रामेछाप । रामेछाप सुनापती गाउँपालिका ५ खनियापानीमा दुई अध्यक्षबिचको चर्को विवादले खानेपानीको हाहाकार भएको छ । सि.डि.एस् संस्था र वडाको संयुक्त लगानिमा दुई बर्ष भित्र आयोजना सम्पन्न गर्ने गरि २०७४ सालमा सुरु भएको लामपाते लिफ्ट खानेपानी आयोजनाको काम तत्कालीन अध्यक्ष सुरेश रोकाको अध्यक्षतामा करिब पन्चानब्बे प्रतिशत काम सम्पन्न भएको थियो । पाँच प्रतिशत काम बाँकी हुँदा स्थानीय जनप्रतिनिधि सुनिता रोकाका श्रीमान भोलाराज रोकाले दादागिरी शैलीमा अध्यक्ष पद हत्याएर आयोजनामा चर्को अनियमितता गर्दै आएको स्थानीयको आरोप छ ।

अन्तिम चरणमा पुगेको आयोजनामा सुरेश रोकाबाट अध्यक्ष पद खोसेका भोलाराजले अहिले सम्म उपभोक्ता लाई पानी दिएका छैनन् ।  खानेपानी उपभोक्ताले खानेपानीको माग गर्दा  वेवास्ता गर्ने भोलाराजको ध्यान आर्थिक अनियमिततामा केन्द्रित देखिएको छ । खानेपानी आयोजनामा भएको अनियमितता बारे स्थानीय निकायलाई स्थानीय जनताले जानकारी गराउदापनी वर्तमान अध्यक्ष भोलाराज रोकाको श्रीमति जनप्रतिनिधि भएकाले स्थानिय निकायले समेत बेवास्ता गरेको भन्दै स्थानीय उपभोक्ता आक्रोशित छन् ।

उपभोक्ता संख्या एकसय दुई रहेको खनियापानी-५ मा वर्तमान अध्यक्ष भोलाराज रोकाको टोलमा करिब पैसठ्ठी घरका लागि खानेपानीको आन्तरिक स्रोत भएको र बाँकी  घर लाई खानेपानीको बलियो स्रोत नहुदा उक्त घरधुरीमा खानेपानीको  हाहाकार बनाउन स्थानिय केही ब्यक्तिहरुले ‘घर-घर मा धारा पुगोस् तर पानी नपुगोस’ भन्दै वर्तमान अध्यक्ष भोलाराज रोकालाई उकास्ने गरेको खानेपानी बाट बन्चित उपभोक्ताहरुको आरोप छ ।

वडाको पैसा ब्यक्तिगत ब्याजमा लगाउदै अध्यक्ष भोलाराज

खानेपानी आयोजना अध्यक्ष भोलाराज रोकाले अनियमितताको हद पार गरेका छन् । बैठकमा हिसाबकिताब देखाउदा अत्यधिक अनियमितता देखिदा अध्यक्ष भोलाराजले उपभोक्तालाई पारदर्शी हिसाब बुझाउन सकेका छैनन् । उपभोक्ताहरुले जीएनन नेपाललाई बताए अनुसार वडा र सि.डि.एस् संस्थाबाट आएको रकम ब्यक्तिगत ब्याजमा लगाएर ब्याज खाने गरेको पाइएको छ ।

खानेपानी अध्यक्षको दादागिरी 

खानेपानी आयोजनामा चरम अनियमितता गरेका भोलाराज रोकाले आफुलाई कसैले मुद्दा हाले पनि नलाग्ने धम्की दिने गरेका छन् । स्थानीय उपभोक्ताहरुका अनुसार सार्वजनिक रुपमै अध्यक्ष भोलाराजले ‘म जनप्रतिनिधिको श्रीमान हुँ’ भन्दै आफुलाइ कसैले मुद्दा हाल्न नसक्ने धम्की समेत दिने गरेका छन् । खानेपानी अनियमितता र ढिलासुस्तीबारे  जीएनएन नेपालले खानेपानी अध्यक्ष भोलाराजलाई सम्पर्क गर्दा नाजवाफ हुँदै उनी सम्पर्कविहीन भएका थिए । जिम्मेवारीपूर्वक जवाफ दिन नसकेपछि भोलाराजले सम्पर्कमा आउन इन्कार गरेका छन् । 

जनप्रतिनिधि सुनिता रोका द्वारा उपभोक्तालाई बैठकमै गालीगलौज

खानेपानी आयोजना अध्यक्ष भोलाराज रोकाकी श्रीमती वडा सदस्य सुनिता रोकाले बैठकमा उपभोक्तालाई गालीगलौज गर्दै श्रीमानको बचाउ गरेकी छिन् । उपभोक्ताहरुले आर्थिक अनियमितताबारे कुरा उठाउँदा सुनिता रोकाले उल्टै उपभोक्तालाई गाली गलौज गरेको उपभोक्ताहरु बताउछन । अध्यक्ष भोलाराज रोकाले जनप्रतिनिधि सुनिता रोकाको आडमा खानेपानी आयोजनामा चरम आर्थिक अनियमितता गर्ने गरेको उपभोक्ताले जीएनएन नेपाललाई बताएका छन् ।

स्थानीय निकाय समेतको मिलेमतो ?

