कचनकवल गाउँपालिका–४ दले गाउँका नासिफ मियाँलाई नेपालीभन्दा भारतीय छिमेक नजिक पर्छ। मियाँको घरको छानाको पानी भारतीय छिमेकीको आँगनमा खस्छ। त्यसैले सीमा विवाद भइरहँदा पनि उनी छिमेक सम्बन्ध नबिगारी बसेका छन्। नेपालमा लकडाउन, नाकाबन्दी हुँदा तिनै छिमेकीले रासन दिएर बचाउँछन्। अनि ती छिमेकीसँग उनी किन बाँझ्छन् र ?

निषेधाज्ञामा पसल खुल्दैनन्। यस्तोे अवस्थामा भारतका छिमेकीले लुकिछिपी रासन ल्याएर नेपालीलाई नबेच्ने हो भने उनीहरूको छाक कसरी टथ्र्यो र ? मियाँले गत सालको कोरोनाको लहर सम्झिए। नेपालमा गत वर्ष कोरोना महामारीका कारण गरिबले खान नपाएको उनले पनि सुने। तर, सरकारले सीमा क्षेत्रका बासिन्दालाई खाद्यान्न छ–छैन भनेर सोधखोज गरेन। सीमामा जोडिएरै बसेका ३४ घरका नेपाली आर्थिक रूपले सम्पन्न छैनन्। उनीहरूसँग जग्गाजमिन थोरै छ। भरपर्दो जागिर कमैको मात्र छ। तर, आफ्नै सरकारले वास्तै नगरेको गुनासो उनीहरूको छ। भारतीय छिमेकीकै कारण उनीहरूलाई खाद्यान्न अभाव कहिल्यै पनि भएन। मर्दाको मलामी र जिउँदाको जन्ती भएर बसेका सीमा क्षेत्रका दुवै देशका बासिन्दाबीच प्रगाढ सम्बन्ध छ। पश्चिममा झैं चरम सीमा विवाद पूर्वमा नपरे पनि भावनात्मक असर भने बेलाबखत पर्ने गरेको स्थानीय सुनाउँछन्। झापाको पूर्वी सीमा क्षेत्र इलामबाट गौरीगन्जसम्मका नेपाली अधिकांश भारतीय बजारमा निर्भर छन्। उनीहरूलाई हरेक कुरा नेपालभन्दा भारतसँग सरोकार हुन्छ। छोरीचेलीको बिहेवारी चल्छ। तरकारी ऐचोपैंचो चल्छ।

देशमा नाकाबन्दी र महामारी हुँदा सीमा छेक्न सुरक्षाकर्मी खटाउने गरिन्छ। सीमा नाका बाहिरी रूपमा छेकिए पनि ठप्पै पार्न भने नसकिने सुरक्षाकर्मी बताउँछन्। ‘सीमा क्षेत्रका बासिन्दाको मेलमिलाप एकदमै अनुकरणीय छ’, कचनकवलको पाठामारी क्षेत्रस्थित सीमा सुरक्षार्थ खटिएका प्रहरी फणीन्द्र अधिकारी भन्छन्, ‘बरु हामी दुवै देशका सीमा सुरक्षाकर्मीको कुनै व्यवहारमा टसमस हुन सक्छ। तर, स्थानीयबीच सीमालाई लिएर विवाद भएको देखिँदैन।’ नाकाबन्दीका बखत पनि झापाको दक्षिणी भेगका नेपालीलाई सीमावर्ती भारतीयले नै सहयोग गरेको उनी सुनाउँछन्। भन्छन्, ‘खाद्यान्न अभाव हुँदा पनि सीमा क्षेत्रका भारतीयले आफ्नो रासन कार्डबाट ल्याएको सामानसमेत नेपालीलाई पैंचोका रूपमा बाँडेर खाने गर्थे।’ नजिकै ११२ नम्बर सीमा स्तम्भ छेउमा सँगसँगै भेटिए नेपाली र भारतीय युवाहरू । उनीहरू यसरी नै दैनिक केही छिन् भेला भएर आपसी समस्या र अन्य विषयमा भालाकुसारी गर्छन् । भारतसँग सीमा जोडिएको टापु मेचीपारिका बासिन्दा कोरोना महामारीमा करिब–करिब एक्लिएका छन्। उनीहरूलाई नेपाल अथवा भारत दुवै देशको नाकाबन्दी र लकडाउनले प्रत्यक्ष प्रभाव पार्ने गर्छ। वर्षौंदेखि टापुमा एक्लिएका उनीहरूलाई महामारीका बखत नेपालतर्फ आवत–जावत गर्दा नेपालीले नै मन पराउँदैनन्। ‘नेपालीहरू नै यिनीहरूको भारतसँग साँठगाँठ छ’, मेचीपारिकी मीना राजवंशी भन्छिन्, ‘हामी नेपाली गाउँमा नछिरिदिए हुन्थ्यो भनेजस्तो गर्छन्। बरु भारततिर सीमा प्रहरीलाई भन्दा जान नदिने समस्या हुँदैन।’

