राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा एक मात्र निर्वाचित सांसद राजेन्द्र लिङ्देनले महाधिवेशनमा आफ्नो ‘प्यानल’ बनाएका छन्। उनले अहिलेका तीन जनै अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाविरूद्ध उम्मेदवारी दिने घोषणा गरेका छन्।लिङ्देनले बिहीबार काठमाडौंको एल्लो प्यागोडा होटलबाट महाधिवेशनमा अध्यक्षसहित आफ्नो प्यानलको घोषणा गर्दैछन्। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणासँगको सहकार्यमा उनले आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन्।

राप्रपाले मंसिर १५,१६ र १७ गते महाधिवेशन आह्वान गर्ने निधो गरेको छ। त्यसमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणा र आफूबीच प्यानल बनाउने सहमति भइसकेको लिङ्देनले बताए।

‘हिजो हामीलाई बार्गेनिङ मात्रै गरेको कुरा बाहिर आयो, हामी भोलि संयुक्त रूपमा एल्लो प्यागोडा होटलबाट उम्मेद्वारी घोषणा गर्दैछौं,’ लिङ्देनले सेतोपाटीसँग भने, ‘यो उम्मेदवारी परिवर्तनका पक्षमा छ।’उनले आफू अध्यक्ष र राणा महामन्त्री उठ्ने छिनोफानो भइसकेको बताए।सेटोपाटी डटकमका लागि खिलानाथ ढकालको सामाग्री साभार गरिएको।