एजेन्सी । अमेरिकालाई चुनौती दिने उद्देश्यका साथ रुसले सुखोई चेकमेट नामक घातक फाइटर जेट सार्वजनिक गरेको छ ।

पाँचौं पुस्ताको यस विमानले आकाशमा अमेरिकाको अत्याधुनिक एफ–३५ विमानलाई टक्कर दिनेछ । रुसका अनुसार, यो फाइटर जेट शत्रुको अत्याधुनिक राडारलाई झुक्याउन सक्षम छ र सुपरसोनिक गतिमा उड्न सक्छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एमएकेएस–२०२१ एयर शोमा यस विमानको अवलोकन गरेका छन् । विमानलाई रुसको चर्चित कम्पनी सुखोईले बनाएको हो ।

यसलाई लाइट ट्याक्टिकल विमान भनिएको छ । रुसले यसको निर्माण निकै द्रुत गतिमा गरेको छ । एउटा इन्जिन भएको सुखोई चेकमेट विमानभित्र हतियार लुकाउन मिल्छ र राडारमा आउँदैन । यस फाइटर जेटमा आर–७३ एन्टीएयर मिसाइल, आर–७७ एन्टीएयर मिसाइल र केएच–५९ एमके एनटी शिप क्रुज मिसाइल लगाइनेछ ।

यस विमानले आकाशमा आधिपत्य कायम गर्नका लागि र जमीनमा रहेको शत्रुको लक्ष्यलाई निशाना बनाउन सक्छ । त्यति मात्र नभई यसले मिसाइल आकारको ड्रोन पनि बोक्न सक्छ । यो विमान २.२ म्याक स्पीडमा ५४ हजार फीटको उचाइमा उड्न सक्छ ।

यसले अमेरिकाको एफ–३५ विमानलाई जोडदार टक्कर दिनेछ ।