काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्यांकनन परिषदको बुधबार सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

‘तपाईहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,’ मन्त्री श्रेष्ठको निर्देशन थियो ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखि नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए ।