नेपालमा प्राकृतिक विपत्तिको वितण्डा फेरि सुरु भएको छ । मानवीय अवस्थिति नै बिल्लीबाठ भएको छ । सम्पूर्ण मानव समुदाय नै त्रासदीपूर्ण अवस्थामा छ । मानवीय संवेदना नै खलबल गर्नेगरी आउने विपत्ति यति उग्र भएको छ कि यसको रोकथाम त्यति सहजै छैन । कोरोना महामारीको विकराल अवस्था कम नहुँदै थप अर्को संकट आइपरेको छ । नेपालका पहाडी जिल्लाहरुमा पछिल्ला केही दिन बाढी पहिरोको बितण्डा छ । यसबाट अधिकांश मानिस प्रभावित भएका छन् । कतिको घरबार गुमेको छ, कतिपय बेपत्ता छन् । यी कारुणिक दृश्यले हरेकलाई भावविहवल बनाएको छ ।

आँखैअघि घर भाँसिदा…

यतिबेला विशेषगरी सिन्धुपाल्चोक लगायतका जिल्लामा प्राकृतिक विपत्तिको वितण्डा छ । सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची नदीमा पानीको बहावले त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । नदी आसपासका सबै बस्तीहरु पूर्ण रुपमा डुबानमा छन् । त्यहाँका सर्वसाधारणहरु यतिबेला राहत र उद्धारका लागि छटपटिरहेको अवस्था छ । उनीहरु जोखिमपूर्ण ठाउँबाट सुरक्षित ठाउँमा स्थानान्तरण हुन खोजिरहेका छन् तर त्यसका लागि कतैबाट पनि व्यवस्थापन हुन सकेको छैन । सरकारले राहत र उद्धार कार्यमा ढिलासुस्ती गरेका कारण झनै अवस्था जटिल बन्दै गएको छ ।

मेलम्ची नदी आसपासबाट अत्यन्तै कारुणिक दृश्यहरु देखिने गरेका छन् । कतिपयका घर डुबानमा परेका छन् । कसैले आँखैअघि आफन्तहरु गुमाउनुपरेको छ । कसैका आफन्तहरु बेपत्ता भएका छन् । सबैको आँखामा विपत्तिको आँसु बर्सिरहेको छ । यसरी स्थानीयको सपना मेलम्चीको भेलले बगाइदिएको छ । बेपत्ता भएकाहरु, मृत्यु भएकाहरु र उठिबास लागेकाहरुका सपना अब उर्लिरहेको भेलमै सीमित भएका छन् । तथापि बाँचेकाहरुका नयाँ यात्रा र सपना सुरु होलान् तर मरेकाहरुका सपना भने यही तुँहिएका छन् । बेपत्ता भएकाहरुका सपना अन्योलमै देखिए किनभने उनीहरु कुन अवस्थामा फेला पर्छन मृत या जीवित । त्यो नै अन्योल छ ।

सरकारले उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने हो तर अहिलेसम्म पनि पहलकदमी हुन सकेको छैन । नागरिकको क्रन्दले सरकार आत्तिएको छैन ।

विपत्ति हाम्रै कारण उग्र हुन्छ

यस खालका प्राकृतिक विपत्तिहरु मानव समुदायका गतिविधिहरुले नै हुने गरेका छन् । मानव समुदाय आफ्नो अस्तित्व कायम राख्न प्रकृतिलाई फँडानी गर्छ । प्रकृतिको दोहन गर्छ । उसले नदी नालाहरुमा अनावश्यक ढुङ्गा, गिट्टी बालुवा उत्खनन गर्छ । त्यसको अलवा जोखिमपूर्ण ठाउँमा गगनचुम्बी महलहरु ठड्याउने काम पनि मानव समुदायबाटै भएको छ ।

सिन्धुपाल्चोकको हकमा पनि भएको यही हो । मेलम्ची नदी आसपासमा बनाइएका घरहरु यतिबेला डुबानमा परेका छन् । विगतमा पनि सो क्षेत्रमा अवस्था यस्तै हुन्थ्यो तर विगतबाट हामीले पाठ नसिक्दा यो घटना भएको हो । बाढी पहिरोको रेड जोनमा सिन्धुपाल्चोक सधैँ अघि छ ।

प्रे फर नेपाल

नेपालका अधिकांश ठाउँमा गएको बाढीका कारण सामाजिक सञ्जाल त्रसित छ । सञ्जालमा निकै कारुणिक दृश्यहरु देखिने गरेका छन् । विशेषगरी ‘प्रे फर नेपाल’ हयासट्याग सञ्जालमा व्यापक प्रयोग गर्न थालिएको छ । विपत्तिबाट छिट्टै मुक्ति पाउन नेपालका लागि प्रार्थना गरौं । जसमार्फत राहत तथा उद्धारका लागि केही हदसम्म सहज भएको छ ।