काठमाडौं । पहिलो चरणको निर्वाचनमा कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिका लागि आइतवार दोस्रो चरणको निर्वाचन हुने भएको छ ।

शनिवार भएको मतदानमा संस्थापन पक्षका इन्द्र बानियाँले धेरै मत प्राप्त गरेपनि सभापतिका लागि आवश्यक ५१ प्रतिशत भोट नल्याएकाले पुनः मतदान हुन लागेको हो । शनिवारको मतदानमा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता बानियाँले ९ सय ९२ मत प्राप्त गरेका थिए ।

संस्थापन इतर रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ८ सय ७२ मत प्राप्त गरे । कृष्ण सिटौला पक्षबाट उम्मेदवारी दिएका भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए ।

२ हजार ८३ मत खसेकोमा कसैले स्पष्ट बहुमत ल्याउन नसकेको भन्दै निर्वाचन समितिले आइतवार मध्यान्हको लागि पुनः मतदानको समय तोकेको हो । अहिले मतदानको तयारी भइरहेको छ । शनिवार भएको निर्वाचनमा गण्डकी प्रदेशमा संस्थापन पक्ष इतरका शुक्रराज शर्मा विजयी भएका छन् ।

कर्णालीमा संस्थापन पक्षका ललितजंग शाही र सुदूरपश्चिममा बीरबहादुर बलायर विजयी भएका छन् । लुम्बिनी प्रदेशमा भने मतगणना जारी छ ।