सायद यो आम दम्पतीको कथा हो । मात्रा कमवेशी अवश्य होला, तर हरेक दाम्पत्य केही विवाद–मिलाप,आलोचना–प्रशंसा,रोदन–हाँसोका श्रृङ्खलाबाट अघि बढीरहेको हुन्छ । आम पतिपत्नी जस्तै निःसन्देह हामी बीचमा पनि विवादको सिलसिला चलिरहन्थ्यो । प्रायः विषय हुन्थ्यो– ‘एउटा परिवारमा नारी र पुरुष मध्ये को बढी महत्वपूर्ण छ ? कसले बढी योगदान गर्छ ? अनि को बढी मर्कामा हुन्छ ? यो सवालमा व्यक्तिपिच्छे भोगाइ फरक भएकाले जवाफ पनि फरक फरक हुनसक्छ । हामी पतिपत्नीमा पनि यी विषयमा फरक मत थियो । त्यसैले हामी बीच विवाद चलिरहन्थ्यो ।

पत्नी भन्थिन्–‘पुरुषहरुले कहिल्यै महिलाका मर्का बुझ्दैनन् । एउटा घर चलाउनु एउटा देश चलाउनु भन्दा पनि कठिन हुन्छ । अजनपारिवारिक जीवनमा पनि पुरुषहरु महिला जस्तो इमान्दार हुँदैनन् । उनीहरु घरको चौखट नाध्नासाथ म कसैको पति हुँ भन्ने कुरा पूरै विर्सन्छन् तर नारीहरु जहाँ रहुन् आफू कसैको आमा, पत्नी वा छोरी भएको कहिल्यै भुल्दैनन् । नारीहरु पारिवारिक जीवनमा सदैव इमान्दार हुन्छन् ।’ म भन्थे–‘कुरा फेरि उस्तै हो । एउटा पुरुष पात्रको दुष्कर भोगाइ महिलाले पनि कहिल्यै बुझ्दैनन् । दुनियादारी निभाएर परिवारका लागि ओत बन्ने काम पनि कम दुरुह छैन ।’ ठिक बेठिक आफ्नै ठाउँमा थियो तर हामी आ–आफ्ना तर्कमा अडिग रहन्थ्यौं । त्यसैले विवादको निकास छँदै थिएन । कहिले काँही रायोको काँचो पात खाँदा नाकबाट धुवाँ निस्के झै रिसले मेरो टुप्पीबाट पत्पति धुवाँ आउँथ्यो र म साँढे पल्टेर डुक्रिन्थे ।

उनी झन् के कम ? आक्रोशित बघिनी भएर गर्जिन्थिन् । म भन्थें– ‘पारिवारिक जीवनमा इमान्दारी व्यक्तिको निजी स्वभाव हो ,लैङ्गिक चरित्र होइन । इमान्दार नारी पनि छन् ,पुरुष पनि छन् अनि सँगै वेइमान पुरुष पनि छन् र नारी पनि ।’ उनी भन्थिन्– ‘तिमी यो नभुल कि तिमीलाई जसले जन्म दिइन्,उनी एउटी ममतामयी महिला थिइन ।’ म पनि भन्थें– ‘तिमी पनि यो याद राख कि जसरी तिमी धरतीमा आयौ ,त्यसका पछि कुनै भद्र पुरुष पनि थियो ।‘ उनी नारीको महानताको पक्षमा अनेक तर्क गर्थिन भने म पनि जस्तालाई त्यस्तै ढिंडोलाई निस्तै भने झैं उस्तै तर्क पस्किन्थे ं। रुप,माया,आपसी सम्बन्धप्रतिको निष्ठा,इमानदारी, जिम्मेवारी, वैयक्तिक व्यवहार लगायतका विषयमा नारी र पुरुषको तुलना र कटु विमर्श हामी गरिरहन्थ्यौं । आफूलाई जिताउनं तर्क कुतर्क केही बाँकी राख्दैनथ्यौं । जित्नु दुबैलाई थियो, त्यसैले यी मुद्दाको स्वभाविक र निर्विवाद निकास छँदै थिएन ।