खानेपानी समस्या र चरम अनियमितताबारे स्थानीय निकायलाई स्थानीय जनताले जानकारी गराउदा पनि वर्तमान अध्यक्ष भोलाराज रोकाको श्रीमती जनप्रतिनिधि भएकाले स्थानीय निकायले पनि बेवास्ता गरेको स्थानीय बताउछन् । स्थानीय निकाय मौन बस्दा स्थानीय निकायका प्रतिनिधिहरु समेत उक्त आयोजनाको अनियमिततामा संलग्न रहेको हुन सक्ने स्थानीय उपभोक्ताहरुको आशंका छ । यस विषयमा जीएनएन नेपालले सुनापती गाउँपालिका अध्यक्ष धावा लामालाई सम्पर्क गर्दा उपभोक्ताबाट गाउँपालिकामा  निवेदन आएको र यस विषयमा आफुले आवश्यक छानबिन गरेर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन ।

चरम आर्थिक अनियमिततामा स्थानीय निकाय किन मौन ?

खानेपानीमा भएको आर्थिक अनियमितता र ढिलासुस्तीबारे  स्थानीय निकायलाई उपभोक्ताहरुले निवेदन पेश गर्दा समेत स्थानीय निकाय मौन बस्दै आएको छ । चरम आर्थिक अनियमितताको जानकारी हुँदा समेत स्थानीय निकाय मौन बस्नुले अहिले स्थानीय निकायको समेत मिलेमतो देखिएको स्थानीय बताउछन । वडा नं ५ का वडा सदस्य प्रेम सागरले खानेपानीबाट बन्चित उपभोक्ता सन्तुष्ट नभएको स्वीकार गरेका छन् । खानेपानी अध्यक्षको अनियमितता बारे प्रश्न गर्दा उनले जीएनएन नेपाललाई भने ‘हामी आवश्यक छानबिन गर्छौ र दोषी भेटिए आवस्यक कारबाही अगाडि बढाउछौं’। यस संगै गाउँको आदि भु-भागमा खानेपानीको आन्तरिक स्रोत भएको र उपभोक्तालाई खानेपानीबाट बन्चित गराउने खेल स्थानीय बुद्धिजीवीबाट भएको उनले स्वीकार गरेका छन् ।

नवनिर्मित ट्यांकीसहितको धारामा पानी आउँदैन

उक्त खानेपानी आयोजना सम्पन्न गर्न वडाबाट  सुरेश  रोकाको कार्यकालमा १६ लाख रुपैयाँ रकम बिनियोजन भएको थियो । आयोजनामा सिडिएस संस्थाले बालुवाको शिर्षकमा ३७ हजार, ट्रान्समिटर मिस्त्री ज्याला शिर्षकमा ४८ हजार बजेट उपलब्ध गराएको थियो भने स्थानीय उपभोक्ताबाट ६० हजार रकम असुली गरेका थिए । सुरेश रोकाले आफ्नो कार्यकालमा तत्काल एकमुष्ट हिसाब बुझाउन सकेका थिएनन् ।  लामो समयपछि  मात्र जनतालाई  हिसाब  बुझाउदा पुर्व अध्यक्ष सुरेश रोकाको कार्यकालमा पनि आर्थिक अनियमितताको गन्ध आएको स्थानीय उपभोक्ता बताउँछन् ।

वडाबाट खानेपानीका लागि तेस्रोपटक छुट्याईएको १० लाख रकम वर्तमान अध्यक्ष भोलाराज रोकाले बुझिलिएका थिए । निर्माण कार्य सम्पन्न गर्न सिडिएस संस्थाबाट ९६ हजार रकम आएको थियो भने स्थानीयहरुबाट करिब २ लाख सहित जम्मा रकम १३ लाख ६ हजार मध्य करिब ४ लाख बराबरको रकम खर्च गरि बाँकी रकमको काम नगरी उपभोक्तालाई खानेपानीको हाहाकार बनाउदै आएका छन् । करिब १३ लाख रकम लिएर ८८ वटा घरमा धारो मात्रै बनाएर राखेका भोलाराजले आजसम्म कसैको घरमा पानी झार्न सकेका छैनन् । बाकी रकम अनियमिता गरेको र जनताको सामु सबै पैसा ८८ वटा धारा बनाउदा सिद्दिएको भन्दै नक्कली हिसाब पेस गरेको देखिएको छ ।

अध्यक्षले अनियमितता गरेको रकमको हिसाब किताब

पुर्व अध्यक्ष सुरेश रोकाको कार्यकालमा आयोजनाको काममा  पैसा सकिएर कामदारलाई दिन बाकी ज्याला वर्तमान अध्यक्ष भोलाराजले नतिर्ने भन्दै हिड्ने गरेको स्थानीय बताउछन् । काम गर्ने कामदारलाई ४ बर्ष बितिसक्दा पनि ज्याला नतिरेका भोलाराजलाई  पटकपटक दबाब दिदा पनि वेवास्ता गर्ने गरेको उपभोक्ताको गुनासो छ । उपभोक्ताको चर्को  दबाबपछि हिसाब देखाएका भोलाराज रोकाले हिसाबमा अत्यधिक अनियमिता र केरमेट गरेको देखिएको छ ।