काठमाडौं । सीमावर्ती भारतीय बजार रक्सौलबाट अवैध रूपमा चाँदीका गरगहना ल्याउँदै गरेका एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले आज वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–२ मेघरा घर भई चितवनको खैरनी नगरपालिका–२ मा श्रीया ज्वैलर्स सञ्चालन गर्दै आएका ४२ वर्षीय अंगत साह रहेको प्रहरीले जनाएको छ ।

साहले बोकेको कालो ब्यागमा चाँदीका ५ किलो ३३४ ग्राम को तयारी अवस्थाको विभिन्न गरगहना बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

चाँदी गरगहनासहित साहलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।