म पर सर्दिन
हो म पर सर्दिन,
मेरो योनीले हरेक मास युद्ध लढ्छ,
केही खुन बगाउछ अनि सृष्टि रच्ने यात्रामा बरु अघि बढ्छ
मलाई पुर्ण नारी बनाउछ
मलाई आफै संग लड्ने साहस दिलाउछ
मलाई सहनसिलताको पाठ पढाउछ
ती बगेका रगतले मलाई आमा बन्न सघाउछ
त कसरी पर सरे म ?
नबिर्सिनुस् हजुर त्यही रगतले सृष्टि चलाउने तागत रख्दछ।

म नछुनी हुन्न,
हो म नछुनी हुन्न
ती रगतका धाराहरुले मलाई बिटुलो बनाउन्न
यदी, बनाउने थियो त त्यही रगत जमेर जन्मिएका तिमी हामी सबै बिटुला हुने थियौ
पन्चमी पुजामा मेरो रजस्वला दोष मेटाउने दाबी गर्ने पन्डित बिटुला हुने थिए
मेरी आमाको डिंबसंग मिसिएको मेरो बाबाको बिर्य पनि बिटुलो हुने थियो
अनि त्यही मिश्रणबाट जन्मिएको मेरो भाइ पनि बिटुलो हुने थियो
हजुर मेरो रगतले त जिवनको सृजना गर्दछ
र यदी सर्जक बिटुला हुने भए, यो संसारको सृजना गर्ने देउता पनि बिटुला हुने थिए।

ती चार दिन, मन्दिर नपस्ने चलन म मान्दिन
म मान्दिन, मैले बगाएको रातो रगतले मलाई रातो टिकी लगाउन दिन्न भन्ने कुरा
म मान्दिन, बस्नु पर्ने भिन्न भन्ने कुरा
अनि म मान्दिन, मलाई चोख्याउने कुरा
महिनाभरी म जति चोखो छु महिनाबारीमा पनि म उत्तिकै चोखो रहन्छु
बरु चोख्याउ तिम्रा मान्यताहरु
चोख्याउ तिम्रा चलनहरु
कि देउ मलाई सटिक कारण तिमी
रगतको बली चल्ने मन्दिरमा, रगत बगाउने म किन चल्दिन ?
हजुर रगत त उहीँ होइन
त किन देबीलाई चढाउदा शुद्ध अनि देबीले बगाउँदा उ अशुद्ध ?