देश कोरोना महामारीले  आक्रान्त छ । मानिसहरू घरैभित्र थुनिएका छन्  । आफ्नो घरको आँगन र अलि परको पसलमा बाहेक अन्य ठाउँमा जान पाएका छैनन् । नत आफन्त र साथीभाइसँग नै भेट्न पाएका छन् । सरकारले वैशाख १६ गते १५ दिनका लागी लगाएको निषेधाज्ञा जेठ १६  आइसक्दा पनि खोल्ने नाम लिइरहेको छैन । उल्टै एक साता थप कडाइका साथ लम्बाएको छ । यसोमा उपत्यका बासीका साथै अन्य जिल्लाका मानिसहरू पनि  आफ्नो खाली समय घरमा बिताइरहेका छन् । हाल मानिसहरूसँग समय छ तर काम छैन । परिवार छन्, उनीहरूलाई खुवाउनुपर्छ तर कुरा एउटै ठाउँमा अड्किन्छ, पैसा  । 

मानिसहरू कोरोनासंग भन्दा पनि भोकमरिसंग डराइरहेछन् । हाल नेपाली समुदाय  प्रेममा धोका पाएको प्रेमी जस्तै बनेको छ, बाहिरबाट हेर्दा ठिकै भित्रबाट भने कतै पनि शान्ति नभएको । यस्तो अवस्थामा जोकसैलाई दुख, तनाव, समस्या, चिन्तित, भ्रमित, डराएको वा क्रोधित, अनुभव हुनु स्वाभाविक हो ।  यो आर्टिकल तयार पार्नका लागी  सामाजिक सञ्जालका फिडहरू नियाल्दा र केही परिवारहरुसंग कुराकानी गर्दा निष्कर्षमा यही निस्किएको छ कि मानिसहरू कोरोना र निषेधाज्ञा पछि अशान्त हुँदै गैरहेका छन् । मानिसहरू अब सुरु हुने नयाँ जीवनका लागी तयार छैनन् ।  बालबालिका, वृद्धदेखि विशेष गरी युवा अवस्थामा रहेकाहरू  सबै मानसिक तनावका सिकार बन्दै गएका छन् । यहाँ दिएका केही घटनालाई अध्ययन गरौँ :  

घटना एक

म अहिले निकै उदासमा छु । मलाई बाँच्न मन लागी रहेको छैन । मेरो घर फोहोर छ । मैले मेरो अरू कामहरू पनि छोडिसके । मैले स्वास्थ्य पनि स्थिर छैन । मेरो दैनिकी सुत्ने, उठ्ने, टिभी हेर्ने, खाने अनि फेरि सुत्ने मात्रै भएको छ । मेरो जीवन धमिलो  बनेको  छ । यो गति केही समयका लागी रोकिनुपर्दछ । मलाई कसैको मतलब छैन । मैले आफूलाई दुखी बनाउँछु, । रुन्छु ।  चोट पुर्योउँछु ।  जे भए पनि म हार मानिरहेको छुँ । म एक्लो महसुस गर्छु । 

सामाजिक सञ्जाल रेडिटमा एक युवतिले पोस्ट्याएका कुरा हो यो । उनले पोस्टमार्फत आफू  कति तनावमा छु भन्ने अरूलाई सेयर गरेकी हुन् । ११ घण्टामा उनको पोस्ट १८१ जनामा पुग्दा ११ जना महिलाले आफूलाई पनि त्यस्तै भावना आउने खुलाएका छन् । यो बेला आफ्ना समस्याहरू प्रशस्त भएको र त्यसलाई चिन्न नसक्दा डिप्रेसनमा गएको समेत उक्त पोस्टमा टिप्पणी आएका छन् । 

No description available.
No description available.


र यो सत्य हो हरेक युवाहरू यो अवस्थाबाट गुज्रिरहेका छन् । 

घटना दुई 

विश्वास गर्न गाह्रो छ कि दुई महिना अघि मात्र म खुला आकाशमा उडिरहे जसरी साथीहरूसँग घुम्न जान्थें तर अहिले यहाँ गुम्सिएर बस्नुपरेको छ । ब्याचलर दोस्रो तहमा पढ्ने स्मिता भन्छिन् “म ज्यादै नर्भस छुँ ।”  उनी बैचनि पूर्वक कहिले कपाल चलाउँछिन् , कहिले जुरुक्क उठेर अर्को कुनामा पस्छिन्, अनि सुनाउँछिन्, ‘एक महिना भन्दा बढी भइसक्यो घर बसेको, मलाइ कोरोना भन्दा पनि परिवारको चिन्ता छ । एकछिन मन ठेगानमा राख्न सक्दिन के गर्ने होला ?’