विवादबाट पार पाउन म उनलाई भनीरहन्थेंं–‘हामी दुई बीचको विवादको अन्त्य तब मात्र हुनेछ जब हामीले हाम्रो लैङ्गिक स्वरुप तथा भूमिका अदलबदल गर्नेछौं र हामीलाई एक अर्काका दुःख ज्ञात हुनेछ ।’ उनी मात्र के कम, ईटको जवाफ पत्थरले भने जस्तै उनी भनी हाल्थिन्– ‘अहिलेसम्म म तिमीलाई सनकी मात्र मान्थे,ं अब कुनै शंका रहेन कि तिमी पागल नै भएछौ ।’ म द्वन्दको स्थितिबाट सहज निकासको आशमा ठट्टामा अवतरित हुँदै भन्थें– ‘पागल हुने त्यत्रो महान सौभाग्य मलाइ कहाँ छ र ? दुनियाँमा पागल मात्र यस्तो भाग्यमानी हो, जसको इच्छामा कुनै छेकबार छैन । जिम्मेवारी बिनाको असिमति अधिकारको मालिक हो पागल ।’ हामी दुबैले बुझेका थियौं कि हामी बीच सहमती र साझा निष्कर्षको सम्भावना नै थिएन । न जित्न पाइन्थ्यो न हार्न नै सकिन्थ्यो । यस्तै लयमा जीवन चलिरहेको थियो । चाहेर पनि त हाम्रो जैविक प्राकृतिक स्वरुपको अदलाबदली हाम्रो बुँतामा थिएन ।

यस्तैमा एकदिन अनौठो घटना घट्यो । शिवरात्रीको दिन साथीहरु सँग मिलेर मैले गाँजा तानें । घरमा पुगेर फेरि पतिपत्नी मिलेर एकदुई गिलास घोट्टा पनि बजाइ दियौं । यति भएपछि नशाले पूरै गाँजी हाल्यो । मेरो मनले भन्यो ‘–मान्छे भनेको नारी र पुरुष दुबै हो । केवल पुरुष वा नारीमध्ये एउटा भएर मात्र सम्पूर्ण मानव जीवनलाई कसरी बुझिन्छ र ? मानव जगत बुझ्न नारी र पुरुष दुबैलाई अधोपान्त बुझ्नुपर्छ ।’ मेरो मन अझ अडाडि भन्दै थियो–‘देखाइ, सुनाइ पढाइभन्दा भोगाइको बुझाइ बलियो र वास्तविक हुन्छ ।’ यस्तै सोचमा मग्न भइरहँदा मैले त्यस दिन मैले अचानक श्रीमतीलाई प्रस्ताव गरें –‘बुझ्यौ सिलसिला, अब म नारी बन्छु, तिमी पुरुष बन । अनि हामीलाई स्वतः पत्ता हुन्छ कि नारी र पुरुष कसको जीवन कठिन रहेछ ।’

त्यो दिन आठौं आश्चर्य भो, अरुबेला मलाई खुस्कियो भनेर उल्याउने श्रीमती अप्रत्याशितरुपमा मेरो कुरामा सहमत भइन् र भनिन्– ‘ल तिम्रो प्रस्ताव मलाई मञ्जूर छ तर हाम्रो लैङ्गिक स्वरुप कसरी अदलबदल गर्ने ? आधुनिक विज्ञानले त यो काम गर्न सकेको छैन, हामी जाबोले के गर्न सकौंला ?’उनको कुरा सुन्ना साथ अचानक मेरो दिमागमा अचम्मको उपाय फु¥यो । मैले झट्ट भनी हालें –‘महादेवको तपस्या गरौं । विचारै नगरी जसलाई जे मागे पनि तत्क्षण बरदान दिने आराध्यदेव हुन् महादेव । अहिले नै हामी मिलेर उनको तपस्या थालौं ।’ लोग्नेमान्छे सँधै गलत हुन्छ भन्ने सिद्घान्तकी पक्का अनुयायी उनी मेरो त्यो कुरामा अनौठो गरी सहमत भइन् र भनिन् –‘हुन्छ, ल तपस्या गरौं ।’ सल्लाह मिलेपछि हामी दुबै पूजा कोठामा गयौं र देवाधिदेव महादेब अघि हात जोडेर ध्यानमा लिन भयौं ।

अबका दृश्य भने अनौठो छन् । हामी दुबै एउटा जङ्गलमा हुन्छौं । म एउटा चट्टान माथि एक पाउमा उभिन्छु । उनले पनि त्यसै गर्छिन् । अब हामी दुबै एकरटले पञ्चाक्षरी मन्त्र ‘ऊँ नमो शिवाय’ जप्न थाल्छौं । एक दुई गर्दै दिन महिना हुँदै वर्षौ वित्छ । हामौ शरीरमा जङ्गली मसिना काइलेउ र झारपातहरु उम्रन थाल्छन् । पुरै शरीर धमिराको देवल जस्तो बन्छ । वर्ष माथि वर्ष कति हो कति समय विताएपछि अराध्यदेव महादेव प्रकट हुनुहुन्छ र भन्नुहुन्छ–‘तिमीहरुको तपस्याबाट म खुशी भएँ । तिम्रो आराधना सफल भयो । अब वर माग तिमीहरु के चाहन्छौं ?’

