सारसङ्क्षेप

प्रस्तुत अध्ययन साहित्यको विश्वदृष्टिसँग सम्बन्धित छ । साहित्ययको माक्र्सवादी चिन्तनमा आधारित विभिन्न दृष्टिकोणहरुमध्ये विश्वदृष्टि प्रसिद्ध फ्रान्सेली चिन्तक लुसिएँ गोल्डमानद्धारा प्रतिपापदित सिद्धान्त हो । यसले कृतिभित्र एउटा वर्ग वा समुदायको जीवनजगत्का बारेको सामूहिक बयान गर्दछ । कृतिमा कही त्रासदीय दृष्टि, कही विद्रोहको चेतना, कहीँ घृणाको भाव कसरी पैदा हुन्छ ? साहित्यको समाजशास्त्रीले यी प्रश्नको समाधान खोज्छ । यसरी उनले साहित्यिक कृति र इतिहासका बीच विश्वदृष्टिका स्तरमा संरचनात्मक सम्बन्धको खोज गरेका छन् । प्रस्तुत अध्ययन यही मान्यताका आधारमा छापामारको छोरो कथा केन्द्रित छ । नेपालको राजनैतिक इतिहासमा दशवर्से जनयुद्धका नामबाट परिचित द्वन्द्वकालीन समयलाई चित्रण गरिएको छ । यहाँ गोल्डमानको विश्वदृष्टि सम्बन्धी यसेैै मान्यतालाई आधार बनाएर छापामारको कथासङ्ग्रहको विश्लेषण गरिएको छ ।

विषय परिचय

कथाकार महेशविक्रम शाह (२०२२) आधुनिक नेपाली कथाको समसामयिक धाराका कथाकार हुन् । छोटो उमेरमा साहित्य रचनातिर उन्मुख भएका शाहका हालसम्म सटाहा (२०५३), सिपाहीकी स्वास्नी (२०५९), अफ्रिकन अमिगो (२०६०), छापामारको छोरो (२०६३), काठमाडौँमा कामरेड (२०६५), ज्याक्सन हाइट (२०६९) र भुइँखाट (२०७४) गरी सातओटा कथा सङ्ग्रहहरु प्रकाशित छन् । पेशाले नेपाल प्रहरी सेवामा कार्यरत शाह हाल प्रहरी उपरीक्षक पदमा बहाल रहेका छन् । शिक्षातर्फ हेर्दा विज्ञान, न्याय, सार्वजनिक प्रशासन मानवशास्त्रको विषयहरुमा ज्ञान हासिल गरेका छन् । यसरी साहित्यभन्दा इतर विषयमा ज्ञान हासिल गरेका र पेशाले समेत कठोर मानसिकता बनाउनुपर्ने क्षेत्रमा लागेका कथाकार शाहमा साहित्य सिर्जनाको क्षमता यति धेरै रहनु आफैमा अनौठो पक्ष देखिन्छ । उनका कथामा विभिन्न खालका वर्ग, समुदाय, संस्कृति, राष्ट्रिय तथा अन्तराष्ट्रिय युद्धका कारण समाजमा बाँच्नका लागि मानिसहरुले गर्नुपरेको सङ्घर्षको अवस्थालाई अभिव्यक्त गरिएको छ । द्वन्द्वका कारण र त्यसको आपसी सद्भाव, मेलमिलाप, ऐतिहासिक पृष्ठभूमि भन्दा त्यसले सिर्जना गरेका विखडण्नको चित्रणमा नै उनी केन्द्रित देखिन्छन् । उनका यस्तै कथा मध्येको एउटा छापामारको कथासङ्ग्रह द्वन्द्वको विषयवस्तुमा लेखिएको कथा हो । प्रस्तुत आलेखमा साहित्यका समाजशास्त्रीय व्याख्याता लुसिएँ गोल्डमानका विश्वदृष्टि सम्बन्धी मान्यतालाई आधार बनाएर त्यसै कोणबाट यस कथासङ्ग्रहको विश्लेषण गरिएको छ ।