‘एक हप्तासम्म घरमा बस्दा मन चंगा भएको थियो अहिले भने कतिखेर निस्किउँ जस्तो हुन्छ’ उनी भन्छिन्, ‘बिस्तारै देशमा भाइरस फैलिएको देख्दा त बरु चन्द्रमामा गएर बसौँ झैँ लाग्छ के मलाई ।’   समाचारहरूमा सधैँ मरेका मान्छेको गन्ती सुनाउँछ । अस्पतालमा अक्सिजन छैन । बेड छैन भन्छ ।  उनी  प्रश्न गर्छिन् यो देशमा छ चाहिँ के ?

No description available.

यो भन्दा अघि उनी बिग मार्टमा काम गर्थिन् । अहिले त्यो जागिर छुटेको छ । पहिला कमाएको सबै पैसा सक्किसकेको छ । तर घरबेटीले घर भाडा छुट दिएका छैनन् । उल्टै घरबसेपछि बत्ती-पानीको पैसा बढाएका छन् । 

घटना तीन

१२ कक्षामा अध्ययनरत अनु पनि पढाइका कारण चिन्तित छिन् । कहिले वायु प्रदूषण त कहिले कोरोना सङ्क्रमणका कारण बन्द कलेज बन्द हुने भएकाले कोर्स  पुरा गर्न नपाएको  उनको  दुखेसो छ । अनलाइन कक्षा भए पनि फिजिकल पढेजस्तो नबुझिने अनु बताउँछिन् । योबेला कक्षा १२ को परीक्षा दिएर आराम गनुपर्ने बेला हो तर सरकारले कसरी परीक्षा लिने योजना अझै नबनाएको  हुँदा भविष्य नै अलमलमा छ  । अब त केही गर्न सक्छु जस्तो नै लाग्दैन उनी भन्छिन्  ।  

घटना चार

कृतिका राई  अघिल्लो वर्ष १२ कक्षा पास गरी सकिन् । तर ‘ल’ पढ्ने इच्छा भएकी उनले ल कलेजमा भर्ना लिन सकिनन् र रत्न राज्य क्याम्पस भर्ना भइन् । तर  भर्ना भएर कलेज जान नपाउँदै लकडाउन भैदियो । उनी बिहान बेलुका आमालाई तरकारी पसल गर्न सहयोग गर्छिन् । लकडाउनले गर्दा दिउँसो तरकारी पसल खोल्न दिँदैन बिहान बेलुका ममीलाई सहयोग गर्छु । कलेजले अनलाइन कक्षा पनि सञ्चालन गरेको छैन  । घरमा पढेको पनि छैन ।  के गरेर खाने होला चिन्ता लागी सक्यो । १२ पास गरेपछि राम्रो  जागिर खाने सोचमा लकडाउनले पानी फेरिदिएको उनी बताउँछिन् । 

No description available.

उनको मात्रै होइन उनको दिदीले पनि ब्याचलर प्रथम वर्षमा पढेको  साढे दुई वर्ष  हुन लागी सक्यो । तर पढ्न नपाउँदै कोरोना देशमा प्रवेश गरेर लकडाउन भएपछि पढाइ अस्तव्यस्त बनेको छ । उनको दिदी शर्मिला भन्छिन्, ‘चैतमा परीक्षाको फर्म भरिसके तर पढेको एकरत्ति छैन, अनलाइन कक्षामा पनि सबै साथी उपस्थित नहुनाले पढाई हुन सकेन ।’ एउटै कक्षामा साढे दुई वर्ष बस्दा पनि पढाई पुरा नभएको तथा चार वर्षको कोर्स ७ वर्षमा धकेलिने हो कि भन्ने चिन्ता उनले व्यक्त गरिन् । 

यति बेला तेस्रो वर्षको किताब पढ्नुपर्ने स्नातक पहिलो वर्षका विद्यार्थी लकडाउन र कोरोनाले गर्दा एउटै कक्षामा अल्झिन परेकोले भविष्य नै अन्योलमा पर्ने डर उनमा छ। 