म भन्छु–‘प्रभु मैले पुरुष भएर जन्म पाएँ र पुरुष मनलाई चिनें तर सम्पूर्ण मानव जीवन बुझ्न त नारी र पृुरुष दुवैलाई बुझ्नु पर्छ । अब म नारी भएर दुनियाँ बुझ्न चाहन्छु । मेरी पत्नी पुरुष भएर दुनियाँ बुझ्न चाहन्छिन् । प्रभु ! त्यसैले हाम्रो लैङ्गिक पहिचान अदलबदल गरिदिनु प¥यो ।’

महादेवले भन्नुहुन्छ –‘तिमीहरु किन त्यसो गर्न चाहन्छौं । अहिले जे छौं त्यही ठिक छ । प्रकृतिले कहिल्यै वेठिक गर्दैन । तिमीहरुको चाहना ठिक होइन । तैपनि म जान्न चाहन्छु कि तिमीहरुले आफ्नो लैङ्गिक स्वरुपमा अदलबदल गर्न खोज्नुको खास कारण के हो ?’
हे करुणा निदान ! हे देवाधिदेव महादेव ! हामी बीच सँधै विवाद भइ रहन्छ । झगडाले हामी दुबै वाक्क भयौं । पत्नी भन्छिन्– ‘पुरुषको जीवन धेरै सहज छ । नारीको तुलनामा धेरै कम बोझ हुन्छ उनीहरुको जीवनमा । व्यक्तिगत व्यवहारमा पुरुषहरु छली र वेइमान हुन्छन् ।’ म भन्छु–‘ तिम्रो कुरा एकतर्फी भयो । नारी मात्र कहाँ कम छन् र ? उनीहरु झने पुरुषलाई माथ गर्छन् । पुरुषको समस्या र बोझ उनीहरुले पनि कहिल्यै बुझ्दैनन् ।’ सँधै यही विषयमा लडाई भइरहन्छ । लैङ्गिक अदली बदली भएर नयाँ जीवन नभोगी हाम्रो झगडा नमिल्ने भो प्रभु ।’

महादेव भन्नुहुन्छ–‘झगडा कसको हुँदैन र ? पार्वती र मेरो पनि हुन्छ । लक्ष्मी र विष्णुको पनि हुन्छ । ढोकामा गणेश राखेर पर्वातीले उनीसँग मेरो समेत भेट निषेध गरिन् । त्यो झोंकमा मैले आफ्नो पुत्र गणेशको शिर काटिदिएँ । त्यसबेला उनले रिसाएर झण्डै ब्रह्माण्ड ध्वस्त गरि दिएकी थिइन् । हात्तीको मस्तक ल्याएर गणेश ब्युताइदिए पछि मात्र उनको रिस शान्त भयो ।’

हामी हात जोडेर एक खुट्टामा नै उभिरहेका हुन्छौं । महादेव अझ अगाडि भन्नुुहुन्छ–‘पार्वती संसारिक चराचरप्रति ज्यादा दया राख्छिन् । दण्ड दिएको उनलाई मन पर्दैन तर अपराधलाई दण्डित गरेन भने लोक कसरी चल्छ ? मलाई पति पाउन उनले कडा तपस्या नै गरिन् । तपस्या पनि एउटा जिद्दी नै हो । उनको मोहनी स्वरुपमा म पनि लोभिएको थिएँ । विन्द्राका कायमा भगवान विष्णु लोभिनु भो । अहल्या र इन्द्रको कथा तिमीहरुलाई थाहै छ । किनाराले नदीलाई फैलनबाट छेक्छ, बाँध्छ । वाढीमार्फत त्यही नदीले रिसाएर किनारालाई हिर्काउँछ, भत्काउँछ ,तर ती कहिल्यै एक अर्कासँग छुट्टिंदैनन् । पतिपत्नी झगडा सृष्टिको अविभाज्य अङ्ग हो । तिमीलाई अनुभवै होला, झगडा पछिको प्रेम झन् मधुर हुन्छ । यति नै कारणमा म तिमीहरुको लैङ्गिक पहिचान अदलबदल गरिदिन सक्दिनँ ।’
सिलसिलाले विनय भावमा भन्छिन्– ‘हे प्रभु ! हजूरबाट पनि हाम्रो चाहना पूरा भएन भने कसले गरिदेला ? के हाम्रो तप निष्फल भएको हो ?’