सैद्धान्तिक आधार

लुसिएँ गोल्डमान (सन्१९१३–१९७१) नवमाक्र्सवादी फ्रान्सेली चिन्तक हुन् । माक्र्सवादका विचार तथा सिद्धान्तबाट प्रभावित भएर उनले माक्र्सवादको वर्गसङ्घर्ष र वर्गचेतना सम्बन्धी मान्यतामा फरक दृष्टि राख्दै उनले आफ्नो साहित्य सम्बन्धी चिन्तनलाई समाजशास्त्रीय स्वरुप दिने काम गरेका छन् । यसै परिपेक्ष्यमा उनलाई साहित्यिक समाजशास्त्री वा साहित्यको समाजशास्त्रका व्याख्याताका रुपमा चिनिन्छ । उनको सिद्धान्तलाई उत्पत्तिमूलक संरचनावाद भनिन्छ । यसभित्र साहित्य विश्लेषणका विभिन्न आधारहरु छन् तर ती मध्ये विश्वदृष्टि उनको प्रमुख मान्यता हो । उनी के भन्छन् भने प्रत्येक कृति लेखकको सिर्जना हो र त्यसले लेखकका विचार तथा अनुभूतिलाई व्यक्त गर्छ तर त्यो लेखकको नितान्त आफ्नो मात्र हुँदैन । लेखक समाज तथा वर्गका अन्य व्यक्तिको चिन्तनबाट प्रभावित हुन्छ र उसले आफ्नो वर्ग, समुदाय, समूह र समाजका अन्य व्यक्तिहरुका विचार र भावनासँग जोडेर प्रस्तुत गर्छ । त्यो लेखकको निजी निर्मित होइन, अपितु त्यस वर्ग वा समुदायका अन्य व्यक्ति पनि त्यस विश्वदृष्टिमा सहभागी हुन्छन् र एउटा वर्ग समुदायको पूर्णतम संभावित चेतनाबटै विश्वदृष्टिको निर्माण हुन्छ । विश्वदृटिको यो धारणा गोल्डमानको समाजशास्त्रको मूलभुत पक्ष हा ढकाल,(२०७३ः२०) ।

उनका विचारमा एउटा वर्ग वा समूहको जीवनजगत्का बारेको सामूहिक दृष्टि नै विश्वदृष्टि हो । यसको विकास कुनै समूह वा वर्गले सामाजिक ऐतिहासिक प्रक्रियामा गर्छ । कुनै वर्ग वा समूहले अन्य अर्को समूह वा वर्गसँग विभिन्न किसिमका सम्बन्ध बनाउँछन् र यही भाव र विचारको एउटा संरचना निर्माण गर्छन् । उनी के मान्दछन् भने कृतिहरु अन्तर्वैयक्तिक सम्बन्धका जटिल तन्त्र हुन् । यद्यपि व्यक्ति वा मान्छे नै कृतिको विषय हो अथवा हुन्छ तर नितान्त व्यक्ति एक्लो मात्र विषय होइन । वास्तवमा व्यक्ति एउटा सामूहिक चेतनको संरचना निर्माण गर्दछन् । भिन्न, पेसा, वर्ग, परिवार, क्षेत्रका समूहमध्ये प्रत्यकले एकअर्कोका चेतनामा प्रभाव पार्छन् र एउटा अनौठो जटिल तथा विश्रृङ्खल संरचनाको निर्माण गर्दछन् तर यसका विपरीत जब एकै प्रकारको सामाजिक समूहका व्यक्तिहरुको ठूलो संख्यामा अध्ययन गरिन्छ । तब ती बाट उत्पन्न मनोवैज्ञानिक तत्वले एक अर्कालाई काट्छन् र एउटा अधिक सुसम्बद्ध चेतनाको संरचना बाँकी रहन्छ वा विकसित हुन्छ । यसरी सामाजिक समूह नै अन्ततः रचनाको वास्तविक विषय हुन्छ । स्रष्टाका माध्यमबाट ऊ रचनासँग जोडिन्छढकाल,(२०७३ः२१) । अनि रचनाका तत्व र समग्र रचनाबीच जस्तो सम्बन्ध रहन्छ, कृति र सामूहिक वर्गबीच पनि त्यस्तै सम्बन्ध रहन्छ । यसका साथै प्रकृतिसँगको सङ्घर्षका सन्दर्भमा पनि त्यस्तो विचारको व्यवस्थाको विकास गर्छन् । यही विचार व्यवस्थाले नै विश्वदृष्टिको रुप प्राप्त गर्छ जसको निर्माता कुनै एक व्यक्ति हुँदैन, सिंगो वर्ग वा समुदाय हुन्छ । रचनामा यो धारणा र कल्पनाका माधयमबाट व्यक्त हुन्छ ।

