काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार खर्च गैरकानुनी हुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले अघिल्लो केपी ओली नेतृत्वको सरकारले गरेको उक्त निर्णयको भागिदार वर्तमान सरकार हुन नहुने समेत बताए ।

मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवाले फोनमार्फत वरिष्ठ नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने बताएको भन्ने समाचारहरु बाहिरिएको थियो । यसैक्रममा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले पूर्व राष्ट्रपति, प्रधानमन्त्री लगायतको उपचार खर्च व्यहोर्ने कानून नभएको भन्दै त्यसबारे सचेत रहन आग्रह गरेका छन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यू अतः कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानूनी हो र अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उधृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ ।” उनले भनेका छन् ।

त्यस्तै आफू स्वास्थ्यमन्त्री भएको बेला नै जनस्वास्थ्य ऐनमा संशोधन गरी विदेशमा उपचार गर्नेहरुका लागि सरकारले खर्च नव्यहोर्ने नीति निर्माण गरिएको उनले बताए ।