जब देशमा बिपद् आउँछ मेचीपारिका नेपाली उक्त टापुमै रहन्छन्। भारतीय छिमेकीसँग उनीहरूको सम्बन्ध अत्यन्तै सुमधुर छ। भद्रपुर नगरपालिका–३ मा पर्ने उक्त गाउँमा महामारीका बखत भारतीय छिमेकीले रासन कार्र्डबाट खरिद गरेर ल्याएको सामानले जीविकोपार्जन गर्छन्। तर, उनीहरूकहाँ नयाँ पाहुना गए भारतीय सीमा प्रहरीले ‘आतंककारी’ राखेजत्तिकै गरी व्यवहार गर्छन्। राजवंशी भन्छिन्, ‘सायद नेपालबाट भारतीयहरू जतिसुकै मित्रता देखाए पनि असुरक्षित महसुस गर्छन्।’ मेचीपारिका ७५ वर्षीय राजपाल गणेश भारतसँग हामी नेपाली कहिल्यै पनि जुध्न नगएको बताउँछन्। ‘जुध्ने हाम्रो इरादा पनि थिएन। त्यसो त सीमा क्षेत्रका भारतीयले पनि हामीलाई नराम्रो व्यवहार गरेका छैनन्’, करिब ४० वर्षअघिको घटना सम्झिँदै गणेश भन्छन्, ‘सुकुम्बासी खालका भारतीय आएर बेलाबखत हाम्रा गाईवस्तु फुकाएर लैजान्थे। त्यति बेला कसैको घरमा गतिलो वस्तु देख्नै नहुने।’

नेपाल–भारत सीमा क्षेत्र खुला रहँदै आएको छ। दुवै देशको सीमा क्षेत्रका बासिन्दामा मित्रवत् व्यवहार हुनाले पनि उनीहरूलाई अलग्गै देशका हौं भन्ने देखिँदैन। स्थानीयका अनुसार दुवैतिर बिहेबारी हुँदा सबै मिलेर सहयोग गर्छन्। इद, बकर इद, कृष्णअष्टमी, रामनवमी, दीपावलीजस्ता चाडपर्व पनि दुवै देशका नागरिक एकै स्थानमा भेला भएर मनाउँछन्। ‘त्यति बेला सीमामा सुरक्षाकर्मी पनि थिएनन्। सीमा खुला थियो। सीमाको महत्व धेरै पछि हुन थाल्यो’, गणेश भन्छन्, ‘अहिले भारतले पनि सीमामा फौज राखेको छ। नेपालले पनि सशस्त्र र प्रहरीको क्याम्प राखेको छ।’ भारततिर ३५ घर र नेपालतिर ३० घरका बीचमा सीमा रेखा त छ तर यहाँका बासिन्दालाई त्यसले छेक्दैन । तिनैमध्येकी एक हुन् नेपालतर्फकी ७२ वर्षीया गुलाबो आलम, जो आफ्नो घरअगाडि रूखको छहारीमा आफ्ना नातिनातिना र भारतीय छिमेकीका छोराछोरी एकसाथ हेरिरहेकी थिइन् । गाउँमा यतिखेर मकै थन्क्याउने चटारो छ । दुवै तिरका छिमेकीहरू काममा गएकाले उनले बालबालिकाको एकसाथ हेरचाह गरेकी हुन् ।

नेपालीहरू निषेधाज्ञाका बेला खाद्यान्न अभाव हुँदा लुकीछिपी पुग्ने भनेको भारतीय बजार नै हो। पाठामारी क्षेत्रको १ सय १२ नम्बर पिलर आसपास बस्ने रमेश शर्मा भन्छन्, ‘हाम्रा छोरीचेली छिमेक भारततिरै छन्। घरमा केही रासन सकिन्छ, छोरीबाट मगाउँछौं।’

अन्नपूर्ण पोस्ट दैनिक