दर्शन, कला र साहित्यमा यो भिन्न भिन्न रुपमा प्रकट हुन्छ तर मूलमा यसको रुप एउटै हुन्छ । यो विश्वदृष्टि एउटा निश्चित कालखण्डमा एउटा वर्गका विचार अनुभूति र व्यवहारको समग्रतामा प्रकट हुन्छ । विश्वदृष्टि सामाजिक वर्गको जीवनमा निहित हुन्छ तर त्यो दर्शन, कला र साहित्यमा व्यक्त हुन्छ । त्यसैले विश्वदृष्टिको खोजको आरम्भ कृतिबाट हुन्छ, वर्गको अध्ययनबाट हुँदैन । यसलाई उनी विचारधारा वा वर्ग चेतना भन्दैनन् । उनी विचारधारालाई छद्म चेतना भन्छन् । अनि वर्गलाई आर्थिक वर्गका रुपमा होइन, सामाजिक वर्गका रुपमा लिन्छन् । उनको समाजशास्त्रको लक्ष्य हो । कृतिको आन्तरिक एकतामा उनको विशवदृष्टिको खोज र त्यस विश्वदृष्टिसँग मूलभूत सामाजिक समूहको विश्वदृष्टिको सम्बन्धको विवेचना गोल्डमानको विचारमा कुनै वर्गको विश्वदृष्टिको संरचनासँग कृतिभित्र संरचित संसारको संरचनाको समानधर्मिता हुन्छ । यसलाई उनी संरचनाको समानधर्मिता पनि भन्दछन् । उनका विचारमा साहित्यको समाजशास्त्रीले यही समानधर्मिताको खोजी गर्छ उनी के भन्दछन् भने महान् रचनामा यो समानधर्मिता सबभन्दा बढी हुनछ । सामान्य अनुभवदेखि भिन्न विशुद्ध काल्पनिक परिकथामा पनि संरचनाका स्तरमा एउटा वर्गको जीवानुभवसँग समानधर्मिताको सम्बन्ध हुनसक्छ । यसको तात्पर्य के हो भने समाज वा वर्गको जीवनसँग रचनाको घनिष्ट सम्बन्ध हुन्छ ।

उनी लेखकको अभिप्रायलाई र त्यसैगरी लेखकमाथि परेको प्रभावलाई कृति मूल्याङ्कनकालागि त्यति महत्व दिदैनन् । त्यो माध्यम् सम्म हो वास्तवमा एकजना व्यक्तिको अनुभव यति सीमित र सङ्कुचित हुन्छ कि त्यसबाट सार्थक मानसिक संरचना विश्वदृष्टिको विकास हुँदैन । त्यसको रचना एउटा सामाजिक वर्गको लामो समयमा गर्न सक्छ र त्यसैले रचना यसको अध्ययन आवश्यक हुनछ । कहँी त्रासदीय दृष्टि, कहीँ विद्रोहीको चेतना, कहीँ घृणाको भाव किन पैदा हुन्छ र कसरी पैदा हुन्छ ? साहित्यको समाजशास्त्रीले यी प्रश्नको समाधान खोज्छ ढकाल,(२०७३ः२०) । यसरी उनले साहित्यिक कृति र इतिहासका बीच विश्वदृष्टिका स्तरमा संरचनात्मक सम्बन्धको खोज गरेका छन् । यहाँ गोल्डमानको विश्वदृष्टि सम्बन्धी यसै मान्यतालाई आधार बनाएर छापामारको कथासङ्ग्रहका विश्लेषण गरिएको छ ।

