मेरो लागि रहरको सहर थियो काठमाडौँ। लाग्थ्यो एकचोटी पसेपछि मैले मेरो जिन्दगी साकार बनाउने छु। यी ठुला, ठुला भवनहरू बिच एउटा आफ्नो घर बनाउने छु, एउटा छुट्टै संसार बनाउने छु। सुनेको थिए, हरेक कुरा बिक्छन् अरे काठमाडौँमास म आफ्नो पसिना बेच्ने अठोट बोकेर त्यो रात सुटुक्क निस्केको थिए ।  काठको घर देखि कन्क्रीटका महलहरू सम्मको यात्रामा। घर, परिवार सबै त्यागेर सपनाको एउटा पोको बोकेर हिडेको थिए म। जिन्दगीले यती त सिकाइसकेको थियो कि सिक्काको भरमा संसार चल्दैन। जिन्दगीको गाडी पैसाको इन्धन बिना अघि बढ्दैन। मलाई चलाउनु थियो जिन्दगी र त्यसको लागि मलाई कमाउनु थियो टन्न पैसा। पैसाको बोट छ अरे भन्ने सुनेको थिए काठमाडौँमा। त्यही बोटको नोट टिप्न चढेको थिए म त्यो रात काठमाडौँसम्मको रात्री बस । 
 
बिहानपख टेके मैले मेरो सपनाको सहर। कलङ्कीमा एक जना चिनजानका दाइ थिए। उनैलाई फोन गरे। केही दिनलाई बस्ने बाँस र घुमाइदिने साथी बनिदिए उनी। रत्नपार्क, चाबहिल , बौद्ध , स्वयम्भू , राजाको दरबार अनि सारा सहर देखेर दङ्ग थिए म। तर सधैँ घुमेर मात्र साध्य थिएन। सबैभन्दा जरुरी अब थाइ  बाँस खोज्नु थियो मलाइ। सधैभरी उनै दाइ कहाँ बस्न सम्भव थिएन।

आउन त आए तर यी ठुला ठुला घरहरू बिच मेरो बस्ने बाँस थिएन, यी लाखौँ मान्छेको सहरमा मेरो अरू कोही आस थिएन। बाको बाक्साबाट निकालेको ती दश वटा हजारका नोटहरू घट्दै थिए अनि सँगसँगै घट्दै थिए मेरो काठमाडौँ प्रतिको मोह।  मेरो सपनाको रङ्गिन काठमाडौँ रङ्गहीन लग्न थाल्दै थियो मलाई। लाख कोसिस पछि असनमा एउटा सानो कोठा र सामान बोक्ने काम भेट्टाए। दिनभरी भारी बोकेर पनि पेट भर्न धौ-धौ पर्थ्यो कहिले काहीँ। र कहिले कहिँ थाकेको शरीरले बिर्सिन्थ्यो त्यो भोको पेटलाई। भोकले पेट कराइरहँदा म आमाले ‘कान्छा, खाना खान आइज’ भनेर कराएको सम्झिन्थे। दिनभरि खैँचिएर भारी बोक्दा बाले बोकेको जिम्मेवारी सम्झिन्थे। त्यो सानो कोठामा म मेरो सानो गाउँ सम्झिन्थे जहाँ म ठुलो भएको थिए। म फर्किन चाहन्थे तर सक्दिन थिए।

सारा चिज छोडेर आएको म जान सक्दिन थिए केही पनि नजोडी। मलाई जोड्नु थियो नाम, दाम अनि इमान। यिनै चिज जोड्न मलाई जोड्नु थियो काठमाडौसंग काँध मिलाउने हिम्मत। आज वर्षौँ बितिसक्यो काठमाडौँमा पाइला टेकेको। केही बद्लिएको छ अवस्था। कोठा थोरै ठुलो भएको छ, भारी बोक्नेबाट जागिर पसलमा सरेको छ, कमाइ थोरै बढेको छ। तर एक चोटि पनि फर्केर हेर्न सकेको छैन छोडेर आएको गाउँ।

सम्झना त आउँछ सेतै फुलेका बा-आमाको तर कताकता काठमाडौँले मलाई कठोर बनाएको छ।