कोठामा मलाई छिर्न नि डर लाग्छ
दिन भरीको कामले थाकेको मेरो शरीर रात पर्न साथ पतिको लागि सजाउन पर्ने रे
जुन सिन्दूरले मेरो जिन्दगी रंगहिन बनायो त्यो सिन्दूर मैले लगाउन पर्ने रे
आमा, मैले त नाइँ भन्न नि नपाउने अरे
उ त मेरो ईश्वर अरे जसलाई मैले मेरो शरीर चढाउन पर्ने रे
तर आमा म त मेरो पतिमा दैत्य देख्छु जसले मेरो शरीरलाई भत्काउँछ
जसले मेरो आत्मा छियाछिया बनाउँछ
अनि जसले मेरो आत्मा होइन मेरो अङ्ग मन पराउँछ

आमा, म रुन्छु कसैले सुन्दैनन्
सायद सुनेर पनि नसुने झैँ गरिदिन्छन्
उसले मेरो शरीरलाई मेरो इच्छा विपरीत हात लगाउँदा मेरो आत्मा कराउँछ, मेरो मन डराउँछ, अनि मेरो शरीरको घाउ निकै चराउँछ जुन मैले सुहागरातको दिन केही दिन एक अर्कालाई चिनौ न है रु भन्दा उपहारमा पाएकी थिए
आमा, उसले मलाई हरेक रात बलात्कार गर्छ
तर म मौन बस्न पर्ने अरे
या भनौँ यो त उसको अधिकार हो अरे
के आमा, एक चिम्टी सिन्दूर र एउटा पोतेको डोरोले बलात्कारको अर्थै परिवर्तन गरिदियो र ?
आमा, म त्यो घर फर्किन चाहन्छु जसलाई समाजले मेरो माइती तोकिरहेछ
आमा, म त्यो बन्धन तोड्न चाहन्छु जसले मलाइ अघि बढ्नबाट रोकिरहेछ
मेरो लास तिम्रो आँगन आउनु भन्दा त म यो विवाहबाट निराश भएर आउनु राम्रो होइन र ?
त्यसैले आमा, भत्काइदेऊ समाजका नियमहरू जसले डोलीमा अन्माएको छोरीले अर्थीमा नै लोग्नेको घर छोड्नुपर्छ भन्ने गर्छ
आमा, सुरुवात आफैबाट गर्नु पर्छ
त्यसैले भित्र्याइदेऊ मलाई त्यही घरमा जुन घरबाट मलाई रुँदै अन्माएका थियौ।