भगवान भन्नुहुन्छ– ‘कुरा तपको निष्फलताको होइन । तिमीहरु वरदानका हकदार छौं । जब म आएको छु भने तिमीहरुलाई वरदान नदिई जान्न तर हेर ! नारी पुरुष एक अर्काकालागि रहस्य रहँदा नै उनीहरु बीच आकर्षण र प्रेम कायम हुन्छ । यो सम्बन्धमा रहस्यका सवै पर्दा अनावृत्त हुनु उचित हुँदैन । यो जिद्दी छोड बरु अरु केही नयाँ बरदान माग ।’ हामी कर जोडी एक साथ भन्छौं–‘भगवान् हजूरका लागि असम्भव के छ र ?प्रभु ! दया गरिदिनु प¥यो ।’

महादेव भन्नुहुन्छ–‘मान्छेको जात स्वार्थ पूर्तिकालागि जिद्दी हुन्छ भन्ने त मलाई थाह थियो तर दुःख वरणकालागि पनि मान्छेको जात यति जिद्दी हुन्छ भन्ने बुझेको थिइनँ । यो वरदानबाट तिमीहरुले धेरै दुःख पाउनेछौं । फेरि सोच एकपटक । त्यसपछि पनि तिमीहरुको त्यही इच्छा रह्यो भने म अवश्य नै तिमीहरुको त्यो मनोरथ पूरा गर्ने छु ।’ म भन्छु–‘प्रभु सोच विचार गरेर नै हामीले यो वर मागेका हौं । इच्छित वर प्रदान होस् । यस वापत् पाएको दुःख वेहोर्न हामी तयार छौं ।’

भगवान शिवले भन्नुहुन्छ –‘प्रकृतिको नियम बदल्ने अधिकार मलाई पनि छैन । नियम बनाउनेले सबभन्दा बढी नियम पालना गर्नुपर्छ । हामी त्रिदेवले नै नियम विपरित काम गर्न थाल्यौं भने सृष्टि कसरी चल्छ ? हामी हेदैछौं सृष्टिमा मान्छे मात्र एउटा यस्तो प्राणी हा,े जो आफैंले बनाएको नियम आफैं मान्दैन तर हामीले त्यसो गर्न हुँदैन । सक्नु छुट्टै कुरा हो, तर स्त्रीलाई पुरुष र पुरुषलाई स्त्री बनाउने काम हामीले गर्नु हुँदैन । अर्धनारीश्वर स्वरुप पनि त्रिलोकमा कसैलाई दिन मिल्दैन किनभने भगवानका कुनै पनि अवतार र स्वरुपहरु दोहांिरदैनन् ।’

हामी दुबै एकसाथ अलाप गर्न थाल्छौं–‘प्रभु ! हामीलाई त्यही बरदान चाहिन्छ ।’ महादेव भन्नुहुन्छ– ठिक छ तर अलिकति फरक पारेर म तिमीहरुलाई वरदान दिंदैछु । यो वरदान पछि तिमीहरु दुबैको शरीर एकापसमा जोडिनेछ । दुबैले एकअर्काले व्यहोरेको पीडा र आनन्द परस्परमा अनुभूत गर्नेछौ । दुइटैले एक अर्काको दिमागमा के चल्दैछ ,त्यो समेत थाह पाउनेछौ । कुनै कुरा पनि एकअर्को बीचमा छुप्ने छोपिने छैन । भन मञ्जूर छौ ?’

हामीले मनमनै सोच्छौं– शरीर यथावत् रहे पनि सँगै भएपछि हामीलाई एकअर्काको हर्ष, विस्मात् सबै थाह भइहाल्छ । सबै मानस अनुभूति समेत अवगत हुने भएपछि एकअर्काको मर्का थाह नपाउने कुरै भएन । अनि दुबैले एकसाथ भन्छौं –‘जो निगाह प्रभु । यो वरदान हामीलाई मञ्जूर छ ।’

महादेवले हामी दुबैलाई आफ्नो दाहिने हातले त्रिशुल छुन लगाएर तथास्तु भन्नुहुन्छ । उता त्रिशुलबाट एउटा अनौठो ज्योति प्रकट भएर हामीलाई छोप्छ र तुरन्तै हामी दुबै एउटै शरीरमा प्रकट हुन्छौं । मेरा दुईहात र खुट्टा मतिर रहन्छन् भने उनका दुईहात र खुट्टा उनैतिर रहन्छन् । शरीरको एकपटो अधोपान्त हामी जोडिन्छौं । आआफ्ना शरीरका अङ्गहरु यथावत् रहन्छन् । अब हामी चारहात चारखुट्टाको नूतन जीव बन्न पुग्छौं । शरीर जोडिए पछि दुबै जहाँ गए पनि सँगै हुने नै भो ।

