सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ ।नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २२ साउन २०७५ देखि संसदमा छ । यसलाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गरेका छन् ।

प्रचण्डको निजी निवास खुमलटारमा भएको भेटमा नागरिकता विधेयकका बहसमा रहेका केही प्रावधानहरुबारे छलफल भएको स्रोतले बतायो ।नागरिकता विधेयकमा नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता विवाह लगत्तै दिने कि निश्चित अवधिपछि मात्रै दिने भन्ने विषयमा विवाद छ ।

प्रचण्डसँगको भेटमा अन्य विधेयकहरु पेश गर्ने, संसदमा भएका विधेयकहरुलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका कतिपय विधेयकरुपमा संशोधन गर्नुपर्ने भएकाले र सत्ता साझेदार दलहरुबीच सहमति आवश्यक भएकाले विधेयकका प्राविधिक विषयहरुमा प्रचण्डसँग छलफल गर्न गएको ती मन्त्रीले जानकारी दिए ।