कथाको सामाजिक संरचनाको सन्दर्भ

छापामारको छोरो (२०६३) कथाहरुको सँगालो हो । माओवादी विद्रोहसँगै नेपालमा मडारिएको गृहयुद्ध र यसका परिणामलाई प्रस्तुत सङ्ग्रहका कथाहरुले उठाएका छन् । २०५२ सालको अन्त्यतिरबाट सुरु भएको माओवादी युद्धले हत्याहिंसा, अपहरण, अन्यौल, बन्दहड्ताल र यसबाट हुन पुगेको भौतिक सम्पत्तिको खति जस्ता अवस्थाबाट जनतामा अशान्ति उत्पन्न भएको थियो । प्रस्तुत कथासङ्ग्रहका कथाहरुले मानवीय मूल्यको स्थापना र शान्तिसुरक्षा शुभेच्छासहित द्वन्द्वकालका यिनै घटना प्रतिघटनालाई आफ्नो कृतिगत सन्दर्भ बनाएका छन् । युद्ध विभीषिकाबाट क्षतविक्षत भएका देशका विभिन्न स्थानहरु, विकासको पूर्वाधारबाट वञ्चित ग्रामीण क्षेत्र तथा त्यहाँको गरिबी, अशिक्षा, युद्धले निम्त्याएको डर, त्रास, हत्याहिंसाका शृङ्खला जबर्जस्ती अपहरण अनि विद्रोही र राज्यकै अमानवीय कार्यव्यवहारबाट त्रसित जनजीवनका यथार्थ घटनालाई सहज ढङ्गबाट उठाउँदै यस सङ्ग्रहका कथाहरुको कथानकको निर्माण गरिएको छ ।

घटनालाई सहज ढङ्गबाट अघि बढाइएकोले आदि मध्य र अन्त्यको क्रमिक शृङ्खलामा आबद्ध भएको देखिन्छ । सबै कथाहरुमा कथाकारको कल्पना मिसिएको भएपनि तिनको कथावस्तुगत, यथार्थपरक एवं सत्य जस्तो प्रतीत हुन्छ । यसमा स्वैरकल्पना र कल्पनाको प्रयोग भएको छ र ती कथाहरुमा पनि यथार्थको छनक पाइन्छ । कथावस्तुका घटनाहरु शृङ्खलित देखिन्छन् । यस सङ्ग्रहका कथाहरु लोककथानक, रैखिक ढाँचा मै आबद्ध देखिन्छ । युद्धमोर्चाका नाइकेहरुमा हराएको मानवीयता, युद्धबाट रित्तिदै गएको मानववस्ती, जबर्जस्ती अपहरणको त्रासले सिर्जित भयपूर्ण ग्रामीण मानसिकता, बालसेनाको प्रयोग र यसबाट हुन पुगेको बालअधिकारको हनन््, मानिसहरुले मानिसहरुलाई गर्ने पशुवत व्यहार, हत्या हिंसाले नचाहँदा नचाहँदै विधुर, विधुवा र टुहुरा बन्नुपर्ने नेपालीहरुको कारुणिक व्यथा, माओवादी विद्रोही भित्रका कर्तुतहरु, सुरक्षा सेनाहरुको अप्रभावकारी सुरक्षासंयन्त्र, विस्थापित जीवन बिताउन बाध्य व्यक्तिहरुको मर्मस्पर्शी चीत्कारजस्ता घटनाहरुको वरिपरि रहेर यस सङ्ग्रहका कथाहरुको कथानकको निर्माण गरिएको छ र मानवमनोविज्ञानलाई पनि त्यसमा मिसाइएको छ ।

