तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा भएपछि आम जनतामा नयाँ उत्साह पलाएको थियो । अब देशमा एकै विचारधारा बोकेका कम्युनिष्टहरु एक भए, उनीहरुले देशमा कायापलट गर्छन भन्ने जनतालाई विश्वास थियो । सोही गठबन्धन चुनावी नारासहित जनतामाझ गयो । जनतालाई आश्वासनका पोका देखाएर चुनाव जित्यो र दुई तिहाइ बहुमत ल्यायो पनि । २०७४ सालको निर्वाचनले सो गठबन्धनले नेपाली जनताको अप्रिय जनादेश पाएको थियो । जनताले गठबन्धनलाई देशका लागि खट्न केन्द्रमा भारी मतसहित पठाए । सो गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनायो । जसको नेतृत्व तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । ५ वर्षका लागि स्थायी जनादेश दिएका जनतालाई देशमा अस्थिरताको खाड्ल पुरेर स्थिरताको खाड्ल खन्नुपर्ने थियो । त्यसैका लागि उनीहरु उत्साहित भए र नेकपा गठबन्धनलाई दुईतिहाइ बहुमत दिए । जसलाई सत्ताको भोकमरी लागेको नेतृत्वले बीचमै लथालिङ्ग बनाइदियो । नेकपाभित्रको आन्तरिक कलह जनतालाई सास्ती दिने ‘टर्निङ् प्वाइन्ट’का रुपमा स्थापित भइदियो ।

पार्टीभित्रको बखेडाका कारण जनताको सर्वोच्च संस्था क्षणभरमै मृत्युशैयामा पुग्यो । जसलाई केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतले मृत्युशैयामा पुर्याएका थिए । अहिले मृत्युशैयामा पुर्याएको संसदमा भत्ता पचाउनकै लागि उनीहरु हाजिर हुने गरेका छन् । यो आफैमा लाजमर्दो विषय हो । जनताको आवाज बोल्ने, समस्या बोल्ने र समाधानको अस्त्र खोज्ने संसदलाई बन्धक बनाइयो । जसबाट जनतालाई प्रत्यक्ष रुपमा बज्रपात पर्यो । यसले जनतालाई सडकमा ल्याउन बाध्य बनाइदियो । देशभरका जनता २ फरक कित्ताा विभाजित भए । एक समूह प्रतिनिधि सभा विघटनको पक्षमा देखिए भने अर्को पक्ष विघटन बदर हुनुपर्छ भन्ने पक्षमा देखिए । जसको प्रत्यक्ष असर जनताको दैनिकीमा पर्यो ।

पुष ५ पछिको नेतृत्व !

नेपाली राजनीतिमा २०७७ पुष ५ पछि थुप्रै राजनैतिक परिवर्तनहरु भएका छन् । आफ्नो व्यक्तित्व निर्माणका लागि उसले जनता रुवाउने काम मात्र गरेको छ । जनतालाई सास्ती मात्र दिएको छ । पुष ५ पछि नेपालमा जनतालाई विभिन्न राजनीतिक दलहरुले निराश बनाएका छन् । र एक सर्वस्वीकार्य तथ्य जनताले बुझेका छन् । अब नेतृत्वप्रति उनीहरुको दृष्टिकोण बिल्कुलै बद्लिएको छ । उनीहरु नेताहरुको लहलहैमा लाग्नुभन्दा पहिले हजारौंपटक सोच्न बाध्य हुनेछन् । जनतालाई भजाएर खान पल्केकाहरुको पहिलो गासमै ढुङ्गा लाग्ने छ । यसको अर्थ नेपाली जनता केही सचेत भइसकेका छन् ।

दुईदुईपटकको संसद विघटनले नेपाली राजनीति आक्रान्त बन्यो । दैनिक सहरका सडकहरुमा आन्दोलनको जमात हुन्थ्यो । कसको सभा, सम्मेलनमा धेरै भीड त्यसको प्रतिस्पर्धा हुन्थ्यो । जसले बढ्दै गरेको कोरोना संक्रमणलाई बढावा दियो । त्यसपछि यो विवाद सर्वोच्च अदालतसम्म पुग्यो । जसले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्नु भनेर परमादेश नै जारी गरिदियो । अब मुलुकको प्रधानमन्त्री देउवाको काँधमा थपियो । जुन पदका लागि उनी दौडधुप गरिरहेका थिए सोही पद पाउँदा उनमा खुसीको सीमा नै थिएन । जसको नियति आजसम्म पनि देशले भोगिरहेको छ ।

जनता चुस्ने जुकाहरुलाई के नेता मान्नु ?

कस्तो व्यक्तिलाई नेता मान्ने ? केके कुरा भयो भने कुनै व्यक्ति नेता हुन्छ ? भर्खरै जनता लेखाजोखा गर्दैछन् । जो बाटो देखाउन सक्छ, जो त्यो बाटोमा हिँड्न सक्छ, जसलाई त्यो बाटो थाहा छ त्यसलाई उनीहरु नेताका रुपमा स्वीकार गर्छन । आगामी निर्वाचनमा जनताले यो अस्त्र प्रयोग गर्नेछन् । जोसँग स्पष्ट भिजन र मिसन छ, जो स्पष्ट अडान र दृष्टिकोण दिन सक्छ जनताको नजरमा त्यो नेता हो । तर नेपालका नेताहरुका लागि यी विशेषताहरु दुर्लभ हुन् । केही नेताहरु अपवाद छन् जोसँग यी विशेषताहरु नभएका होइनन् । तर उनीहरु लुकाइएका छन् । उनीहरुलाई प्रस्फुटित हुन बन्देज गरिएको छ ।

नेतृत्वले फरकफरक तरिकाले जनता प्रयोग गरिरहेको छ । उसले देशको हितका लागि जनता प्रयोग गरेको कतैपनि भेटिदैन । उसले त केवल निजी स्वार्थ पूर्तिका लागि जनता प्रयोग गरेको हुन्छ । जुनसुकै बहानामा जनता प्रयोग गर्ने र आफूलाई सर्वेसर्वाको अलङ्कार भिडाउने उसको प्रवृत्ति हुन्छ । जुन प्रवृत्तिको खुलेरै भण्डाफोर गर्नुपर्ने हुन्छ । अब जनता नेतृत्वको यो हर्कतबाट आजित भइसकेका छन् । उनीहरु आफ्नो रगत र पसिना चुस्ने जुकाको रुपमा परिभाषित गर्छन् । यो यतिबेला चिया पसलदेखि ठूलाठूला सभा, सम्मेलनहरुमा उठेको टड्कारो प्रश्न हो । यसको जवाफ खोज्ने हिम्मत नेताले गर्लान् ? हेर्न बाँकी नै छ ।