काठमाडौं । नेकपा (एमाले)को माधव समूहका १७ सांसदलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले प्रदेश सभामा संसदीय दलका नेता प्रकाशबहादुर सिंहसहित १७ प्रदेश सभा सदस्यलाई सो स्पष्टीकरण सोधेका हुन् । उनीहरुले सुदूरपश्चिम प्रदेश सरकार जोगाउन विश्वासको मत दिएको भन्दै सो स्पष्टीकरण सोधिएको हो ।

सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार विश्वासको मत लिएका थिए । एमाले नेता माधवकुमार नेपाल पक्षका १७ प्रदेश सभा सदस्यले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिए, जसका कारण माओवादी केन्द्रको नेतृत्वको प्रदेश सरकार जोगिएको थियो । प्रदेश सभामा कमजोर रहेको ओली पक्षले भने विपक्षमा मतदान गरेको थियो ।