छापामारको कथासङ्ग्रहमा अभिव्यक्त विश्वदृष्टि

विश्वदृष्टिकोण मापदण्ड मान्ने व्यक्ति लुसिँए गोल्डमान हुन् । लेखकको विचार र समाजको विचारबाट अंसत विचारको विकास हुने धारणा राख्दै उनले त्यसलाई विश्वदृष्टिको रुपमा परिभाषित गरेका छन् (घिमिरे,२०७६ः२०) । समाजका विभिन्न खालका व्यक्तिहरुको विचार, चाहना, इच्छा, आकांक्षा तथा भावनाको सामूहिक अभिव्यक्तिलाई नै विश्वदृष्टिको रुपमा व्याख्या गर्न सकिन्छ । समाजमा विद्यमान विविध पेशा तथा व्यवसायमा लागेका व्यक्तिहरुले आफ्नो पेशाप्रति वा समग्र समाज, समाजिक प्रचलन, देशको शासन व्यवस्था आदिको बारेमा राख्ने धारणा, सोच तथा मान्यता नै विश्वदृष्टि हो । साहित्यकारले समजप्रतिका मान्यता, विचार तथा इच्छा, आकाङ्क्षालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्ना कृतिमा अभिव्यक्ति दिएको हुन्छ । कलाकारको कल्पना र यथार्थको सङ्ग्रहबाट अभिव्यक्त भएको विश्वदृष्टिले समाजका साझा मान्यता राख्ने व्यक्तिहरुको भावनालाई प्रतिनिधित्व गर्दछ । कृतिमा व्यक्त विचारबाट समाजका मानिसको के चाहना वा इचछा छ ? उनीहरुको समाज, देश या विश्वबारे के धारणा राख्छन् ? परिवर्तन चाहन्छन् या यथास्थिति नै चाहन्छन् ? कस्तो खालको परिवर्तन चाहन्छन् ? आदि कुराहरु जान्न सकिन्छ । त्यसकारण विश्वदृष्टिलाई पनि साहित्य अध्ययनको आधार बनाइनुपर्दछ ।

कथाकार महेशविक्रम शाहको कथासङ्ग्रह छापामारको छोरो नेपालमा सशस्त्र द्वन्द्व चर्किरहेको समयमा रचना भएको हुनाले समग्र नेपालीको चाहना शान्ति स्थापना भएको स्पष्ट बुभ्न सकिन्छ । नेपालको शाासन व्यवस्थामा सुधार आओस् युद्धविराम भएर नेपाल र नेपालीले सुरक्षाको अनुभूति गर्न पाउन् भन्ने चाहना नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस कथासङ्ग्रहमा पाउन सकिन्छ । विश्वदृटिले निश्चित वर्ग या समुदायको प्रतिनिधित्व गर्दछ । विश्वदृष्टिमा कुनै जाति, वर्ग विशेष वा समूह विशेषको धारणा खोजिन्छ तर यस कथासङ्ग्रहमा हरेक जाति, वर्ग, समुदाय आदिको चाहना शान्ति स्थापना होस् भन्ने रहेको छ । उनीहरु बन्दुकको खेलबाट त्रसित छन् । यसकथासङ्ग्रको विश्लेषणबाट समग्र जातजाति, धनी, गरीब, ग्रामीण तथा सहरी जीवन व्यतित गर्ने महिला पुरुष सबैले शान्ति चाहिरहेको कुरा बुभ्न सकिन्छ ।

सहरको रेष्टुरेन्टमा गएर आधुनिक जमानाको रमाइलो लुट्ने शीला हुन् अर्थात् पात्रहरु हुन् या लोग्ने र छोराको प्रतिक्षा गरेर आँशु बगाउने जसमाया हुन् सबैको पीडा एउटै छ त्यो हो बन्दुक । बन्दुकको त्रासले उनीहरु विक्षिप्त छन् । त्यसकारण सबैको चाहना शान्ति हो भन्ने स्पष्ट थाहा पाउन सकिन्छ । वधशालामा बुद्ध, युद्धविराम, जिन्दावाद, मिसन इन नेपाल, सडकमा गान्धीहरु जस्ता कथाहरु विश्वदृष्टि झल्काउन राम्रो उदाहरण बन्ने कथाहरु हुन् । वधशालामा बुद्ध कथामा मुख्य वधिकमा अहिंसाको धारणा विकसित हुनु, र बुद्धत्व प्राप्तिको आलाप गुञ्जिनु यसको राम्रो उदाहरण हो । गाउँमा गतिहरु गुञ्जिँदैनन् कथामा म पात्रले देख्ने सपना अनि भत्केको ढोका र सपनाहरु कथामा जसमायाले देखेका सपना पनि आम नेपाली जनताले देख्ने गरेको निडर, निश्चित र निसिफक्री भएर म पनि सुसेली हाल्दै गाउँको धुलाम्य डगरमा धुलो उडाउँदै आफ्नो गाउँ गइरहेको हुनेछु (शाह,२०६३ : १७) ।