यो बेला युवाका मानसपटलमा  पढाइको चिन्ता देखी पारिवारिक चिन्ता हुनु स्वाभाविक हो ।  लकडाउनका समय धरै थुनिनु पर्दा छटपटी, पिर, तनाव हरेक व्यक्तिलाई भइरहेको छ ।  किशोर अवस्थामा रहेका व्यक्तिहरूलाई यो सजिलो समय छैन । त्यसमाथि सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखिने नकारात्मक सामाग्रीहरूले त झन् अप्ठ्यारोमा पारिदिन्छ ।  स्कुल बन्द गरिएका छन्  ।  इभेन्टहरू क्यान्सिल भएका छन् । दिनदिनै भेट हुने, गफसफ गर्ने साथीसँगी छुटेका छन् । यस्तो बेलामा चिन्ता लाग्नु, अतासिनु, निराश हुनु सामान्य कुरा हो । त्यसैले के नबिर्सिनुस् भने यस्तो अनुभव गर्ने तपाईँ एक्लै मात्रै हैन । तपाईँका धेरै साथी सँगीलाई पनि यस्तै लागिरहेको छ भन्ने युनिसेफले गरेको अध्ययनले प्रस्ट पारेको छ ।

यसमा टिपिओ नेपालकी परामर्शदाता पार्वती श्रेष्ठ पनि किशोर अवस्थामा हिँडिरहेका हरूलाई यो बेला क्रियटिभ हुन तथा नयाँ-नयाँ कुराहरू सिक्न प्रेरित गर्छिन् । अहिलेको समयमा  किसोरवस्थाले सामाजिक सञ्जालका गलत सूचनाबाट बच्नुपर्ने उनको भनाई छ । कोरोनाका कारण मुलुकमा हुने सम्पूर्ण गतिविधिहरू बन्द छन् । परिणामस्वरूप,  नेपालका लाखौँ बालबालिकाको शिक्षा र भविष्य जोखिममा परेको छ । भने मानिसहरू आर्थिक मन्दीको सिकार बन्दै छन् । देश पुरानै अवस्थामा फर्किनुपर्ने प्राथमिकतामा रहे तापनि धेरै क्षेत्रमा लगातार फैलिरहेको महामारी सङ्क्रमणको जोखिमका कारण, यसका  निम्ति योजना बनाउने, कार्यान्वयन गर्ने र अनुगमन गर्ने काम अझै पनि चुनौतीपूर्ण रहेको छ । 

जसले गर्दा मानिसहरू दैनन्दिन मानसिक रोगको सिकार हुँदै छन् ।  हरेक घरमा तनावका रोगी बढ्न थालेको जिकिर गर्दै परामर्शदाता श्रेष्ठ भन्छिन् यसको बेलैमा निराकरण गर्ने जरुरी छ ।

मानसिक स्वास्थ्य कसरी सुधार गर्ने

युवावस्था उसै पनि सजिलो छैन । हामी युवाहरू आफ्नो जीवन  फरक तरिकाले बाँचिरहेका हुन्छौं ।

सामान्य अवस्थामै हामीले आफ्नो मानसिक हालतलाई ठेगानमा राख्न सकिरहेका हुँदैनौ, यो कोरोना भाइरसले त  झनै अप्ठ्यारोमा पारिदिएको छ । हामी चाहे पारिवारिक अवस्था देखेर होस् वा आफ्नो भविष्यबारे सोचेर हरेक क्षण तनाव र दुखमा व्यतीत गरिरहेका र्छौं  । हामी आफ्नो जीवनको असाध्यै महत्त्वपूर्ण क्षणहरूबाट वञ्चित भैरहेका छौँ । 

हामीले अन्जानमै भए पनि विभिन्न  स्वस्थ मानसिक जीवन बिताउन पाइरहेका छैनौं । मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुधिरहेका युवाले यस प्रकारका चुनौतीहरू अझ बढी सामना गरिरहेका छन् । कोभिड-१९ र  निषेधाज्ञाले निम्त्याएको परिस्थितमा आफूलाई ढाल्न सकिरहेका छैनौं र मनोबल खस्किँदै छ । यी कुरा गर्दा सामान्य भए पनि यस्ता चुनौतीहरू युवा अवस्थामा फेस गर्नुपरेकाले यसको असर जिवनभर पर्ने विज्ञहरू बताउँदै आएका छन् । 

