प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते मन्त्रिपरिषद् विस्तार गरेपछि विपक्षी गठबन्धनका दलहरू कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जम्मा भए । त्यही दिन ओलीको निर्णयको विरोध गर्दै गठबन्धनका तर्फबाट वक्तव्य निकाल्ने तयारी थियो तर नेताहरू रोकिए ।

भोलिपल्ट सभामुख अग्नि सापकोटाले पूर्वप्रधानमन्त्रीहरूसँग पछिल्लो राजनीतिक उछलकुदबारे छलफल गरे । छलफलमा पूर्वप्रधानमन्त्रीहरूले ओलीको पछिल्लो शैलीविरुद्ध वक्तव्य निकाल्ने सहमति भयो । बाह्य हस्तक्षेप, विशेषगरी छिमेकी भारतको सहायतामा ओलीले सत्ता लम्ब्याइरहेको भनेर वक्तव्यमा उल्लेख गर्ने विषयमा पूर्वप्रधानमन्त्रीहरूबीच लामो बहस भएको थियो तर अन्त्यमा कसैको नाम उल्लेख नगरी हस्तक्षेप बढेको संकेत गर्ने निचोडमा उनीहरू पुगे ।

पूर्वप्रधानमन्त्रीहरू देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार निकालेको वक्तव्यमा मुलुकको संविधान, लोकतन्त्र, कानुनी राज्य एवम् मूल्यमान्यतामाथि निरंकुश हमला भइरहेको उल्लेख छ । नागरिकलाई सचेत हुन आह्वान गर्दै वक्तव्यको अन्तिममा उनीहरूले लेखेका छन्, ‘नेपालका बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ, नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सबैको ध्यानाकर्षण गर्न चाहन्छौं ।’

पूर्वप्रधानमन्त्रीहरूले बाह्य शक्ति खुलाएका छैनन् तर उनीहरूको संकेत भारततिरै बढ्ता केन्द्रित छ ।

कान्तिपुर दैनिक