बिबिसी । भर्खरै सम्पन्न निर्वाचनको मतगणना नसकिँदै इरानको आगामी राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी हुने निश्चित भएको छ।

राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पारेका छन्। निर्वाचनमा अन्य कैयौँलाई उम्मेदवार हुन रोकिएको थियो। अहिले रइसी इरानका प्रधानन्यायाधीश हुन् र उनी अतिरूढिवादी विचार राख्छन्।

अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्धामा संलग्न थिए। इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ।

राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ। तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ।

इब्राहिम रइसी को हुन् ?

साठी वर्षीय धर्मगुरु रइसीले आफ्नो व्यावसायीक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गरेका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको दुई वर्षपछि सन् २०१९ मा उनी न्यायापालिका प्रमुख नियुक्त भएका थिए।

रइसीले भ्रष्टाचार नियन्त्रण र इरानको आर्थिक समस्या हल गर्ने आफू सबैभन्दा उपयुक्त पात्र भएको रूपमा प्रस्तुत गरेका थिए।

यद्यपि कैयौँ इरानीहरू र मानवाधिकारकर्मीहरूले सन् १९८० ताका राजनीतिक बन्दीहरूलाई दिइएको सामूहिक मृत्युदण्डमा उनको भूमिकाप्रति चिन्ता व्यक्त गरेका छन्।

इरानले कहिल्यै पनि सामूहिक मृत्युदण्ड दिइएको स्वीकारेको छैन र रइसीले पनि उनीमाथि लागेको आरोपबारे अहिले सफाइ दिएका छैनन्।

विश्वका लागि रइसीको विजयको अर्थ के ?

बीबीसी पर्सियनका कास्रा नाजीका अनुसार रइसीको नेतृत्वमा इरानमा कट्टरपन्थी एउटा शुद्धतावादी इस्लामिक सरकार गठन गर्ने कोसिस हुनेछ।

त्यसको अर्थ भनेको सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रण हो।

कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन्। तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै इरान अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनुपर्ने पक्षमा रहेको ठानिन्छ।

सन् २०१५ मा हस्ताक्षर भएको उक्त सम्झौताले इरानलाई उसका परमाणु गतिविधिलाई सीमित गर्ने सर्तमा पश्चिमा प्रतिबन्धहरूबाट राहत दिएको थियो। तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिका पछि हट्ने निर्णय गरे। उनले इरानमाथि पुनः व्यापार प्रतिबन्धहरू लगाए।

पश्चिमी प्रतिबन्धले सामान्य इरानीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ।

उक्त सम्झौताअनुसार प्रतिबन्धित गरिएको आणविक कार्यलाई इरानले पुनः सुरु गरेको छ।
भियानामा जारी वार्ता उक्त सम्झौतालाई पुनर्जीवित पार्ने कोसिसमा रहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडन पनि यसलाई पुनस् सुरु गर्ने पक्षमा छन्।

तर दुवै पक्षले अर्को पक्षले पहिलो कदम चाल्नुपर्ने बताइरहेका छन्।