शिवले वरदान दिइसक्नासाथ देवी पार्वती अगाडि देखा पर्नुहुन्छ । वहाँको मोहक रुप देखेर मेरो मनले भन्छ –‘अहा कस्ती दिव्य सुन्दरी ! यस्ता धुस्रे फुस्रे बूढाकी पत्नी चाँहि यस्ती सुन्दरी ? यस्ती पत्नी त मेरी पो हुनुपथ्र्यो । छि ! आफ्नी चाँहि सुर्पणाखाको नयाँ अवतार । थुइक्क फुटेको भाग्य ।’ मैले यति सोचको मात्र के हुन्छु,तुरन्तै सिलसिलाले थाह पाइ हाल्छिन् र कडा आवाजमा भन्छिन्–‘पत्नीप्रति तिमी कति इमान्दार रहेछौ ,चाल पाएँ मैले । देवी पार्वतीप्रति त्यस्तो वासनामय निकृष्ट सोच राख्ने तिमी ? अनि म चाँहि सुर्पणाखाको नयाँ अवतार ? ’ उनको कुराले म निगुरमुन्टी हुन्छु ।

अगाडि मनमनै सोच्छु –ओहो ! अब भने साँच्चै बर्वाद हुने भो । पहिले पहिले पत्नीलाई छक्याएर सुनितासँग कति भेटिन्थ्यो । कस्तो मस्ती हुन्थ्यो ती भेटघाटमा । अब कसरी भेट्ने ? भेट्नु त परै जावस् अब सोच्न पनि नहुने भो । एकातिर जहाँ गए पनि पत्नी सँगै हुने भई । जे सोच्यो, कलमुखाले थाह पाइहाल्छे । उनले सबै थाह पाउँछिन् भन्ने जान्दाजान्दै पनि चिने जति सबै प्रमदाको मोहक काय र तीप्रतिको दैहिक चाहका भावनाहरु दिमागमा आउनबाट रोक्नै सक्दिन । त्यतिखेरै शिवपुत्र कार्तिकेय आइपुग्छन् । अब पत्नीजीको दिमाग सक्रिय हुनथाल्छ । उनी मनमा भन्न थाल्छिन् –‘हेर कस्तो दिव्य पुरुष ! लोग्ने त यस्तो पो हुनुपर्छ । छि,आफ्नो लोग्ने त कायमा अष्टवक्र, रिसमा दुर्वासा, धनमा सुदामा । थुइक्क फुटेको कर्म ।’

मैले पनि मौका पाइहाल्छु र भन्छु– ‘तिमी पनि पतिप्रति कति इमान्दार छौ भन्ने पनि थाह लाग्यो । ए, म चाँहि अष्टबक्र ?’ म जस्तै उनी पनि लाजले निगुरमुन्टी हुन्छिन् तर उनको दैहिक लालशामा भएको दिमागी सक्रियता बन्द हुँदैन । उनी मनमा भन्दै हुन्छिन् –‘धत् उमेशको कुरा पनि चाह पाउने भो यसले । ऊसँगका भेटघाट कति रमाइलो हुन्थ्यो । अब मानवसँगै भएपछि कसरी उसलाई भेट्न सकिन्छ र ? यो बरदानले त बरवाद पार्ने भो ।’

हठात् भगवान शिवका परिवार अन्तरध्यान हुन्छन् । अनि हामी दुबै खुशीले मख्ख हुँदै सहर डुल्न निस्कन्छौं । सहरमा के निस्केका हुन्छौं, सबै मानिस हामीतिर रमिता हेर्न थाल्छन् । एउटा अजीव संरचना । एउटै शरीरमा एकातिर नारी र अर्कोतिर पुरुष । लोकबाट हामीले नयाँ नाम पाउँछौं –नापु अवतार याने नारीपुरुष अवतार । मान पाइएला भनेर मख्ख हुँदै निस्केका हामी उपहासले घेरिन्छौं । हामी हिंडिरहेको बाटोमा अगाडिबाट कलेज छुटेर सुन्दर बनिताहरुको हुल आउँछ । मैले आफूलाई रोक्नै सक्दिनँ । मनमनै हरेकलाई अनावृत्त गर्दै अन्तरङ्ग मायामा लिन हुनथाल्छु । तर दुर्भाग्य,सिलसिलाले तुरुन्तै त्यो चाल पाउँछिन् । अर्कोतिरबाट जिमखानाबाट युवाहरुको एउटा टोलि निस्कन्छ । अब सिलसिलाको मन भाँडिन्छ । उनी पनि हरेकसँग तन्मयका साथ मानस आलिङ्गन मस्त हुनथाल्छिन् ,जो मबाट लुक्दैन । यसपटक भने हामी दुबैले एक अर्कालाई हेर्छौं तर केही भन्दैनौं बरु आ–आफ्नो उपद्रो सम्झे पराजित मुस्कानमा मुस्काउँछौं ।

