काठमाडौं । सरकारले निशुल्क वितरण गरिरहेको कोभिड–१९ विरुद्धको खोप वितरण प्रक्रियामा अनियममितता भएको पाइए छानबिनको दायरामा ल्याइने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा खोप विभागका प्रमुख डा. झलक गौतमले चिनजान, दबाबको भरमा खोपको मापदण्ड तोड्नेलाई छानबिनको दायरामा ल्याइने बताए । सरकारको मापदण्डबाहिर गएर खोपको ‘मिसयुज’ गर्नेविरुद्ध जिल्ला खोप समन्वय समिति र केन्द्र सरकारको सहकार्यमा तत्काल छानबिन प्रक्रिया अघि बढाइने डा. गौतमले बताए ।

पछिल्लो समय काठमाडौं महानगरपालिकामा खोप अपुग भएको भन्दै लक्षित समूहलाई खोप दिइनसक्दै खोप अभियान स्थगित गरिएको थियो । ६० देखि ६४ वर्षका नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने अभियानमा अनियमितता भएको र लक्षित समूहभन्दा बाहिरका व्यक्तिले खोप लिएको समाचारहरू बाहिर आएपछि सरकारले छानबिन गर्ने बताएको हो ।