युद्धविराम जिन्दावाद कथामा एक छापामार र एक सिपाहीको रगत बगिसकेपछि यद्धविरामको घोषणा हुन्छ र ती दुई योद्धाहरुले आफ्ना हातहरु उठाएर एकसाथ युद्धविराम जिन्दावाद भन्दै गरेको गर्जनले पनि सत्तापक्ष र माओवादी पक्ष दुवैतिरका लडाकुले शान्ति चाहेको कुरा बुभ्न सकिन्छ । एक अर्काप्रतिको बदलाको भाव राख्ने र दाजुभाइको रगत बगाउन तयार रहने प्रवृत्तिप्रति नेपाली जनता असन्तुष्ट र दुःखी थिए भन्ने कुरा यस वाक्यले स्पष्ट पार्दछ । “अब एकअर्कालाई घृणाका आँखाले नहेर । आफ्ना आँखामा एक अर्काप्रति माया, अपनत्व र आदर तिमीहरु दुवैजना नेपाली हौ, यो देश नेपाल तिमीहरु दुवै जनाको साझा फुलबारी हो” (शाह, २०६३ : ३८) । नेपालको गलत शासन व्यवस्थाको विरुद्धमा नेपालको रुढि र खोक्रो समाजपछि तथा भ्रष्ट मान्छेहरुको विरुद्धमा हुने चेतनशील र परिवर्तनगामी नेपाली युवाहरुको दृष्टिकोणलाई सडकमा गान्धीहरु, सिपाही र सालिक कथामा व्यक्त गरिएको छ । नेपालको राजसंस्था ढाल्नमा लाखौँ नेपाली एकजुट भएर सडकमा आउनुले अधिकांश नेपाली जनताको चाहना राज्यसंस्थाको बहिर्गमन भएको बुभ्न सकिन्छ ।

विश्वदृष्टिको कोणमा केवल समाजका वर्ग तथा जाति विशेषको दृष्टिकोणको मात्र खोजी हुँदैन । त्यसको साथै समाजका व्यक्तहरुसँग उकाकार भएर आउने साहित्यकारको विचार, धारणा या दृष्टिकोणको पनि खोजी गरिन्छ । तत्कालीन मानिसहरुको निरीहपन, लाछीपनलाई देखेर उनीहरुमा विद्रोहको आगो बलोस, उनीहरु अन्यायको विरुद्धमा बोल्न सकून भन्ने धारणा कथाहरुमा रहेको पाइन्छ । त्यही कारण उनी एकादेशमा कथाका मौन र निरीह पात्रहरुलाई संज्ञा दिन्छन् “सडेको लासको दुर्गन्धबाट पराजित भएर भाग्ने त एकादेशका मान्छेहरु, थुक्क हुतिहारा पानीमरुवाहरु” (शाह,२०६३ : ४२) । यो विचार अन्य सचेत वर्गका नेपाली जनतामा पनि थपियो भन्ने कुरा सडकमा गान्धी र सिपाही र सालिक कथाबाट पनि थाहा पाउन सकिन्छ । किनकी यी दुई कथामा विद्रोहको आगो बलेको छ र जनताको विजय भएको छ । त्यसकारण सबै नेपालीमा नेपालको शासन व्यवसथाप्रति भएको असन्तुष्टिलाई पनि कथाकारले विश्वदृष्टिको रुपमा उतारेका छन् ।