हामी एउटा मोटर साइकलमा हिंडेका हुन्छौं । अनौठो मान्दै ट्राफिकले बाटैमा रोकेर लाइसेन्स माग्छ । मैले आफ्नो लाइसेन्स झिकेर देखाउँछु । ट्राफिकले भन्छ– ‘यो त तपाईको भयो । वहाँको लाइसेन्स खोइ ?’ म भन्छु– ‘हामी त एकै हौं किन दुइटा लाइसेन्स ?’
उसले भन्छ –‘मलाई मूर्ख बनाउनु हुन्छ । दुई टाउका र दुई जिउको पनि एउटा मान्छे हुन्छ ? उहिले कथामा रावणका दश टाउका सुनेको थिएँ तर ती सबै एकैखालका पुरुष टाउका थिए । तपाईको त एउटा शिर पुरुषको र अर्को नारीको पो छ ।’
म तर्क गर्छु–‘महादेवको बरदान हो यो । भगवानको आविष्कारलाई पनि यस्तो दोष दिने ?’

उसले मलाई हप्काउँदै भन्छ –‘तपाइको हावा खुस्क्यो कि कसो ? कि तपाईं दिउसै नशा खाएर सवारी चलाउनु हुन्छ ? जे होस् अब तपाईं कार्वाहीमा पर्नु भो ।’ यति भनेर उसले मेरो बाइक नियन्त्रणमा लिन्छ र एउटा चिट काटेर थमाउँछ । अमिलो मन पार्दै हामी अघि बढ्न थाल्छौं । मोटोर साइकलको ऐनामा हेर्दै सिलसिलाले भन्छिन् –‘ म त पूरै विरुप भएँछु ,एकपटक एकैछिन व्युटी पार्लर पसौं न है ।’
हामी बाइक रोकेर लेडिज पार्लर पस्न खोज्छौं । बाहिरै गार्डले लाठो उजाउँदै भन्छ–‘लोग्ने मान्छे भएर लेडिज पार्लर पस्ने ?’
हामी त्यहाँबाट ठाडै खुट्टा भगाइन्छौं । रिसले दौडँदै केही पर पुगेर घटघटी एक–एक बोतल पानी खान्छौं । अब मलाई लघुशङ्काले सताउँछ । हामी शौचालय तर्फ लाग्छौं तर त्यहाँ उही समस्या आइलाग्छ– कुन शौचालयमा जाने ? नारीकोमा जाउँ म पुरुष सँगै छु । पुरुष तिर जाउँ उनी सँगै छिन् । अब सार्वजनिक शौचालयको प्रयोगको कुनै चारा हुँदैन र हामी फर्किन्छौं । अब जतिसक्दो छिटो घर फर्कनुको विकल्प रहँदैन ।

महादेवबाट प्राप्त बरदान पछि हाम्रो जीवन धारा नै बदलिन्छ । शरीर एउटै भएकोले उनक हरेक काममा म सँगै हुन अनिवार्य हुन्छ भने मेरा हरेक काममा उनले पनि पुग्नै पर्छ । यसरी एउटै काममा दुइजना खटिनु पर्ने पीडक नियतिबाट गुज्रिन्छौं हामी । पत्नीको रुपमा उनले घर परिवार र जागिरको दायित्व निर्वाहमा खेलेको कठिन भूमिका मलाई प्रत्यक्ष अनुभव हुन्छ । उनको व्यस्तता र कामको चाप बुझेर उनलाई भन्छु –‘सिलसिला,मभन्दा तिमी ज्यादा काम गर्दिरहिछौं । मलाई यो कुराको ज्ञानै थिएन । हाम्रो परिवारको मियो म होइन, तिमी रहिछौं । अब म कहिल्यै तिम्रो आलोचना गर्दिनँ ।’

निरन्तर मसँगै रहेपछि उनले पनि मेरो व्यवसायिक व्यस्तता, तनाव र झमेला सबै महशूश गर्छिन् । एउटा मायालु स्पर्श गर्दै उनले भन्छिन् –‘म तिमीलाई अल्छि र ठग भन्थें । असहयोगी र एकलकाँटे बुझ्थें तर तिम्रो कामको बोझ बल्ल थाह पाएँ । सम्बोधन, मेरोभन्दा तिम्रो काम नै कठिन रहेछ । म अब तिमी माथि कुनै आक्षेप गर्दिन ।’

