काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेका छ्न् । ओलीले पठाएको स्पष्टीकरणको पत्र नेपाल पक्षका सांसदकहाँ पुगेको छ ।

ओलीले स्पष्टीकरण पत्रमा पार्टीबाट निष्काशन किन नगर्ने भनेर प्रश्न गरेका छन् । ओलीले विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य किन गरेको भनेर समेत सोधेका छ्न् ।

‘पार्टीका विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टिको निर्णय विरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो?’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

नेपाल पक्ष अनुपस्थित रहेको एमालेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही अनुसार पठाइएको पत्र नेपाल पक्षका सांसदले बुधबार प्राप्त गरेका हुन् ।