काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश गरेको छ । संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो ।

बुधबार बसेको इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । इजलासले असार ९ गते सरकारलाई प्रतिनिधिसभा विघटन गर्नुको ‘कारण देखाउ’ आदेश जारी गरेको छ । यसअघि पुष ५ को प्रतिनिधिसभा विघटनमा पनि इजलासले एमिकस क्युरीको राय लिएको थियो ।

के हो एमिकस क्युरी ?

एमीकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो । इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमीकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।