नेपालीमा भाषामा ‘मिथिला माहात्म्य’ ग्रन्थ अनुवाद गरिएको छ । याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका सहप्राध्यापक धु्रव रायले ‘मिथिला माहात्म्य’ कृति नेपालीमा अनुवाद गरेका हुन् । महोत्तरीको मटिहानी नगरपालिकाले यसको प्रकाशन गरेको हो । प्राज्ञ महेश्वर राय, प्रा.डा. गोविन्द चौधरी, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।

अनुवादक रायका अनुसार यो ग्रन्थ द्वापरयुगीन अठार पुराणका रचयीता महर्षि वेदव्यासका पिता परासर ऋषि र उनका शिष्य महर्षि मैत्रेयकाबीच प्रश्नोत्तर शैलीमा भएको सम्वादात्मक ग्रन्थ ‘श्री वृहत् विष्णु पुराण’अन्तर्गत समाहित छ । यसमा मिथिला राज्यका संस्थापक ‘मिथि’ राजाको उत्पत्ति, जानकीको प्राकट्य, जनक उपाधिधारी मिथिला नरेशका कीर्ति गाथा र प्राचीन मिथिलाको सीमानाका बारेमा वर्णन गरिएको छ । मिथिलाधामका प्रसिद्ध सरोवर, कुण्ड, जानकीका सखीस्वरुपा कोशी, कमला, वीरजा, बागमती, नारायणीलगायत १५ नदीको चर्चा गरिएको छ । यसैगरी राजा जनकद्वारा स्थापित उनका आराध्यदेव कल्याणेश्वर, जलेश्वरजस्ता शिवालयहरूको पृष्ठभूमि पनि उल्लेख गरिएको छ । सीता स्वयंवर, सीताराम विवाह, सीता जयन्ती, कञ्चन वनजस्ता रमणीय स्थल र मिथिला परिक्रमा यात्राजस्ता सन्दर्भहरू कृतिमा छन् ।

मिथिलाका लोक संस्कृतिहरू र वास्तुकलाका पक्षलाई समेटिएको ‘मिथिला माहात्म्य’ पठनीय ग्रन्थ हो। २२ अध्यायमा विरचित यस उपपुराणमा ८३४ श्लोकहरू छन् । महत्वपूर्ण ग्रन्थ संस्कृत भाषामा रहेकाले संस्कृतका विद्वान् बाहेकलाई मिथिला र मैथिली संस्कृतिका बारेमा बुझ्न कठिन थियो ।
‘यसमा मैले मूल ग्रन्थका संस्कृतमा निबद्ध श्लोकहरूलाई यथावत् राखी श्लोकैपिच्छे नेपाली गद्यमा शब्दानुवाद गरेको छु’, अनुवादक रायले भने, ‘यसको अध्ययनबाट आम नेपाली जनमानसलाई मिथिलाको महिमा त ज्ञान हुने नै छ साथै अनेक भ्रमजन्य धारणाहरू पनि हट्ने छन् ।’

यो कृति प्रकाशित हुनु धर्मसंस्कृति र भाषा साहित्यका फाँटमा क्रियाशील सबैका लागि अत्यन्त हर्षको विषय रहेको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताए । ‘मिथिलाको संस्कृति र सभ्यतामाथि नेपालीले गर्व र स्वाभिमानको अनुभूति गर्छन् भने विश्वकै सनातनीहरूले यसबाट प्रेरणा र गौरव बोध गर्छन्’, उनले भने, ‘मिथिला सभ्यताको परम्परा अति प्राचीन छ । मैथिल नरेशहरू अद्वैत वेदान्तका प्रयोगधर्मी आदर्श पात्र रहेको तथ्य अध्येताहरूलाई छर्लङ्ग छ । तर, वर्तमान राष्ट्रिय शिक्षा प्रणालीमा यसलाई महत्व नदिँदा नयाँ पुस्ता यसबाट विमुख रहेका छन् ।’

राराव. क्याम्पस जनकपुरका नेपाली विभागका पूर्व विभागीय प्रमुख प्रा.डा. स्थिरप्रसाद पराजुलीले नेपाली भाषा र साहित्यको भण्डारमा गौरवपूर्ण कृति थपिएको बताए । ‘वृहद् विष्णुपुराण’ भवसागर पार गराउने नौका रहेको वाल्मीकी विद्यापीठ, काठमाडौंका प्रा.डा. ऋषिराम पौड्यालले उल्लेख गरे । पूर्वीय वाङ्मय अनन्त रत्ननिधिले परिपूर्र्ण रहेको र यो कृतिले नयाँ इट्टा थपेको उनले बताए ।

जगत्जननी जानकीको जन्मभूमि, राजर्षि जनकको राज्य एवं असङ्ख्य नदी, सरोवर र मठ मन्दिरहरूले सुशोभित मिथिलाधाम जगत् प्रसिद्ध रहिआएको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताए ।