नारायणहिटी दरबार संग्रहालयभित्र बिहीबारदेखि हुने भनिएको महायज्ञ रोकिएको छ । कोरोना संक्रमणको जोखिम भन्दै संस्कृति तथा पर्यटन मन्त्रालयका सचिवस्तरीय निर्णयले रोकिएको हो।

संग्रहालयस्थित पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले माघ २९ गतेसम्म ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’को तयारी गरेका थिए ।
नारायणहिटी संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले आयोजकलाई उपलब्ध गराएको पत्रमा ‘…..जिल्ला प्रशासन कार्यालयको माघ १४ को आदेशबमोजिम महायज्ञ तत्कालका लागि गराउनुहुन निर्णयार्थ अनुरोध छ,’ भनिएको छ ।

माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’ गरेको दिन हो । महायज्ञ उद्घाटनका लागि बिहीबार पूर्व राजा पनि संग्रहालय जाने कार्यक्रम तय थियो । उनी दरबार छाडेयता त्यहाँ गएका छैनन् ।

राजा वीरेन्द्रको निवास श्रीसद स्थित पूजाघर हालः सर्वसाधारणका लागि खुला गरिएको छैन । समितिको पुस १२ गतेको बैठकले महायज्ञ गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
मुलुकको अमनचयन, सु–व्यवस्था कायम राख्न साथै विभिन्न संकटबाट मुक्ति पाउन गरिने महायज्ञका लागि पूजाघर उपयुक्त स्थान हुने भन्दै आयोजकले उक्त स्थान रोजेका थिए । नारायणहिटीभित्र हालसम्म कुनै पनि महायज्ञ लगाइएको छैन ।

Image