समस्यै समस्याका बीच हामी जसोतसो वरदान धानीरहेका हुन्छौं । यसैबीच सहरमा हाम्रो स्वरुपबारे गम्भीर वहस हुनथाल्छ । मनिसहरुले हामीलाई पृथ्वीलोकको जीव हुन् भनेर मान्दैनन् । हाम्रो स्वरुप नै अपसकुन भएको घोषणा गरी हामीलाई पृथ्वीबाट धपाउँछन् । आफू जन्मेको हुर्केको स्थानबाट धपाइए पछि शिवकै बरदान मुताविक हामी अकाश मार्गबाट स्वर्ग पुग्छौं । स्वर्गमा भव्य मनोरञ्जन चलिरहेको हुन्छ । मधुर सङ्गीतमा मस्त नाचीरहेका दिव्य अप्सरा देखिन्छन् । म लोभिन्छु र मनैमनमा तिनलाई अनावृत गर्दै तिनको मोहक कायसँग खेल्न थाल्छु । मेरो चाला थाह पाएर अलि रिसाए झै गरी सिलसिलाले भन्छिन् –‘छ्या छ्या सम्बोधन । तिमी गए गुज्रेका रहेछौ । नृत्यकक्षमा छिर्नासाथ तिमी उर्वशीलाई टाँसियौ कि म लाजले निहुरिएँ ।

शायद दुनियाँका सबै लोग्नेमान्छे यस्तै हुन्छन् ।’ म केही बोल्दिनँ,बोल्ने ठाउँ नै हुँदैन । तर एकै छिनमा पासा पल्टिन्छ । अचानक नृत्यकक्षमा इन्द्रसहित सबै देवता प्रवेश र्गछन् । कामदेवलाई देख्नासाथ सिलसिला कायिक लालशाले वशीभूत हुन्छिन् । म मात्र के कम उनको अवस्था बुझेर तुरुन्तै उनलाई घोचपेच गर्छु –‘तिमी पनि सती सावित्री होइनौ सिलसिला । कामदेवसँग तिमी के के कल्पिंदैछौ मैले थाह पाएकोछु ।’ आखिर हामी दुबैको असलियत एकअर्काका सामु नाङ्गिन पुग्छ । यो सनातन मानव स्वभावमा सफाइ पो के दिनु ?

ठूलो आश लिएर पुगे पनि स्वर्गमा हाम्रो बसाइ अस्वीकार गर्दै इन्द्रले भन्छन्– तपाईंहरु न मानव न त देव नै । तपाईंहरुलाई कसरी स्वर्गमा राख्न सकिन्छ ? स्वर्गका राजा इन्द्रको नकारात्मक जवाफ पछि हामी आश्रयका लागि असुर लोक,नागलोक गर्दै एकबाट अर्को लोकमा भोतारिन्छौं तर कुनै लोकले हामीलाई आश्रय दिन स्वीकार गर्दैनन् । सबै लोबाट तिरस्कृत भएका हामी आजित भएर फेरि महादेव भेट्न शिवलोक पुग्छौं । हामीलाई देख्नसाथ महादेवले भन्नुहुन्छ– ‘तिमीहरुलाई मैले पहिले नै बताएको थिएँ । यो वरदानले तिमीहरुलाई दुःख मात्र हुनेछ । त्यतिबेला सोचेनौं । अब किन आयौ ?

हामीले दुबैले हात जोडेर भन्छौं– ‘करुण निदान, हे दयासागर ,हे महादेव ! हामीलाई यो वरदानबाट मुक्त गरिदिनोस् । यो फिर्ता लिइदिनोस् । हामी त घरका न घाटका भयौं । अब हामीलाई केही वरदान चाहिंदैन ।जे थियौं त्यही ठिक थियो ।’
‘किन फिर्ता लिनु प¥यो ? पहिले कारण त बताऊ ।’ महादेवबाट आदेश हुन्छ ।

म अघि सर्दै भन्छु ं– ‘प्रभु ! हजूरको वरदानमार्फत् हामीले एकअर्कोका समस्या त बुझ्यौं तर यसले हामी बीचमा अर्को संकट खडा गरिदियो । जति नै नजिकको सम्बन्ध भए पनि पतिपत्नी बिचमा पनि केही लुकाछिपी हुँदो रहेछ । केही ने केही नितान्त व्यक्तिगत र गोपनिय संसार हुँदोरहेछ । त्यस्ता कुरा अनावृत्त हुनुभन्दा एकअर्काबाट लुक्नु÷छोपिनु नै श्रेयकर हुँदो रहेछ । कुनै पनि मानिसले अर्को मानिसलाई सतप्रतिशत जान्नु असल हुँदो रहेनछ ।’