देशमा जतिसुकै नेता परिवर्तन भए पनि कुर्सीवालाहरुको संख्यामा वृद्धि हुँदै गए पनि देशमा परिवर्तन नआउने स्थितिको अन्त्य होस् भन्ने समग्र नेपालीको चाहनालाई कुर्सीपर्व कथाले प्रतिनिधित्व गरेको छ । यस कथाले वर्तमान नेपाली नेताहरुको कुर्सीको खेल र उनीहरुप्रति नेपाली जनताको हेराइलाई समेत व्यङ्ग्य गरेको छ । छापामारको छारो कथामा छापामारको छोरो भविष्यको छापामार नबनोस् भन्ने प्रहरी अधिकृतको चाहना, किडी जियाले कर्नालीमा हाम फालीन् कथामा किडी जियाको गाउँमा बस्ने चाहना, उनले न्याय माग्न सरकारका मान्छे वा पत्रकारका अगाडि गरेको गुनासो, माओवादीसँग गरेको अनुरोध, सडकमा गान्धीहरु कथामा पुलिसका सिपाही र अधिकृतको आदेशले नेपाली जनताको विद्रोहलाई रोक्न नसकेको स्थिति, मिसन इन नेपाल कथामा यु. एन. को आगमन आदिले नेपालीहरुको चाहना युद्धविराम , शान्ति सुरक्षा र बन्दुकप्रतिको वितृष्णा थियो भन्ने कुरा थाहा पाउन सकिन्छ ।

बन्द ढोका र समय कथामा बन्दुक बोकेका मान्छेहरुलाई देखेपछि निनुका बा आमामा देखिएको मानसिक तनाव, मेरो कुकुर अझै भुकिरहेको थियो कथामा म पात्रको मानसिक पीडा भत्केको ढोका र सपनाहरु कथामा जसमायाको पर्खाइको पीडा, सडकमा गान्धीहरु कथामा ऊ पात्रमा हतियारप्रति देखिएको वितृष्णा, “उसले बाजेको बन्दुकमाथि जोडले घन प्रहार ग¥यो, बन्दुक छिनभरमै स–साना टुक्राहरुमा विभक्त भयो, बन्दुकका टुक्राहरुलाई उसले झ्यालबाट बाहिर हुत्यायो” शाह, २०३६ : १०४) । किडी जियाले कर्नालीमा हाम फालिन कथामा म पात्रसँग उनले गरेको प्रश्न “गाउँको क्या खबर छ भाउअ ? हामी कहिले घर जान पाउँला ? केही कुरा सुन्याका छौ कि (शाह, २०३६ : १०८)” आदिले नेपाली जनताको युद्धप्रतिको असन्तुष्टि शान्तिको चाहना, सुरक्षाको चाहना, आफ्नै गाउँघरमा बस्न पाउने चाहनालाई प्रतिनिधित्व गरेको छ ।

समग्रमा भन्नुपर्दा युद्धको विभीषिका, आफन्तको मृत्यु र अन्य कसैको पनि रगतको बगाइलाई कुनै पनि विवेकशील मानव जातिले सामान्य रुपमा लिन सक्दैन । जतिसुकैसंवेदनाहीन मान्छे पनि कसैको मृत्युमा हाँस्न सक्दैन त्यसकारण विद्रोही र सत्तापक्ष दुवैको बन्दुकको खेललाई गलत रुपमा हेरेका कथाकार शाहले शान्तिको कामना गरेका र तत्कालीन परिवेशको विरुद्धमा बोल्न नसकेका निरीह नेपाली जनताको भावलाई विश्वदृष्टिको रुपमा समेट्न सफल भएका छन् । लड्नैपरे आफ्नो देशको अस्तित्व र स्वाभिमान बचाउन लड्ने भिमसेन थापा, बलभद्र कुँवरजस्तो गरेर लड्नुपर्दछ । आफ्नै देशको दाजुभाइको हत्या गर्नु उपयुक्त हुन सक्दैन । सबैभन्दा ठूलो हतियार जनतम हो भन्ने नेपाली जनताको साथै विश्वकै जनताले बुझेको यथार्थलाई वा मान्यता र धारणालाई शाहले विश्वदृष्टिको मूलय प्रदान गरेका छन् । हिंसाले भन्दा एकताले छिटो परिवर्तन ल्याउन सक्ने विचारलाई, नेपालको रानैतिक शासन व्यवस्थाप्रतिको नेपालीहरुको वितृष्णालाई, नेपालमा राजसंस्था हटाएर लोकतन्त्र स्थापना गर्ने नेपालीहरुको उद्देश्यलाई कथाकार शाहले विश्वदृष्टिको रुपका कथामा व्यक्त गरेका छन् ।

