सर्वोच्च अदालतले निश्चित न्यायाधीशहरुको इजलासबाट टुंगिने भनी तय भएका मुद्दा समेत गोलाप्रथाबाट फेरि सुनुवाइ गर्ने निर्णय गरेको छ ।बिहीबार भएको सर्वोच्च अदालतको पूर्ण बैठकले हेर्दाहेर्दै र निर्णय सुनाउने भनी इजलास तय गरेको मुद्दासमेत फेरि गोलाप्रथाबाट इजलास तय गर्ने निर्णय गरेको हो ।

‘हामीले प्रधानन्यायाधीशज्यूले गरेका हरेक क्रियाकलापमा शंका छ भनेर यत्रो संघर्ष गर्नुपरेको छ । त्यसले गर्दा उहाँले तोकेको इजलासबाट टुंगिन लागेका मुद्दामा समेत शंका हुने भयो’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘त्यही भएर हेर्दाहेर्दमा राखिएका र निर्णय सुनाउने भनिएका मुद्दा समेत फेरि गोलाप्रथाबाट तय गर्ने टुंगो भएको छ ।’

अदालतमा विचाराधीन मुद्दामध्ये निरन्तर सुनुवाइ गरी न्यायनिरुपण गर्नका लागि मुद्दा हेर्दाहेर्दैमा राखिन्छ । हेर्दाहेर्दैमा राखिएको मुद्दा त्यही न्यायाधीशहरु नै सम्मिलित इजलासमा सुनुवाइ हुन्छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेशी तोक्दा सुनुवाइ भएका कतिपय मुद्दा हेर्दाहेर्दैमा छन् । ती मुद्दाको न्याय निरुपणमाथि शंका हुने भएकाले फेरि गोलाप्रथाबाट इजलास चयन हुने ती न्यायाधीशले बताए ।अनलाइनखबर डटकमबाट साभार गरिएको।