पार्वतीतिर हेरेर मुस्कुराउँदै महादेव भन्नुहुन्छ–‘मैले सतर्क गराएकै हो । तिमीहरुले मेरो कुरै बुझनौं । मित्र हुन् या बन्धु, या पतिपत्नी नै किन नहुन् , तिनका बीचमा त्यति कुरा मात्र उघारिनु पर्छ, जतिले सम्बन्धको माधुर्य र विश्वासमा पहिरो ल्याउँदैन । सम्बन्धको मिठास नष्ट गर्दैन । हरेक व्यक्तिले अर्को व्यक्तिसँग केही न केही लुकाइरहेकै हुन्छ र त्यो लुकी रहनै उचित हुन्छ । पतिपत्नी नै किन नहुन् नितान्त व्यक्तिगत विषयमा एकअर्का माथि हमेशा आँखा टिकाउनु र दिमाग लगाउनु कसैको हितमा हुँदैन ।’

सिलसिलाले क्लान्त भएर भन्छिन्–‘महादेब, हामीले त्यो सत्य बुझी सक्यौं । त्यति मात्र होइन, हामी अलग रहँदा एक समयमा दुइतिर काम गरिरहकेका हुन्थ्यौं तर अहिले हामीले एकपटकमा एकजनाको मात्र काम गर्न सकेको अवस्था छ । त्यो भन्दा पनि कष्टकर कुरा त के भयो भने हामीलाई कुनै लोकले आफ्नो सदस्य मानेन । हामी घर न घाटका भयौं । त्यति मात्र होइन, यो नापु अवतारबाट हामी यस्तरी उदाङ्गियौं कि एक अर्कालाई आफ्नो भनेर दावी गर्न पनि सर्माउने अवस्था आयो । ’

हाम्रो निवेदन सुनेपछि महादेवले त्रिशुलले फेदले हाम्रो शिरका स्पर्श गर्दै भन्नु भयो–‘तिमीहरुले कुरा बुझेछौ । म प्रसन्न छु । ल मैले वरदान फिर्ता लिएँ । तिमीहरुको एकअर्काप्रतिको विश्वास र प्रेम बलियो र अटुट रहोस् ।’
हामी दुबै खुशीले पुलकित हुन्छौं र जोडजोडले महादेव र माता पार्वतीको जयजयकार गर्न थाल्छौं । शिवगण पनि जयजयकारमा सामेल हुन्छन् । जयजयकारको आवाजले पूरै कैलाश क्षेत्र झङ्कृत हुनपुग्छ ।

अचानक म होशमा आउँछु । हेर्छु पूजाको कोठाको भूईमै लडिरहेको छु । तुरुन्तै थाह पाउँछु कि म आफैं अर्धहोशमा महादेवको जयजयकारमा कराइरहेको रहेछु । अर्को कुनामा सिलसिला लडिरेहेकी देखिन्छिन् । पानी छम्केर उनलाई ब्युँझाउँछु । बाहिरतिर ठूलो होहल्ला सुनिन्छ । यसो कान लगाएर सुन्छु–सम्बोधन जी,सम्बोधन जी भनेर छिमेकीहरु कराएको सुन्छु । ढोका खोलेर बाहिर निस्कन्छु । सबै छिमेकी त्यहाँ भेला भएका हुन्छन् । उनीहरुको कुरा सुनेपछि पो म तीन छक्क पर्छु । हामी पतिपत्नी दुईदिन अघि खाएको भाङको नशाले ४८ घण्टा वेहोश भएर लडेका रहेछौं । म आफूले देखेका दृश्यहरु दोहो¥याएर सम्झन्छु र एकएक गरेर पत्नीलाई बताउँछु । हामी दुबै अचम्मित हुन्छौं । मैले त्यो अवस्थामा जे देखें त्यो सपना थियो कि भाङको नशाबाट उत्पन्न भ्रम ? मैले निश्चय गर्न सक्दिनँ । परिस्थितिको आँक्कलनले हामी दुबैमा एउटा ठूलो भय पलाउँछ । कसिलो अँगलोमा बाँधिन्छौं । अश्रु सहित कसिलो अँगालो बाँधिएर एक अर्काको ढाड थपथपाउँछौ ।