हो, हामी आफूले भोगीरहेका तनावका बारेमा अरूलाई भन्न हिच्किचाउँछौं । अरूलाई सुनाउँदा के भन्ने हुन् भन्ने डर मान्छौं । तर त्यसो गर्नाले आफू झनै दलदलमा फसिने मनोविज्ञ श्रेष्ठ बताउँछिन् । किनभने मानसिक स्वास्थ्य महत्त्वपूर्ण छ । यदि हामीले अरूलाई भन्न नचाहेको खण्डमा घरमै बसेर पनि तनावलाई कम गर्न  सकिन्छ । 

त्यसका लागी हामीले अहिले देखी नै प्रयास गर्नुपर्छ । तपाईँको सुन्दर र स्वस्थ भविष्यका लागी मानसिक स्वास्थ्य स्वस्थ हुन पनि त्यतिकै जरुरी छ ।

तसर्थ मनोविज्ञ श्रेष्ठले सुझाएका  तनावसँग जुध्न गर्न सकिने केही उपायहरू :

१) पारिवारिक  सम्बन्धहरूलाई सुदृढ पार्नुहोस्। ससाना चिजहरूमा दुखी नहुनुहोस्। एक अर्कासँग कुरा गर्नुहोस् । चाहे त्यो सामाजिक सञ्जालमै भेटिएको व्यक्ति किन नहोस्, अरूको ख्याल गर्नुहोस्। नकारात्मकता बारेमा छलफल कम गर्नुहोस्।

२) बिहानको घाममा उभिएर सूर्यको किरणलाई  महसुस गर्नुहोस् । 

३) तनाव भएका कुराहरूलाई एउटा डायरीमा लेख्नुहोस् । यदि त्यसो गर्दा अरूले देख्छन् जस्तो लाग्छ भने मोबाइलमै नोट बनाएर राख्न सक्नुहुन्छ ।  धेरै रिस उठेको भए कागजमा पेन्सिलले तनाव भागुन्जेल कोर्नुहोस् अनि त्यसलाई च्यातेर फाल्नुहोस् । 

४) आफ्ना भावनाहरू व्यक्त गर्ने डर नमान्नुहोस् । डर, उदासीनतालाई साथी तथा परिवारको मिल्ने व्यक्तिलाई सुनाउनुहोस् । आफ्नो रिस पोख्नका लागी कुनै क्रियटिभ तरिका अपनाउनुस् जस्तो चित्र बनाउने । त्यो बेला मनमा आउने भावनालाई कथाका माध्यमबाट व्यक्त गर्ने जस्ता कार्य गर्ने  पनि सक्नुहुन्छ । 

५) यो मौकामा आफूलाई चिन्नुहोस् । आफूले गरेका हरेक कामहरूमा प्रश्न उठाउनुहोस्, सुधार गर्नुपर्ने भए तुरुन्त सच्याउनुहोस् । यदि आफूले राम्रो  काम गरे जस्तो लागेमा आफूले आफूलाई स्याबासी दिनुहोस् । किनभने तपाईँको साथी तपाईँ मात्रै हो । अरूले साथ छोड्छन् तर आफूले आफ्नो साथ कहिल्यै छोडिदैंन । आफ्नो साथी बन्नुहोस् । एकान्तमा आफैंसग कुरा गर्नुहोस् ।

६) सामाजिक सञ्जाल कम चलाउनुहोस् । किनभने तपाइलाई चिन्तित तुल्याउने ४० प्रतिशत विषयवस्तु त्यहीबाट उब्जाउ हुन्छन् ।

  ७) योगा, व्यायाम जस्ता कुराहरू पनि दिनहुँ समय तालिका बनाएर गर्नुहोस् ।

८) यस्तो समस्यामा पर्ने म एक्लो मात्रै होइन भनेर आफुलाई सम्झाउनुस् । किनभने तपाई एक्लो व्यत्ति मात्रै यो बेला चिन्ता र तनावमा हुनुहुन्न ।

मनोविज्ञ  श्रेष्ठ भन्छिन्, स्वास्थ्य मन्त्रालयले  कोरोनासंक्रमित भैसकेपछि अथवा  मानसिक समस्यासँग जुधिरहेको व्यक्तिको सहयोगका लागी निःशुल्क हेल्पलाईन सञ्चालनमा ल्याएको छ । हामी जोकोहीलाई तनाव भइरहेको अवस्थामा निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।

११३० रेड क्रस सोसाइटी । टीपीओ नेपाल १६६००१०२००५ । टीचिङ अस्पताल १६६००१२१६०० । छहारि नेपाल ९८५११८३७७३ ।

No description available.