काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आमसभा गर्ने भएको छ। आमनिर्वाचनको संघारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कात्तिक २५ गते काठमाडौंको वसन्तपुरमा आमसभा गर्ने भएको हो ।

निर्वाचन प्रचारप्रसारले मुलुक तातिएका बेला राप्रपाले कात्तिक २५ राजधानी काठमाडौंमा आमसभा गर्न लागेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका हुन् । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

आमसभामा काठमाडौं उपत्यकाभित्र रहेका प्रतिनिधि सभा र प्रदेश सभामा राप्रपाबाट उम्मेदवारी दिएकाहरूले पनि बोल्नेछन्।

राप्रपाले देशभर एक सय ४२ प्रतिनिधि सभा क्षेत्र र दुई सय ८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको छ।

अध्यक्ष लिङ्देनले देशका विभिन्न क्षेत्रमा भएका चुनावी सभालाई सम्बोधन गर्दै आएका छन्। राप्रपाले यसअघि गोरखा, नवलपुर, नवलपरासीलगायत ठाउँमा आमसभा गरिसकेको छ।