काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष मनसुन बुलेटिन-५ जारी गर्दै साउन २ गतेदेखि ४ गतेसम्म व्यापक वर्षा हुने सम्भावना देखिएकाले विशेष सतर्कता अपनाउन सबैलाई सुझाव दिएको छ ।

हाल देशभर मनसुन सक्रिय रहेको र साउन २ गतेदेखि ४ गतेसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराईनजिकै आउने तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि प्रशस्त मात्रामा भित्रिने भएको विभागले जानकारी दिएको हो । त्यसो हुँदा देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा तथा कतिपय ठाउँमा धेरै भारीसम्म वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

‘सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागद्वारा जारी बुलेटिनमा भनिएको छ ।

यस अवधिमा देशका पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।

बुलेटिनमा भनिएको छ, ‘मौसम पूर्वानुमान महाशाखाले मनसुन निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ ।’