निष्कर्ष

छापामारको छोरो कथाले एउटा पृथक् खालको समयको प्रतिनिधित्व गरेको छ । नेपालको पश्चिम तराईको एउटा गाउँलाई परिवेश बनाइएको भए पनि यसभित्र ग्रामीण संस्कृति भन्दा पनि द्वन्द्वकालीन समयमा प्रहरीले भोग्ने मानसिक परिस्थिति र द्वन्द्वरत पक्षले निर्माण गरेका जीवनशैलीको छनक बढी मात्रामा आएको छ । यस कथाका सर्जक स्वयं प्रहरी हाकिम हुन् । कथाभित्र समाख्यमतका रुपमा म पात्र भएर कथाकारको उपस्थिति देखिन्छ । विद्रोहमा उत्रेका माओवादी छापामारका कारण प्रहरी वृत्तमा कस्तो मनोदशा सिर्जित भएको थियो । उनीहरुले कसरी र कुन रुपमा विश्वदृष्टिको चित्रण गरेका थिए ? भन्ने कुरालाई देखाइएको छ । यहाँ अधीनस्थ समुदायका रुपमा रहेका माओवादी छापामारहरुका कारण शक्तिशाली समुदायको प्रतिनिधित्व गर्ने प्रहरीहरुले गरेका यथार्थलाई विश्वदृष्टि कोणबाट चित्रण गर्नु यो कथाको प्राप्ति हो ।

सन्दर्भसूची

आले, कुमार (२०६४असोज १५), “छापामारको छोरो लेख्ने प्रहरी”, कान्तिपुर ।
कार्की, प्रतिशोध (२०६४ जेठ १५), “छापामार युद्ध समाप्त भएपछि जन्मेको”, आवाज साप्ताहिक. पृ. ६ ।
घिमिरे, तुलसी (२०७६), “महेशविक्रम शाहका कथामा विश्वदृष्टि”, अप्रकाशित
दर्शनाचार्य शोधपत्र, मानविकी तथा सामाजिक शास्त्र संकाय, नेपाली केन्द्रीय विभाग
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।
ढकाल, बद्ररीप्रसाद (२०७३), “सिद्धान्त र समालोचना” रत्नसागर डिल्लीबजार काठमाडौँ
पाण्डेय, ताराकान्त (२०६८), “छापामारको छोरो कथाको समाजशास्त्रीय विश्लेषण
विश्वदृष्टिका परिप्रेक्षमा”, शब्दसंयोजन, (वर्ष ८ अङ्क १ ः पूर्णाङ्क ८, पृष्ठ ४६(४८
भट्टराई, अमृता (२०६६), “महेशविक्रम शाहको जीवनी, व्यत्तित्व र कृतित्वको अध्ययन”, अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली केन्द्रीय विभाग, त्रि. वि., कीर्तिपुर ।
भेटवाल, भागीरथा (२०७२),“हृदयचन्द्रसिंह प्रधानका उपन्यासमा सामाजिक यथार्थ”,
अप्रकाशित दर्शनाचार्य शोधप्रबन्ध, मानविकी तथा सामाजिक शास्त्र संकाय, नेपाली
केन्द्रीय विभाग, त्रि. वि., कीर्तिपुर ।
शाह, महेशवक्रिम (२०६३), छापामारको छोरो, ललितपुर ः साझा प्रकाशन ।